समस्या बुझ्न जनताको घरदैलोमा सांसद
धनगढी | फागुन १८, २०७९
धनगढी: आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो ।
सो क्रममा उहाँले जनताको समस्या बुझ्ने, उनीहरूको माग, मुद्दा सुन्ने कार्य गरिरहनु भएको छ । उहाँले दुई दिनसम्म भजनी र कैलारी गाउँपालिकाको केही गाउँमा पुगेर जनतासँग भलाकुसारी गर्नुभयो ।
सुगम जिल्लाको दुर्गम गाउँ मानिने कैलारी गाउँपालिका –७ को हौसलपुर र वडा ३ को मोहनपुर गाउँमा पनि पुगेर जनताको समस्या बुझ्ने कार्य गरेको चौधरीले बताउनुभयो । मोहना नदी पारी रहेको दुवै गाउँवासीले कटान र बाटोघाटोको समस्या भोग्दैआएका छन् ।
हौसलपुरमा शिक्षा र स्वास्थ्यको ठूलो समस्या रहेको उल्लेख गर्नुहुँदै सांसद चौधरीले त्यो गाउँमा एउटा बाल विकास कक्षा र गाउँघर क्लिनिकसम्म सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । २९ घरपरिवार रहेको हौसलपुर गाउँका सबै बालबालिकाको शिक्षा भारतमा निर्भर छ । आफ्नो देशमा शिक्षाआर्जन गर्न नपाएका हौसलपुरका सबै बालबालिका भारतका विद्यालयमा पढ्न बाध्य छन् ।
विद्यालय सञ्चालन गर्दा मापदण्ड नपुग्ने भएकाले बाल विकास कक्षासम्म सञ्चालन गर्न उचित हुने चौधरीले बताउनुभयो । ‘बाटोको समस्या र टाढा भएको कारणले ती गाउँका बालबालिका आफ्नो देशको विद्यालयमा पठनपाठन गर्न आउन सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘कम्तीमा एउटा बाल विकास कक्षा सञ्चालन गर्न आवश्यक देखियो ।’ बाल विकास कक्षा र गाउँघर क्लिनिक सञ्चालनका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।
यसैगरी, सांसद चौधरीले हौसलपुरवासीका लागि मोहना नदीमा निर्माण भइरहेको झोलुङ्गे पुल निर्माण कार्य तदारुकताका साथ अगाडि बढाउन ठेकेदारलाई निर्देशन दिनुभएको छ । ‘अबको एक महिनाभित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारले बताउनुभएको छ’ उहाँले भन्नुभयो ।
यस्तै, चौधरीले नदी कटान, विभिन्न अधुरा योजना, निर्माणाधीन आयोजनाको पनि अवलोकन गर्नु भएको छ । दुवै पालिकाका स्थानीयले नदीको कटान समस्या भोग्दै आएकाले कटान नियन्त्रणका लागि आफूले पहल गर्ने उहाँको भनाइ छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

