माछापुच्छ्रेमा भरुवा बन्दुकले ढुकुर हान्दा गाउँले फुपुको छातीमा लागेपछि ...
अदालतबाट घट्यो सजाय र जरिवाना
कास्की | जेठ २५, २०८०
कास्कीः बाजे लालबहादुरको १९ वर्ष अघि मृत्यु भइसकेको छ । उनै बाजेले प्रयोग गर्ने भरुवा बन्दुक लिएर माछापुच्छ्रे गाउँपालिका खैमराङका आइत सिं तामाङले खेतबारीमा बाली खान आउने बाँदर धपाउँदै आएका थिए ।
०७९ साल कात्तिक ५ गते बिहानै सोही बन्दुक बोकेर आइत गहुँबारीतिर लागे । गहुँ खान आएका ढुकुरको बथान देखेपछि उनले फायर खोले । तर उनले हानेको छर्रा लागेर बोडी टिप्न गएकी नातामा फुपु पर्ने छिमेकी मैरानी (बुद्धिमाया तामाङ)को दायाँ छातीमा लाग्यो ।
घटनापछि डराएका ३६ वर्षे आइतले बारीको कान्लामा बन्दुक लुकाएर घर लागे । छातीमा छर्रा लागेर चिच्याएपछि ६० वर्षीया मैरानीलाई गाउँलेले पोखराको फिस्टेल हस्पिटलमा उपचारार्थ ल्याए । प्रहरीकहाँ खबर आइपुगेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लुकाइराखेको हतियार र लुकिबसेका आइतलाई पोखरा ल्याए ।
प्रहरीसँगको सोधपुछमा दुईबीच कुनै रिसइबी नभएको र भवितव्यले घटना घटेको बताइयो । यस कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानअनुसार आइतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्न कानूनी माग गर्दै कास्की अदालतमा मुद्दा दायर गरियो ।
उक्त मुद्धाको फैसला ०७९ को पुसमा भएको छ । फैसला अनुसार आइतलाई १ वर्ष कैद र १० हजार रुपैयाँमात्र जरिवाना भयो । उल्लिखित कैदमध्ये अदालतले फैसला गर्दासम्म आइतले २ महिना १३ दिन भुक्तान गरिसकेका थिए ।
अदालती फैसलामा बाँकी कैदको ८६ हजार १ सय रुपैयाँ तिराई थुनामुक्त गर्नु भन्ने आदेश दिएपछि उनी छुटिसकेका छन् । उक्त भरुवा बन्दुक राख्न इजाजत नलिएकाले जफत गरिएको छ ।
अदालतबाट घट्यो सजाय र जरिवाना
आइतको अपराधमा सरकारी वकिलको कार्यालय कास्कीले मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा (१) अनुसार फैसला माग गरिएको थियो ।
उक्त उपदफाअनुसार आइतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ । जसमा ‘हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजातपत्र प्राप्त गरेको भएपनि शर्त बन्देज विपरित हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन’ भनिएको छ ।
यसो गरेमा उल्लेखित सजाय र जरिवाना हुनेसमेत उल्लेख भएपनि अदालतबाट भने आइतले कम सजाय र जरिवाना पाए । तर आइतले १ वर्ष कैदमध्ये बाँकी रहेको अवधि पनि जरिवाना तिरेर छुटेका हुन् ।
‘यस्तो कसरी हुन्छ ?’ सरकारी वकिलको कार्यालयको एक सह न्यायधिवक्ता भन्छन् ‘हामीले घटनाको प्रकृतिअनुसार ऐनको आधारमा कारवाही माग गरी अदालतमा पेश गर्छाै तर बहस र सवालजवाफकाक्रममा सजाय र जरिवाना तल माथि हुने गरेको छ ।’
यस मुद्दामा आइतले बिना इजाजत हतियार राखेको मात्र हैन फायरिङ् गर्दा छर्रा लागेर व्यक्ति घाइतेसमेत भएका छन् । अदालतमै पुगेको मुद्दामा पनि वादी र प्रतिवादीको मेलमिलापमा फैसला निर्भर रहेको हुनसक्ने उनको आंकलन छ ।
बाँके: जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...
काठमाडौं: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

