चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

तनहुँ | असार १, २०७९

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित


तनहुँ :     केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन ।

    

केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ । चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने एक बालिका र एक पुरुष घाइते भएका छन् । 

    

मङ्गलबार घरको आँगनमै खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर बन्दीपुर–१ का पाँच वर्षीय सुप्रिम रिलामीको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा दुई सय मिटरमाथि जङ्गलमा भेटिएको थियो । 

    

शनिबार बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणमा परेर आठ वर्षीया रियाना थापा र आइतबार बन्दीपुर–१ मा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते हुनुभएको थियो । चितुवाको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । घरछेउमै चितुवाको आक्रमण हुन थालेपछि घरबाहिर निस्कन पनि डर हुन लागेको बन्दीपुर–४ का सन्तोष थापाले बताउनुभयो । 

    

बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले चितुवाको त्रास न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायबाट अल्पाकालीन र दीर्घकालीन समाधान खोजिनुपर्ने बताउनुभयो ।

  

 चितुवाको आक्रमण बढेपछि चितुवा नियन्त्रणका लागि खोर राखिए पनि खोरमा चितुवा पर्न सकेको छैन । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर–१ बाघदलेमा आइतबार फलामे खोर राखिएको थियो । 

    

सहायक वन अधिकृत काशिराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ,” उहाँले भन्नुभयो, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।”

  

 मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको वनको भनाइ छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”     चितुवाको आक्रमणबाट पाँच वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् । 

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्