बोर्ड र व्यवसायीबीच ‘१० लाख’को टकराव, चेक थमाएर काशीराजले दिए राजीनामा

पाेखरा | असार १२, २०८०

बोर्ड र व्यवसायीबीच ‘१० लाख’को टकराव, चेक थमाएर काशीराजले दिए राजीनामा

पोखराः अंग्रेजी नयाँ वर्षमा आयोजना गरिएको २४ ओं स्ट्रिट फेस्टिभलको रकम ६ महिनासम्म नपाएपछि पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्ड, पोखराबीच चुलिएको तनाव हालै साम्य भएको छ । 

 

रेष्टुरेन्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले फेस्टिभल आयोजनार्थ १० लाख रुपैयाँ पर्यटन बोर्डबाट पाउँदै आएको छ । सोही अनुसार गत पुसमा भएको फेस्टिभलको रकम नपाएपछि जेठको अन्तिम साता पर्यटनसम्बद्ध संस्थाहरुले बोर्डका कर्मचारीको नियतमाथि प्रश्न उठाउँदै कारवाहीको मागसमेत गरेका थिए । 
 

 

संस्थाहरुले प्रेस विज्ञप्ती नै जारी गरेपछि बोर्डका प्रमुख काशीराज भण्डारी र प्रबन्धक नवीन पोखरेल र वरिष्ठ अधिकृत कुन्दन शर्माले विशेष बैठकबाट माइन्युटिङ् गरी उक्त रकम रेबान पोखरालाई दिएका छन् । 

 

बोर्डले कुनैपनि संस्थालाई रकम दिँदा कार्यविधि अनुसार लेखापालमार्फत गर्नुपर्ने हुन्छ । तर बोर्डको मुख्य कार्यालयले कार्यविधिमार्फत अल्झाउने गरेपछि व्यवसायीहरुको दबाब थेग्न नसक्दा तीन कर्मचारीले आफ्नै तजबीजमा रकम उपलब्ध गराउने निर्णय गरेका हुन् । 
 

कुनैपनि संस्थालाई प्रस्ताव र कार्यक्रमको रकम उपलब्ध गराउन लेखापालमार्फत चेक दिने व्यवस्था भएपनि हाल बोर्डको पोखरा कार्यालयमा लेखापाल छैनन् । कार्यालयमा लेखापालको व्यवस्था गरिदिन निरन्तर काठमाण्डौमा खबर गर्दापनि सुनुवाई नभएपछि पोखरामा कार्यरत कर्मचारी र व्यावसायिक संस्थाबीच आर्थिक कारोबार गर्न समस्या हुने गरेको छ । 

 

यसअघि प्रशासनका कर्मचारीले लेखापालको पनि काम गर्दै आएका थिए । नयाँ कार्यविधिअनुसार लेखापालबाटै लेनदेनको काम हुने उल्लेख भएपछि भुक्तानी रोकिएको बोर्डका कर्मचारी बताउँछन् । 
 

 

रेबानलाई भुक्तान गर्नुपर्ने रकमबारे केन्द्रमा जानकारी गराएको तर प्रशासक महाशाखा प्रमुख सन्तोष पन्तले विभिन्न बहाना बनाएपछि पोखरा प्रमुख भण्डारीले नियमविपरित निर्णय गर्न बाध्य भएको बुझिएको छ । 
पन्त चार्टर्ड एकाउन्टेन्ट हुन् । बोर्डको कुनैपनि भुक्तानी पन्त वा उनले अख्तियारी दिएको व्यक्तिबाट मात्रै हुने नियम रहेको छ । 
 

 

रेबानलाई रकम भुक्तान गरेपछि प्रमुख भण्डारीले असार १ गते राजीनामा दिएका थिए । ३ गते उनको राजीनामा स्वीकृत भएको छ । पर्यटन व्यवसायीको एकोहोरो पेलानले आफ्नो मानमर्दन भएको र बोर्डले पनि समस्या सल्टाउन नखोजेको गुनासोपछि भण्डारीले राजीनामा दिएको पोखराका कार्यालयका एक कर्मचारीले जनाएका छन् । 
 

 

रेबानलाई रकम भुक्तान गर्नु अघि प्रमुख भण्डारीले विशेष बैठकको माइन्यूटमा ‘चालु आव ०७९/८० को बजेट तथा कार्यक्रम संचालनकालागि बैंक खाता संचालन गरे, गराएकोमा कुनै प्रश्न उठे त्यसका प्रतिरक्षा तथा जिम्मेवारी कार्यालय प्रमुखको हैसियतमा श्री काशीराज भण्डारीले समेत लिने निर्णय गरियो’ भनि दोष आफैले लिने उल्लेख गरेका छन् । 

 

बोर्डको आर्थिक तथा खरिद नियमावली, २०७२ अनुसार प्रमुख भण्डारीलाई बैंक खाता संचालनको अधिकार छैन । रेबानको नाममा चेक काटिदिन उनले पुरै जोखिम आफै उठाएका हुन् । 

 

जेठ २९ गते रेबानको नाममा चेक काटिदिएपछि असार १ मा भण्डारीले राजीनामा पेश गरेका थिए । 

 

यस विषयमा भण्डारीले ‘काम गरेपनि अपजस, नगरेपनि अपजस’ भनि प्रतिक्रिया दिएका छन् । ‘म रुल अफ ल मा चल्ने मान्छे हुँ, पर्यटन बोर्ड सिस्टममा चलेको छैन’ भण्डारीले भने ।

 

बोर्ड पोखरामा भण्डारीले २४ वर्ष बिताएका छन् । पोखराका पुराना पर्यटन व्यवसायीहरुले यहाँको पर्यटनमा भण्डारीको योगदान रहेको चर्चा गर्छन् । 

 

बोर्ड पोखराबाट १० लाख रुपैयाँको चेक प्राप्त भइसकेको रेबान पोखरा अध्यक्ष नरेश भट्टराइले बताए । ‘कहाँ, कताबाट र कसरी रोकियो हामीलाई सरोकार भएन’ भट्टराइले भने ‘६ महिनासम्म भुक्तान गर्न नसक्नुमा बोर्ड पोखराकै कमजोरी हो ।’
 

 

बाराम्बार ताकेता गर्दा पनि भुक्तान नभएपछि बाध्य भएर १७ संस्थामार्फत दबाब दिएको उनले जनाए । ‘पर्यटन प्रबद्र्धनमा सक्रिय छौं, राज्यको तलब खाने कर्मचारीले दुख दिँदा हामीले विभागीय कारवाही गर्न आवाज उठाएको हो’ भट्टराइले उल्लेख गरे ।

 

यद्यपि, प्रमुख भण्डारीले राजीनामा नै दिनुपरेको विषयमा भट्टराइले ‘व्यक्तिगत निर्णय’ भनेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्