कास्की: मुक्तिनाथ विकास बैंक लिमिटेड अमरसिंह शाखाले १६ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित रहेको शाखा कार्यालयमै आज (बुधबार) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसी तथा विशेष सेवाग्राहीहरु प्रकाश लामा, मोहन प्रसाद ढकाल, देवेनद्र कुमार गुरुङ र कमल बहादुर बाँनियाले सँयुक्त रुपमा केक काटेर वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरे । सो अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीले आगामी दिनमा सेवाग्राहीको मागलाई मध्यनजर गर्दै बैंकको सेवा तथा सुविधाहरु बिस्तार गर्ने योजना रहेको धारणा राखेका थिए । यस्तै सेवाग्राहीहरुले नागरिक तथा सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै सेवाहरु बढाउनुपर्ने आग्रह गरेका थिए । सो कार्यक्रममा सेवाग्राहीहरुसँग बैंकले आगामी दिनमा ल्याउनुपर्ने योजनाको बारेमासमेत अन्तरक्रिया गरिएको थियो । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखासँगै पोखरा महानगरपालिका ९ नागढुङ्गा शाखाले रक्तदान कार्यक्रमको आयोजना गर्दै १६ औं वार्षिकोत्सव मनाएको थियो । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने नारासहित बैंकिङ तथा वित्तिय क्षेत्रमा क्रियाशिल मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ । सो बैंकले पछिल्लो समय देशभरका १ सय ७८ वटा शाखाहरुबाट आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखा प्रमुख अशोक लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कर्जा प्रमुख नुर बहादुर गुरुङले गरेका थिए ।
काठमाडौंः पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल चेम्बर कमर्सले काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा भारतसँगको खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको हो । गृहमन्त्री लामिछानेसँगको भेटमा चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने, ‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबारहरु भइरहेका छन् । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौं रुपैयाँ राजश्व समेत गुमाइ रहेको छ ।’ ‘खुल्ला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फस्टाइ रहेको छ । यसबाट राजस्व प्रभावित हुन पुगेको र स्वच्छ व्यवसायीहरुले प्रतिस्पर्धा गर्न समेत नसकिरहेको परिस्थिति रहेकोले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनु पर्ने छ’ सुझावमा भनिएको छ । नेपाल(भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्नेमा जोड दिए । चेम्बर पदाधिकारीको भेटपछि गृहमन्त्री लामिछानेले सीमामा भइरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको बताए । नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाइ रहेको चेम्बरले जनाएको छ । चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने लगायत विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ ।
काठमाडौं: मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो । नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ । त्यस्तै, नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि १४.०९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८८ अङ्कले बढेको छ । कारोबारमा आएका २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । मङ्गलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढेको छ । मङ्गलबार तीन अर्ब ४५ करोडको शेयर खरिद बिक्री भएको थियो । नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ९.७४ प्रतिशत बढेको छ । त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । यता विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ । नेप्से परिसूचक बढेसँगै २४ भन्दा बढी कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कालिका लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ । कारोबार रकमका आधारमा बुधवार हिमालयन डिष्टिलरीले ११ करोड ५२ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री गरेको छ ।
काठमाडौं: सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ । गत बिहीबार ५६ अंक, आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा मंगलबार भने करेक्सन भएको हो । व्यापार, लघुवित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि बैंकिङ, बीमा सहित अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि समान्य घटेको छ । लघुवित्त उपसूचक २.४४ प्रतिशत, व्यापार उपसूचक २.८९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.६ प्रतिशतले वृद्धि भएको छ ।यता वित्त कम्पनी र जीवन बीमा उपसूचक भने १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । उतारचढावबीच नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकम भने सोमबारको भन्दा बढेको छ । आइतबार ४ अर्ब नाघेको कारोबार रकम सोमबार २ अर्ब ९६ करोडमा झरेको थियो । तर, मंगलबार भने कारोबार रकम बढेर ३ अर्ब ४५ करोड ८० लाख ९० हजार पुगेको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोड १९ लाख ६४ हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार र शिवम् सिमेन्टको ९ करोड ४९ लाख १३ हजारको कारोबार भएको छ। मंगलबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने १०७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार श्वेतगंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै नेरुडे लघुवित्तको सेयरमूल्य ७.७३ प्रतिशतले वृद्धि भएको छ । यता वीन नेपाल लघुवित्तको सेयरमूल्य ५.५९ प्रतिशतले गिरावट हुँदा बोटलर्स नेपाल तपाईको सेयरमूल्य ५.५४ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौंः आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आर्कषण र सेवासुविधासहित प्याराडाइज विला बुटीक होटलले बुढानिलकण्ठबाट सेवा दिईरहेको छ । काठमाडौंको बुढानिलकण्ठबाट सेवा दिईरहेको प्याराडाइज विला बुटीक होटलबाट बिहानको सुर्योदयसँगै काठमाडौंको अवलोकन गर्न सकिने सञ्जालक बद्री महतले जानकारी दिए । ‘आन्तरिक तथा बाह्य पर्यटकहरु शहर भन्दा बाहिर रमाउन थालिसकेका छन्, उनीहरुलाई नै मध्यनजर गर्दै सुर्योदय र काठमाडौंको अवलोकन गर्न मिल्ने गरी होटल सञ्चालन गरेका छौं’ सञ्चालक महतले भने । सञ्चालक महत अनुसार ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा भएको बताए । ‘बुटीक होटलमा २० वटा कोठाहरु रहेका छन्, उनले भने, ‘ ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा उपलब्ध छन्, अर्गानिकसँगै नेपाली खानाको स्वाद पाहुनालाई खुवाउन सफल भएका छौं । एनआरएन जापानका कोषाध्यक्ष समेत रहेका सञ्चालक दीपक सुनारले वैदेशिक रोजगारी भएको आम्दानीलाई स्वदेशमा लगानी गरेको बताए । ‘वैदेशिक रोजगारीमा भएको आम्दानीलाई स्वदेशमा नै लगानी गरेका छौं, उनले भने, ‘स्वदेशमा नै लगानी गर्दा स्वदेशमा नै रोजगारी समेत सिर्जना भएको छ ।’ विभिन्न पेशा व्यवसायमा अग्रसर भईरहेका बद्री महत, दीपक सुनार ईश्वर सापकोटा र चन्द्रप्रसाद हुमागाइको सयुुक्त लगानीमा प्याराडाइज विला बुटीक होटल सञ्चालनमा आएको हो ।
काठमाडौं: साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो । सोमबार नेप्से १७.५६ अंक (०.८६ प्रतिशत)ले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा उत्पादनमूलक र अन्य उपसूचकमा गिरावट हुँदा पनि नेप्से दोहोरो अंकले बढेको हो । उत्पादनमूलक उपसूचक ०.७१ प्रतिशत, अन्य उपसूचक १.५२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ३.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि १ प्रतिशतले वृद्धि भएको छ । सोमबार नेप्सेमा वृद्धि भएपनि आइतबारको भन्दा कारोबार रकम घटेको छ । आइतबार तीव्र उतारचढाव हुँदा नेप्से १७।२८ अंकले बढेको थियो भने कारोबार रकम ४ अर्ब नाघेको थियो । सोमबार बजारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १६ करोड ८४ लाख ५१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजारको कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको ११ करोड १४ लाख ५५ हजारको कारोबार भएको छ । सोमबार कारोबार अवधिभर बजारमा कुल २११ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ३९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्त, सृजनशील लघुवित्त खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ । यता नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य ४.०१ प्रतिशतले गिरावट हुँदा तेह्रथुम पावर कम्पनीको सेयरमूल्य २.४५ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई प्राप्ति (मर्जर) गरेपछि कुमारी बैंक लिमिटेडले आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । यी दुवै बैंक १ः१ सेयर अनुपातमा मर्जरपछि कुमारी बैंक लिमिटेडको नाममा सञ्चालन हुने सहमति भएको थियो । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा र ९साविक० नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने संयुक्त रुपमा एकीकृत कारोबारको उद्घाटन गरेका छन् । मर्जरसँगै चुक्ता पूँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउन यो मर्जर उपलब्धि मुलक हुने बताए । यो मर्जर निकै सुखद् र सकारात्मक कदम रहेको भन्दै उनले सेवाग्राहीका लागि आगामी दिनमा आकर्षक सुविधाहरू ल्याउने बताए । मर्जरपछि कुमारी बैंकले ४१५ वटा स्थानहरूबाट सेवा प्रवाह गर्नेछ । जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।
काठमाडौं: कारोबार अवधिभर तीव्र उतारचढाव देखिएको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सुरुवाती समयमा उच्च वृद्धि भएपनि त्यसपछि लगातार उतारचढाव देखिएको नेप्से १७.२४ अंक (०.८५ प्रतिशत) ले वृद्धि भएर २०४६.२६ अंकमा बन्द भएको हो । नेप्सेमा तीव्र उतारचढाव देखिँदा कारोबार रकम पनि बढेको छ । नयाँ सरकार गठनसँगै गत साता र आइतबार पनि सुरुवती समयमा बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा कारोबार रकम पनि ४ अर्ब नाघेको छ । गत बिहीबार नै चार महिना याताकै उच्च बिन्दुमा पुगेको नेप्से आइतबारको ‘इन्ट्रा–डे’ मा ५४ अंकको वृद्धि हुँदा २०८३.१९ अंकसम्म पुगेको थियो । ७ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से गत साता र आइतबारको ‘इन्ट्रा–डे’ को उच्च बिन्दुमा पुग्दा करिब २१६ अंकले वृद्धि भएको थियो । छोटा अवधिमा नै नेप्सेमा उच्च वृद्धि हुँदा लगानीकर्ताले नाफा बुक गर्न खोजेपछि आइतबार ५४ अंक भन्दा माथिले वृद्धि भएको नेप्से अन्तिममा करेक्सन भएर १७ अंकको वृद्धि सहित बन्द भएको छ । जसले आइतबार कारोबार रकम पनि उच्च भएको छ । आइतबार सेयर बजारमा ४ अर्ब ४ करोड ८८ लाख ८० हजारको कारोबार भएको छ । नेप्से दोहोरो अंकले बढेपनि वित्त कम्पनी र विकास बैंक उपसूचकमा भने गिरावट भएको छ । जीवन बीमा उपसूचक २.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.०४ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.२० प्रतिशतले गिरावट भएको हो । आइतबार ४ अर्ब माथिको कारोबार हुँदा नबिल बैंकको २३२ करोड ५७ लाख ४९ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८८ लाख १ हजार र हिमालयन डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजारको कारोबार भएको छ । नेप्सेमा आइतबार कुल २१२ कम्पनीको सेयर कारोबार हुँदा १२१ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकोमध्ये श्रृजनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा खप्तड र धौलागिरी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता एनआएन इन्फ्रास्ट्रचर एण्ड डेभलमेन्ट लिमिटेडको सेयरमूल्य ३.८४ प्रतिशतले गिरावट हुँदा मिथिला लघुवित्तको सेयरमूल्य ३.८४ प्रतिशत र रिभर फल्स पावरको सेयरमूल्य ३.६५ प्रतिशतले गिरावट भएको छ । यस्तै सिद्धार्थ इक्वीटी फण्डको इकाइमूल्य ५.५७ प्रतिशत र साये ८ प्रतिशत ब्याजदरको नेपाल बैंक् डिवेञ्चरको मूल्य ३.९२ प्रतिशतले घटेको छ ।
काठमाडौं: साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।