काठमाडौं: बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौ सय १६ बराबरको कारोबार भएको छ । आज लगानी, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । लगानी समूह शून्य दशमलव ३५, लघुवित्त समूह १५ दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ०५, अन्य समूह एक दशमलव २७ र व्यापार समूह तीन दशमलव ६३ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा ८८ दशमलव ०५ र होटल तथा पर्यटन समूहको उपसूचकमा ५० दशमलव ४८ अङ्कको वृद्धि देखिएको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव ६२, वित्त समूह नौ दशमलव ५४, जलविद्युत् समूह तीन दशमलव ७७, उत्पादन समूह २८ र निर्जीवन बीमा २० दशमलव ०५ अङ्कले बढेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइबीएल समृद्धि फन्ड–२ का लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् । आज सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको रू पाँच करोड ९३ लाख ३९ हजार चार सय ४४ बराबरको दुई लाख २२ हजार ५५ कित्ता सेयर कारोबार भएको छ ।
काठमाडौं: भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ । भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ । यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।
काठमाडौं: छापावाल सुनको मूल्य ५०० ले बढेको छ। आज ५०० सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएका थियो। यसदिन ५०० सयले बढेर १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० पुगेको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
काठमाडौँ: चालू आर्थिक वर्ष २०७९र८० को ६ महिनाको अवधिमा नेपालले १ अर्ब ७ करोडको डाइपर आयात गरेको छ । यस्तै ११ करोडको निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले अर्बौको सामान आयात गर्दा निर्यात करोडमा सिमित बनेको हो । यस अवधिमा विदेशबाट नेपालतर्फ १ अर्ब ७ करोड ३६ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस अवधिमा उक्त मूल्य बराबरको ६ करोड ४४ लाख पिस डाइपर आयात भएको हो । यस्तै, साउनदेखि पुससम्मको अवधिमा नेपालबाट विदेशतर्फ ११ करोड ८५ लाख रुपैयाँ बराबरको डाइपर निर्यात भएको छ । यस अवधिमा १ करोड ८० लाख पिस डाइपर निर्यात भएको छ । यसैगरी, नेपालबाट ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात हुँदा ४५ करोड २६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन्। उनले आज मंगलबार बिहान प्रधानमन्त्रीलाई आर्थिक संकट समाधानबारेको ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा अर्थतन्त्र सुधारको लागि सरकारले चाल्नु पर्ने २० सुझाव उल्लेख गरिएको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालिन उपाय अवलम्बन गर्नुका साथै दीर्घकालीन उपायहरू अपनाउन ढिलो गर्न नहुने उल्लेख छ। सुझावमा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा बढीमा ४% (चार प्रतिशत) ब्याज दिन पाउने र ऋण प्रवाहमा बढीमा ७% (सात प्रतिशत) मात्रै ब्याज लिन पाउने व्यवस्था तत्काल लागू गरियोस् । यसैगरी बचत तथा ऋण सहकारी संस्थाहरुले निक्षेपमा बढीमा ८% (आठ प्रतिशत) ब्याज दिन पाउने र कर्जा दिँदा बढीमा १२ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था तत्काल लागू गर्नु पर्ने उल्लेख छ। त्यस्तै अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्नु पर्ने उल्लेख छ। यस्ता छन् सुझाव : १. संविधानमा उल्लिखित आर्थिक नीति कडाईका साथ लागू गरियोस्। २. युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चालियोस्। ३.कक्षा–८ देखि कक्षा १२ सम्मका पाठ्यक्रममा एक विषय अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठहरु राखियोस, जसबाट स्वदेशमै बसेर केही गर्ने र देश बनाउने जिम्मेवारी बोध होस्। ४.विद्यार्थीहरुको विदेश पलायन रोक्नका लागि देशभित्र विद्यार्थीले पढ्न चाहेका विषयमा पर्याप्त सीट संख्या उपलब्ध गराइयोस्। यसका लागि संभव भएसम्म सरकारी कलेजहरुमा सीट संख्या बढाउने र सरकारी लगानीले नपुग्ने अवस्थामा निजी र सहकारी क्षेत्रमा स्थापित शैक्षिक संस्थालाई सम्बन्धन दिई देशभित्रै पठनपाठन हुनसक्ने वातावरण बनाइयोस्। ५ अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन बृद्धिमा जोड दिनुको साथै कृषि उपज बिक्रीको प्रत्याभूति गरियोस्। ६. भौतिक निर्माण–विकासका योजना निर्माण र बजेट विनियोजन प्रणालीमा आमूल परिवर्तन गरियोस्। भौतिक विकास–निर्माणको योजना उत्पादन बृद्धितर्फ, अति आवश्यकताको क्षेत्र छनौट गरेर, रोजगारी बृद्धि हुनेगरी, युवा श्रमशक्ति देशमै अड्याउने योजनाका साथ खर्च गर्ने, सोही अनुसार बजेट विनियोजन गर्ने प्रणाली स्थापित गरियोस् । बहुवर्षीय योजनाका नाममा नाममात्रको बजेट छुट्याउने र वर्षौंवर्षसम्म आयोजना पुरा नहुने परिपाटी अन्त्य गरियोस्। ७. विद्युतीय उर्जा प्रयोग बढाउँदै लैजाने र जैविक इन्धन आयातमा कटौति गर्दै लैजाने सुनिश्चित आवधिक योजना अगाडि सारियोस् । सस्तोमा विद्युत निर्यात गर्ने र सुखा याममा महँगोमा खरिद गर्ने हालको व्यवस्थामा परिवर्तन गरियोस्। सरकारी लगानीमा निर्माण गर्ने जलविद्युत आयोजनाको कामलाई तत्काल प्रभावकारी रुपमा अगाडि बढाइयोस् तथा सरकारी लगानीले नपुग्ने अवस्थामा निजी र सहकारी क्षेत्रलाई विशेष सहुलियत दिई विद्युत उत्पादनमा लाग्न प्रेरित गरियोस्। ८. वैदेशिक लगानी भित्र्याउन सहज व्यवस्था गरियोस्। ९. अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस्। १०. अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्ने अभियान शुरु गरियोस्। ११. कृषि भूमिको सुरक्षा र भूमिसुधार कार्यक्रम अगाडि सारियोस्। कृषियोग्य भूमि प्लटिब गरी घडेरी विक्री गर्ने प्रचलनलाई कडाईका साथ नियन्त्रण गरियोस् । समग्र देशको भूसूचना प्रणालीलाई विद्युतीय माध्यमबाट एकीकृत गरियोस्। १२. बैंक तथा वित्तीय संस्थाहरुको वचत तथा ऋण नीतिमा तत्काल सुधार गरियोस्। बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा बढीमा ४% (चार प्रतिशत) ब्याज दिन पाउने र ऋण प्रवाहमा बढीमा ७% ( सात प्रतिशत) मात्रै ब्याज लिन पाउने व्यवस्था तत्काल लागू गरियोस् । यसैगरी बचत तथा ऋण सहकारी संस्थाहरुले निक्षेपमा बढीमा ८% (आठ प्रतिशत) ब्याज दिन पाउने र कर्जा दिँदा बढीमा १२ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था तत्काल लागू गरियोस्। १३. समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना नतिरी कर तिर्ने सुविधा आगामी आषाढ मसान्त २०८० सम्म प्रदान गरियोस्। १४. भाखा नाघेका ऋणीहरुले लिएको ऋणको किस्ता र ब्याज तिर्ने अवधि अगामी आषाढ मसान्त २०८० सम्मलाई बढाइयोस्। १५. सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिई उद्योगले पाउने सुविधा दिइयोस्। १६. अब आउने वर्षेबालीका लागि समयमै रासायनिक मल उपलब्ध गराउन अहिलेदेखि नै द्रुत गतिमा काम अगाडि बढाइयोस्। १७. महँगी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चालियोस्। १८. पैदल मार्ग र सहरका विभिन्न स्थानमा सडक व्यापार गर्ने वर्ग–समुदायका लागि बिहान–बेलुकी निश्चित उपयुक्त समय निर्धारण गरी व्यवसाय गरी बाँच्ने अवसर दिइयोस्। १९. असंगठित क्षेत्रका श्रमिकहरूले श्रम ऐनले तोकेबमोजिम ज्याला र सुविधा पाउने व्यवस्थालाई कडाईका साथ लागू गरियोस्। २०. खर्चिलो निर्वाचन प्रणालीमा आमूल परिवर्तन गरियोस् । वर्तमान परिपाटी अनुसार हरेक तहको निर्वाचन धेरै खर्चिलो भएको छ । खर्चिलो निर्वाचन प्रणाली भ्रष्टाचारको एक प्रमुख कारक रहेको तथ्यलाई ध्यान दिँदै यसमा आवश्यक सुधार गर्ने तर्फ यस सरकारले तत्कालै पहल गरोस्।
काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। ५०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँ कायम गरिएको थियो। यसदिन तेजावी सुन मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तरार्ष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो। सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं: नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख पाँच हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
काठमाडौं : सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेको छ। यसदिन २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रूपैयाँमा खरिदबिक्री भयो। ५१ हजार ९७३ पटक कारोबार भयो। दोहोरो अंकको करेक्सन आएको सेयर बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३९२ रुपैयाँको सेयर कारोबार भयो। यस्तै, ९ करोड २१ लाख बढिको सेयर कारोबार गरी हिमालयन ऊर्जा विकास कम्पनी दोस्रोमा र ७ करोड १३ लाख मूल्यको सेयर किनबेच गरी एनआईसी एसिया बैंक तेस्रो स्थानमा रह्यो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो। होटल्स एन्ड टुरिजमको ०.२० र लाइफ इन्स्योरेन्सको सूचक ०.३४ प्रतिशतले घटेको हो।
काठमाडौं: आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य भने आइतबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । यो शुक्रबारको तुलनामा १५ रुपैयाँ कम हो । शुक्रबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला थियो ।