कावासोती: पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तरुल व्यापारबाट राम्रो आम्दानी भएको छ। कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानुपर्ने हिन्दु परम्पराअनुसार तरुलको व्यापार पनि निकै फस्टाएको हो। नवलपुरमा माघेसङ्क्रान्तिमा एक करोडको तरुल बिक्री भएको छ। अझै जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती गर्ने हो भने यसबाट निकै राम्रो आम्दानी गर्न सकिने तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारूले बताउनुभयो। नवलपुरको पहाडी क्षेत्र हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकामा तरुल उत्पादन हुने गर्दछ। त्यहाँ उत्पादित वनतरुल प्रतिकेजी एक सय रुपियाँ, पञ्जेतरुल ८० तथा मुढेतरुल ५० रुपियाँमा बिक्री गरी पोखरा र काठमाडौँतर्फ निर्यात गरेर एक करोड आम्दानी भएको सारूले बताउनुभयो। यस वर्ष जिल्लाबाट ४० टन तरुल निर्यात गरी राम्रो आम्दानी भएको उहाँको भनाइ छ। पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको र अहिलेसम्म ४० टन तरुलको व्यापार गरेको सारूले बताउनुभयो। पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ। उहाँले भन्नुभयो, “अन्य तरकारीभन्दा तरुलको बिक्री बढी छ।” जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन। यसमा रोग तथा कीराको आक्रमणसमेत नहुँदा खानका लागि स्वस्थ भएकाले पनि तरुलको माग बढेको हो। नवलपुरको पहाडी क्षेत्रको जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ। कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उहाँले बताउनुभयो। नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको छ। आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिक रूपमा पोखरा र काठमाडौँ पठाउने गरेको व्यवसायी कृष्णबहादुर सारूले बताउनुभयो। माघेसङ्क्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रहिआएको छ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय ७८ दशमलब ८१ मा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारको मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलब शून्य पाँचमा पुगेको छ । कारोबार भएकामध्ये ८५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको शेयर मूल्य घटेको छ भने कूल १४ कम्पनीको शेयर मूल्य स्थिर छ । आजको कारोबारमा विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर रू तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार दुई सय ३३ पुगेको छ । कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको रू १८ करोड चार लाख ४४ हजार छ सय ५३ बराबरको शेयर कारोबार भयो । यस्तै, रिडी पावर रू १२ करोड ३२ लाख २७ हजार आठ सय ६८, पिपल्स पावर रू १० करोड ४० लाख ५८ हजार पाँच सय दुई, अपि पावर कम्पनी रू नौ करोड ४५ लाख ७५ हजार एक सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको रू आठ करोड ८२ लाख १२ हजार सात सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी नौ दशमलब ५४, नेपाल पूर्वाधार बैंक सात दशमलब २०, ग्रीन भेञ्चर्स छ दशमलब ७१ र श्वेतगङ्गा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलब १० प्रतिशतले कमाएका छन् । त्यस्तै, कुमारी धनवृद्धि योजना आठ दशमलब ८९, लक्ष्मी लघुवित्त पाँच दशमलब ४४, सिटिजन म्युचुअल फण्ड तीन दशमलब ८०, ग्लोबल आइएमई लघुवित्त तीन दशमलब ७७ र स्वाभिमान लघुवित्त कम्पनीको शेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ ।
काठमाडौं: बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार रुपैयाँ तोकिएको छ । सुनको यो मूल्य बुधबारकै मूल्य भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
पोखराः पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा करिव एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन । युनाइटेड क्लबले आयोजना गरेको ११ औं महोत्सवमा करिव १ लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने महोत्सवमा करिव ४ करोड बरावरको कारोवार भइसकेको अर्थ संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका छन् । त्यसैगरी हास्यब्यङग्य मार्फत पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसन मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती मार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए । युनाइटेड क्लबले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै निशुल्क रुपमा चिडियाखान जाने बसको ब्यवस्था, स्वास्थ्य उपचार लगायतका सुविधा संगै विदेशी पर्यटकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएकाले पनि महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक सुनारले बताए । महोत्सवको नवौ दिन बिहीबार चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योती मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्ट तर्फ सविन राइ एण्ड फेरोहको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।
पोखराः पोखराको लेकसाइडमा ८ करोड भन्दा माथिको लगानीमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालनमा आएको छ । लामो समय देखि पोखरामा एसियना म्यारक्यु क्लब संचालन गर्दै आएका व्यवसायी सुमन कुमार श्रेष्ठले उक्त लाउञ्ज संचालनमा ल्याएका हुन् । लाउञ्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । दुई सय वर्ष अगाडि नेपालका राजाहरु बस्ने दरबारको झल्को दिने गरी आफुले त्रिपुराको भवन निर्माण गरेको दाबी उनको छ । ‘पोखरामा पछिल्लो समय थुप्रै रेष्टुरेण्टहरु संचालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं । राजाहरु बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएको छ । आशा छ, पोखरेलीहरुलाई मन पर्नेछ ।’, उनले भने । लाउञ्जको टप फ्लोरमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । रेष्टुरेण्टमा इतिहास झल्काउने गरी राजाहरुको तस्बिर समेत राखिने श्रेष्ठले बताए । कोरोना अघिदेखि सुरु भएता पनि निर्माणको काम अहिले आएर सम्पन्न भएको भनाई उनको छ । नेपालमा दक्ष कालिगढको अभावका कारण भारतबाट कालिगढहरु बोलाएर काम गरेता पनि बीचमा नै उनीहरुले काम छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको अभिव्यक्ति उनको थियो । पछि नेपालकै कालिगढबाट उनले सो काम सम्पन्न गरे । लेकसाइड १५ नम्बर स्ट्रिट भित्र एक रोपनी जग्गामा फैलिएको त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने उनले बताए । सबै वर्गका ग्राहकलाई लक्षित गर्दै आफुले लाउञ्ज संचालनमा ल्याएको भनाई उनको छ । ‘लगानी बढी लाग्यो भन्दैमा धेरैले महङ्गो छ भन्नुहुन्छ होला । तर त्यस्तो छैन । सुलभ दरमा सेवा पाउनुहुनेछ ।’, उनले भने । त्रिपुरामा चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा रहेको जानकारी समेत उनले गराएका छन् । राजा महाराजाले खाने खाना अब आम नागरिकले त्रिपुरामा खानेछन् । म्यानेजर विकास गुरुङले त्रिपुराको विशेषता भनेकै क्लासिक वातावरण रहेको उल्लेख गरे । उनले क्याफे, लबिहल, लाइभ म्युजिक सहितको सेवा त्रिपुरामा उपलब्ध रहेको जानकारी गराए । उनले केही निर्माणको काम बाँकी रहेकाले अबको एक महिनामा त्रिपुराको ग्राण्ड ओपनिङ गर्ने तयारीका साथ आफुहरु लागिरहेको समेत बताए । त्रिपुराका संचालक श्रेष्ठ बक्सिङका राष्ट्रिय खेलाडी हुन् । खेलजीवन सँगै उनी व्यवसायमा लागे । १५ वर्षदेखि लेकसाइडमा नै क्लब संचालन गरेका श्रेष्ठले नै त्रिपुराको इन्टरियर डिजाइन गरेका हुन् ।
सिन्धुलीः सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको उहाँले बताउनुभयो । मान्द्रोको ठाउँमा पछिल्लो समय प्लास्टिकका सामग्रीले लिएको छ । प्लास्टिकका सामग्री सस्तो र सहजरुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिला जस्तै बाँस पाइदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको दनुवारले सुनाउनुभयो । उहाँले भन्नुभयो, “पटिया बिक्री हेतो त फेरी बुन थाल्बो ९मान्द्रो बिक्री हुन्छ भने फेरि बनाउन थाल्छु० ।” केही वर्षअघिसम्म चुरे क्षेत्र प्रवेश गर्ने वित्तिकै बाँस पाइथ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी ल्याएर आइन्थ्यो । उत्पादित मान्द्रो किन्न ग्राहक घरमै आउँथे । बिक्रीको समस्या थिएन । त्यति बेला दिनकै रु पाँच सय कमाइ हुन्थ्यो । त्यो पैसाले नुन, तेलदेखि घरायसी सबै खर्च टर्थो । यता उता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको दनुवारको भनाइ छ । “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यै छ”, उहाँले भन्नुभयो । दनुवारको पाँच जनाको परिवार छ । श्रीमान् रु दुई लाख ऋण गरेर साउदी अरब जानुभएको हो । दुई वर्ष बितिसक्दा विदेश जाँदाको ऋण तिर्न सक्नुभएको छैन । तीन सन्तानको पालन पोषणलगायत घरायसी खर्च टार्न उहाँलाई यति बेला धौधौ छ । जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट आफ्नो घर व्यवहार धान्दै आइरहनु भएकी दनुवारको हातमा अन्य सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ । दनुवारले मात्रै होइन, उक्त समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । सोम्नी दनुवारले भन्नुभयो, “पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे ।” उहाँले तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउनुहुन्थ्यो । ‘घर छोडेर कमाउन जान नमान्ने श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो । चोया आफँै काट्थे । मान्द्रो बनाउँथे । ग्राहक घरैमा आउँथे”, एक दशकअघिको समय सोम्नीले सम्झिनुभयो । दिनमा पाँच वटासम्म मान्द्रो बुन्ने गरेको उहाँ बताउनुहुन्छ । सोम्नी शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गर्नुहुन्छ । “पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्यौँ । मान्द्रो बेच्थ्यौँ, चाहिएको सामान किन्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, ‘त्यत्तिबेला जतिवटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो । अहिले बिक्री नै हुँदैन । मान्द्रो बन्न छोड्दै गएका छन्, मैले पनि छाडे ।” मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको सोम्नीले बताउनुभयो । उहाँसँग मान्द्रो र थरिथरिका डालो बनाउने सीप छ । गदँै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थाल्नुभएकी सोम्नी उपयुक्त कामको खोजीमा हुनुहुन्छ । दनुवार समुदायको परम्परागत तथा पुखौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण रोजीरोटी नै गुम्ने अवस्था आएको उहाँकोे भनाइ छ । स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई÷चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनुपर्ने बाध्यता थिएन । अति सिमान्तकृत दनुवार समुदायको मान्द्रो बनाउने पराम्परागत सीप हो । पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसार नपाउँदा लोप हुँदै गएको छ । बाँसको चोयाबाट अति आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर ९दनुवार०ले नजिकै बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउन प्लास्टिकको किनेर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको रु १५ हजारदेखि रु २० हजारसम्म कमाउँथे । अहिले बाँस टाढा गएर ल्याउन सकिँदैन, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु रु आफूलाई ओछ्याउन बजारबाट प्लास्टिकको विछ्याउना किनेर ल्याएको छु ।” यो सीपको विकास तथा संरक्षण गर्नुपर्ने आवश्यकता भने देखिएको उहाँले धारणा छ । मान्द्रो मात्रै होइन, ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छ । बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापन समेत नहुँदा दनुवार समुदायका महिलाले पुखौँदेखि गदँै आएको पेसा लोप हुने अवस्थामा पुगेकोे दनुवार जागरण समितिका सदस्य सुकुमलाल कुमर ९दनुवार०ले बताउनुभयो । ‘दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन । सीप पुस्तान्तरण हुन नसक्दा पेशा लोप हुन थालेको हो”, उहाँले भन्नुभयोे । पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लामा बिक्री हुने गरेको उहाँ सम्झिनुहुन्छ । प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र बाँसका सामग्रीबनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसायसंकटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुको धारणा छ । यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीे जस्ता सामग्रीको उत्पादन अत्यन्तै न्यून हुने गरेको उहाँले बताउनुभयो । “पहिला बाँसका सामग्री बनाउने जनशक्ति धेरै थियो । अहिले कम छ”, उहाँले भन्नुभयो, “अहिलेका युवा पुस्ता परम्परागत काममा चासो देखाउँदैनन् ।”
कास्की: ‘स्पिड पनि, सस्तो पनि’ नारासहित इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपाल प्रालिले पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ इन्टरनेटको सेवा बिस्तार गरेको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै काठमाडौंपछि गण्डकी प्रदेशको पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ सस्तो तथा सुलभ मूल्यमा इन्टरनेट सेवा सुरु गरेको जानकारी दिएको हो । कम्पनीका कार्यकारी अधिकृत शत्रुधन पञ्जियारले वाइफाइ नेपालले नेपालमै सबैभन्दा सर्वसुलभ मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने बताए । ‘नेपालमा अहिले धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन्’, उनले भने, ‘हामीले ल्याएको वाइफाई नेपाल स्पिड पनि छ र सस्तो पनि छ त्यसैले नारा नै ‘स्पिड पनि, सस्तो पनि’ राखेका छौ । सेवाग्राहीले ५० एमबिपीएसको इन्टरनेट प्रतिमहिना ३ सय ३३ रुपैयाँमा चलाउन पाउँनेछन् ।’ उनका अनुसार ८० एमबिपीएसलाई प्रतिमहिना ५ सय रुपैयाँ तोकिएको छ । उनले ५० एमबिपीएसको इन्टरनेट बार्षिक ५ हजार ५ सय र ८० एमबिपीएसको इन्टरनेट ७ हजार ५ सयमा प्रयोग गर्न पाउने बताए । ‘हामीले काठमाडौंको सफलतापछि गण्डकीमा आएका छौं, हामीले न्यूनतम मूल्यमा सेवा प्रदान गरेर सबै नेपालीलाई जोड्न खोजेका छौ’, उनले भने, ‘आगामी दिनमा पोखरा लगायत अन्य विभिन्न शहरहरु तथा गाउँ–गाउँमा पुग्ने लक्ष्य लिएका छौं ।’
काठमाडौं- माघदेखि ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरू निक्षेपको ब्याजदर घटाउन सहमत भएका हुन् । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् । नेपाल राष्ट्र बैङ्कको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको छ । राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोहीअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ । मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैङ्किङको आधार दर घट्न गई औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ । ब्याजदर घटाउने निर्णयसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं- आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्इ बैंक मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि बुधबार आयोजित कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गर्नुभएको धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ । उहाँले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताउनुभएको थियो । दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेन्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहनुभएको छ । साविक इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहनुभएका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहनुभएको छ । मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल पुँजी रु ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी कुल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी रु २६ अर्ब २३ करोड, कुल निक्षेप रु तीन खर्ब २ अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । अमिरप्रताप राणाको अध्यक्षतामा चन्द्र बाँस्तोला, इमानसिङ लामा, कृष्णप्रसाद ज्ञवाली र महेश पोखरेल सञ्चालक समिति सदस्य रहनुभएको छ । नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृृत कारोबार सुरु गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याविनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त र मदनलाल जोशी सञ्चालक समिति सदस्य बन्नुभएको छ । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष रु ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कुल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पु¥याएको छ । हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकका अध्यक्ष ढकाल बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैंक र छवटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको छ ।” त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी रु २३ अर्ब ५२ करोड पुगेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी रु २२ अर्ब, कुल निक्षेप रु दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह रु दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ । एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ । प्रभु बैंकबाट चार जना र सेञ्चुरी बैंकबाट तीन जना गरी कुल सात सदस्यीय सञ्चालक समिति बनेको छ । प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा रमेशसिंह खड्का, शङ्करप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मनबहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक समिति सदस्य रहनुभएको छ । यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई-दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ । दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मइ बैंकको चुक्ता पुँजी रू ११ अर्ब ५५ छ भने सनराइज बैंकको रू १० अर्ब ११ करोड छ ।