नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्येकै १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ६.२३ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले बृद्धि भएको देखिन्छ । बैशाख मसान्तसम्म बाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सीमाभित्र नै (८९.६५ प्रतिशत) रहेको छ । औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ ।
अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । प्रतिकित्ता १०० रुपैयाँदरका कुल आईपीओका लागि स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जजनाएको छ । कम्पनीले रेटिङ एजेन्सी इक्र नेपालबाट डबल बी प्लस रेटिङ पाएको छ । यसको मतलब कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको आईपीओ बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
काठमाडौं- कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले कोषको ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको पाइएको छ । काठमाडौँ महानगरपालिका ११ सुन्धारामा रहेको छ रोपनी जग्गामा निर्माण भएको ८२ हजार ९५ वर्गफिट बराबरको पसल कबल लिलामीका लागि सूचना प्रकाशित गरिएको हो । कोषले ३५ दिने सूचना प्रकाशित गरी इच्छुक बोलपत्रदातालाई आवेदन दिन आग्रह गरेको हो । कोषले कर्जा लिने ऋणीले म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लङ्घन गरेको पाइएकाले लिलामीको सूचनामा स्पष्ट पारिएको छ । पसल तथा कबलको विस्तृत जानकारी कोषमा सम्पर्क राखी प्राप्त गर्ने सकिनेछ । बोलपत्रदाताले आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटीबापतको रकम नेपाल इन्भेस्टमेन्ट बैंक पुल्चोकमा रहेको कोषको चल्ती खातामा जम्मा गर्न आग्रह गरिएको छ । कोषको सञ्चालकमा तामाङसहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया हुनुुहुन्छ । कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रुपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रवीणप्रसाद प्रधान र सुमननन्दन वैद्य हुनुहुन्छ
काठमाडौं- धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई हजार २५६.५७ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८० अङ्कले उकालो लागेर ४३६.३५ मा पुगेको छ । कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर रु एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब १० अब ३० करोड ३६ लाख ९० हजार बराबर पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ २.५४ र लघुवित्त ०.०३ अङ्कले ओरालो लागेको छ । त्यस्तै, व्यापार ४.९१, होटल तथा पर्यटन ७१.९७, विकास बैंक १०८.६२, जलविद्युत् ६६.४, वित्त ५३.५६, निर्जीवन बीमा ९.४९, उत्पादन ११.५७, अन्य ३५.८६, जीवन बीमा ३८.५८, सामूहिक लगानी कोष ०.०७ र लगानी १.४९ अङ्कले उकालो लागेको छ । कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो संस्थाको रु सात करोड ५३ लाख ५९ हजार ४५५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ६० लाख ७८ हजार ३५५, नबिल बैंक रु चार करोड १५ लाख ४८ हजार ९०३, एनआइसी एशिया बैंक रु तीन करोड ६७ लाख ९० हजार ८६७, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ५८ लाख ८१ हजार ९०४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रो पावर ८.८२, माउण्टेन इनर्जी नेपाल ८.६६, हिमालयन ऊर्जा विकास कम्पनी ७.५८ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतले कमाए । त्यस्तै उन्नति सहकार्य लघुवित्त ४.९२, एनआइसी एशिया सेलेक्ट फण्ड ४.०६, एशियन लाइफ इन्स्योरेन्स ३.५४, रुरु जलविद्युत् परियोजना ३.१२ र गरिमा विकास लघुवित्तका लगानकिर्ताले २.५७ प्रतिशतले गुमाए ।
कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ । कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुचारु गर्ने गरी आजदेखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेकाबाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिनुभयो । उहाँले कार्यालयको सो निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी रहेकोसमेत बताउनुभयो ।
जेठको दोस्रो सातादेखि हवाई भाडा बढ्ने भएको छ । गत चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ । अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ।
पोखरा: कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले इमोस्नल ईन्टेलीजेन्स वर्कसप सम्पन्न गरेको छ । कास्की जिल्लका सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि मनोदर्शन साइकोलोजिकल कन्सर्नको प्राविधिक सहयोगमा एक दिने कार्यशाला सम्पन्न गरेको हो । कुल ३२ जनाको उपस्थिती रहेको सो कार्यशालामा मनोदर्शन साइकोलोजिकल कन्सर्नका प्रमुख प्रशिक्षक प्रज्वल आचार्य र प्रशिक्षक दिलिप श्रेष्ठले प्रशिक्षण दिएको मित्रमिलन वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक किरण अधिकारीले जानकारी दिए । उनका अुनसार सो कार्यक्रम वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको हो । उक्त कार्यशालाबाट वित्तिय क्षेत्रमा काम गर्न थप उर्जा मिलेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । क्लबका सचिव मोहन प्रसाद अधिकारीले कार्यक्रम सञ्चमलन गरेका थिए भने रियल ईभेन्ट म्यानेजमेन्टका व्यवस्थापक सुशिल पोख्रेल तथा पहल ग्रुपका निर्देशक अशोक पौडेलले कार्यशालाको समन्वयन गरेका थिए ।
काठमाडाैं, वैशाख १४ गते । विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि असार मसान्तसम्मकाे लागि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० प्रकारका विलासीका वस्तु आयातमा रोक लगाएको हो । मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, खेलौनाहरु र तास आयातमा रोक लगाएको छ। कूटनीतिक नियोगका अधिकारीकाे लागि प्रयाेजनार्थ ती वस्तु ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू हुनेछैन ।
काठमाडौं, वैशाख १३ गते । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा दुई हजार ७१८ किलो सालमन माछा आयात भएको देखिन्छ । त्यस्तै, विभागको विवरण अनुसार सोही माछाको अन्य प्रकारसमेत गरी पाँच हजार ९५० किलो नेपाल भित्रिएको छ । अमेरिकी डलरको सञ्चिति कम भइरहेको बेला विदेशी नियोग वा होटल रेष्टुरेन्टले माछा आयात गरेको अनुमान गर्न सकिन्छ । ती माछाको आयात मूल्य एक करोड ९१ लाख ५४ हजार बराबर छ । उक्त माछाको आयातबाट सरकारले रु ५९ लाख १३ हजार बराबरको राजश्व प्राप्त गरेको छ । त्यस्तै, नेपाल आयात गरिने वस्तुमा एक रमाइलो विवरण हो गङ्गटा । चालु आवको नौ महिनामा एक हजार ८०० किलो गङ्गटा नेपाल भित्रिएको छ । गाउँ घरका खेतबारीमा पाइने र नेपालीको खास पहिचानसमेत नगरेको गङ्गटालाई डरलाग्दो प्राणीका रुपमा लिइन्छ । उक्त जलप्राणीको आयात मूल्य १२ लाख ८२ हजार बराबर छ । त्यसबाट सरकारले रु तीन लाख ८४ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । गङ्गटा, सर्पको टाउको पनि नेपाल भित्रिएको छ । विभागका अनुसार नौ महिनाको अवधिमा ६२ किलो पैठारी भएको छ । त्यसको लागत मूल्य एक लाख २९ हजार बराबर छ । सरकारले रु ३९ हजार राजश्व सङ्कलन गरेको छ । सुक्खा माछाको आयातको विवरण पनि त्यस्तै छ । विभागका अनुसार दुई लाख ९५ हजार ६१ किलो सुक्खा माछा आायत गर्दा सरकारले रु दुई करोड ९५ लाख दुई हजार बराबर राजश्व सङ्कलन गरेको छ । त्यस्तो माछाको आयात मूल्य नौ करोड ६६ लाख ८१ हजार बराबर छ । नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिससमेत देखिएको छ । नौ महिनाको अवधिमा तीन लाख ४८ हजार ७५० किलो क्याटफिसको आयात मूल्य आठ करोड ३९ लाख सात हजार बराबर छ । त्यसबाट सरकारले रु दुई करोड ५६ लाख पाँच हजार बराबर राजश्व सङ्कलन गरेको छ । माछाको मासु मात्रै पनि आयात भएको विभागको विवरणमा उल्लेख छ । नौ महिनाको अवधिमा आठ हजार किलो त्यस्तो मासु आयात भएको छ । त्यसको आयात मूल्य १८ लाख ८७ हजार रहँदा सरकारले रु पाँच लाख ७६ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । टुनाफिस ९१० किलो नेपाल भित्रिँदा आयातकर्ताले रु २१ लाख ९९ हजार बराबर लागत मूल्य तिरेका छन् । त्यसबाट सरकारले रु ६ लाख ७१ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । विभागका अनुसार ५७ हजार १६८ किलो प्राउन नेपालमा पैठारी भएको छ । त्यसको लागत मूल्य तीन करोड ४८ लाख ६१ हजार छ । सरकारले राजश्व मात्रै रु एक करोड पाँच लाख २९ हजार सङ्कलन गरेको छ । झिङ्गेमाछा मात्रै तीन हजार २०० किलो आयात भएको छ । त्यसको लागत मूल्य एक करोड ३७ लाख एक हजार बराबर रहँदा रु ४१ लाख आठ हजार बराबरको राजश्व सङ्कलन भएको छ । अर्को रमाइलो विवरण पनि छ । नेपालमा वैधानिक तवरबाटै २०० वटा कछुवा आयात भएको छ । त्यसको लागत मूल्य ८३ हजार छ र सरकारले रु २५ हजार राजश्वसमेत उठाएको छ । महीसमेत किनेर खाए घरभरि लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मही खाने नेपालीले पछिल्ला दिनमा त्यही महीसमेत विदेशबाट आयात गरेर पिउने गरेको छन् । गाउँमा कुनै युवा भेटिँदैनन् । वृद्धवृद्धाले चौपाया पाल्न सक्ने अवस्था छैन । खेतबारी बाँझो छ । सायद यसैकारण हुनसक्छ महीसमेत आयात गर्नुपर्ने अवस्था छ हाम्रो । भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा नेपालीले दुई लाख १४ हजार लिटर मही खरिद गरेर पिएका छन् । नेपाल कृषि प्रधान देश भनिँदै आएको छ । ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्याङ्क पनि छ । कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर महीसमेत किनेर सेवन गर्नुपर्ने चरम परनिर्भर अवस्थामा नेपाली पुगेका छन् । विभागका अनुसार महीको आयात मूल्य तीन करोड ६४ लाख ७२ हजार बराबर छ । त्यसबाट सरकारले रु एक करोड आठ लाख ९० हजार बराबर राजश्व सङ्कलन गरेको छ । बटर मिल्क मात्रै ११ हजार ८७५ लिटर आयात भएको छ । गोङ्ग हर्ट १६ हजार २०९ लिटर आयात भएको छ । स्वादजन्य दूध र क्रिम मात्रै दुई हजार ८२१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार २७६ लिटर नेपालमा पैठारी भएको छ । दूध पाउडर पाँच लाख ३६ हजार १०० लिटर, बच्चालाई खुवाउने दूध दुई लाख ४० हजार ७२० लिटर, दूध र क्रिम पाउडर फरक फरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको छ । त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध तीन लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) दुई हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ । विभागका अनुसार सो अवधिमा रु एक अर्ब सात करोड १९ लाख ३० हजार बराबरको दूध तथा दुग्धजन्य पदार्थको आयात भएको देखिन्छ । नेपालमा नै व्यावसायिक रुपमा पशुपालन गर्न सकिए मात्रै पनि ठूलो धनराशि विदेशिनबाट जोगिन सक्थ्यो । सरकारले विभिन्न जोन नै तय गरेर कृषि उपजको उत्पादनमा वृद्धि तथा चौपाया पालनमा प्रेरित गरे पनि त्यसको सकारात्मक नतिजा आएको देखिँदैन । सरकारले आगामी आवमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने बताइसक्नुभएको छ । तर, कार्यान्वयनको पाटो के कस्तो हुने हो भन्ने कुराले सबै कुरा निर्धारण गर्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन । रासस