गुल्मी:  जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो ।  मुसिकोट–४ स्थित फेदीमा खा...

कास्की:   ‘स्वाद र स्वास्थ्य’ नारासहित सेवा प्रदान गर्दै आएको हट एण्ड स्पाइसीले आफ्नो नयाँ शाखा अमरसिंहमा विस्तार गरेको छ । पोखरा महानरपालिका १० अमरसिंहचोकस्थित मेगा बैंकसँगै हट एण्ड स्पाइसीले मायाज कस्टम केकसहित रेष्टुरेण्ट आज (बुधाबार) देखि सञ्चालनमा ल्याएको हो ।   उक्त रेष्टुरेण्टको उद्घाटन नवनिर्वाचित पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गरे । सो अवसरमा बोल्दै गुरुङले सफलताको शुभकामना व्यक्त गरे ।   विभिन्न ठाउँमा शाखाहरु विस्तार गर्नु आफैमा प्ररणादायी कार्य रहेको वडाध्यक्ष गुरुङले धारणा राखे । ‘यो त उदाहारणीय काम हो । सरकारले गर्न नसकेको काम तपाइहरुले गर्नुभएको छ, उनले भने, ‘२ सय भन्दा बढि कर्मचारीलाई रोजगार दिनुभएको छ । यतिमात्र नभई प्रशिक्षणको व्यवस्था पनि रहेछ जसले आत्मनिर्भर बन्न सघाउ पुग्छ ।’   वडाध्यक्ष गुरुङले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने काममा हट एण्ड स्पाइसीले योगदान दिएको भन्दै प्रशंसा गरेका थिए ।   हट एण्ड स्पाइसीले आफ्नो शाखाहरुलाई वर्गीकरण गरेको बताउदै  पोखरामा ४ वटा क वर्गका शाखा रहेको सञ्चालक ज्ञान गुरुङले बताए ।   उनका अनुसार सेवाकेन्द्र क वर्गका शाखाहरु सहित पोखरामा एक दर्जन शाखाहरु रहेका छन् ।  उनले पोखराको बगर, नदीपुर, ड्यामसाइड, अमरसिंह लगायतको स्थानबाट सेवा प्रदान गर्दै आएको बताउदै भने, ‘हामीले अनलाइनमार्फत पनि खाजाका परिकारहरु डेलिभरी गर्छाै । बगको क्षेत्रबाट आयो भने बगरबाट सप्लाई हुन्छ । यस्तै जुन ठाउँबाट नजिक पर्छ  त्यही आसपासको शाखाबाट खाजा उपलब्ध गर्दै आएका छौं ।’     उनले अमरसिंह क्षेत्रको ग्राहकलाई मध्यनगर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार स्पाइसीले सन् २०१२ देखि सेवा सञ्चालन गरेको थियो ।   एक दशकसम्म सेवा प्रवाह गरेको यस रेष्टुरेण्टको शाखा गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा विस्तार भैसकेको व्यवस्थापक सन्देश गुरुङले जानकारी दिए  । उनका अनुसार सो कम्पनीमा करिब २ सय बढि कर्मचारी रहेका छन् ।    पाइदैन धुम्रपान र मध्यपानजन्य पदार्थ  स्वाद र स्वास्थ्य’ भन्ने नारासहित सञ्चालनमा रहेको हट एण्ड स्पाइसी रेटुरेष्टमा मध्यपान जन्य र धुम्रपानजन्य पदार्थको विक्रि नगरिने सञ्चालक ज्ञान गुरुङले बताए ।   उनले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरि मध्यपान र धुम्रपान विक्रिमा प्रतिबन्ध लगाएको प्रष्ट पारे । ‘हाम्रो लक्ष्य नै स्वाद र स्वास्थ्य हो । उनले भने, ‘त्यसैले ग्राहकको स्वास्थ्यलाई ख्याल गर्दै हानिकार चिजबस्तुहरु विक्रि गर्दैनौं । मध्यपान र धुम्रपानको सेवाबाट हामी विल्कुल टाढा छौं ।’   उनले हट एण्ड स्पाइसीमा स्वास्थ्यबर्दक खाजाहरु प्रदान गर्दै आएकै कारण फरक पहिचान बनेको धारणा राखेका थिए ।     

  काठमाण्डौँ :      प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।      आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानिकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।       उहाँले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गर्नुभयो ।       अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।       कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको शेयरबजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो ।    शेयरबजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उहाँले शेयरबजारको स्थायित्व कायम गर्न, शेयरबजारमाथि विश्वास कायम गर्न अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले केकस्ता काम गरिरहेका छन् भनी प्रश्न गर्नुभयो ।       साथै उहाँले साना  लगानीको संरक्षणका लागि भइरहेका कामहरुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । नेता थापाले भन्नुभयो, “विसं२०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार १९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार ९९९ मा झरेको छ । यसले शेयरबजारको विश्वसनियतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्नेगरी थला पारेको छ । अस्थिर नीतिका कारण लगानी बजार धराशयी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।” ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु पाँच करोड ८८ लाख तीन हजार ७०० मूल्य बराबरको पाँच लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।      आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, ३, ४ र ६ वडाका स्थानीय बासिन्दाले यही असार १५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।       कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा पर्ने सार्दीखोलामा चार मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।      लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै, एनएमबी बैंकको हेम्जा शाखा, प्राइम कमर्सियल बैंकको लामाचौर शाखा र पोखरा फाइनान्सको लाहाचोकस्थित कार्यालयका साथै कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौँबाट समेत आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एपी  बिबी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

काठमाण्डौँ :     आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।      कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल जारी पूँजी (दुई लाख सात हजार कित्ता)को । ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्कासित शेयरको पाँच प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६५१ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।       सर्वसाधारणले असार ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।       नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ । 

  पोखरा:      सरकारले ल्याएको भूमिको खण्डिकरण सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरु तत्काल कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुग्दा पर्यटन लगायत अन्य क्षेत्र समेत मारमा परेको भन्दै यसलाई तत्काल सच्याउन वा नयाँ विकल्प दिन होटल सम्बद्ध दुई संस्थाले माग गरेका छन् ।   होटल संघ नेपाल (हान) गण्डकी र होटल संघ पोखरा, नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले भुउपयोग नियमावली २०७९ कार्यान्वयनमा ल्याउँदै कृषि र गैर कृषि क्षेत्रका रुपमा वर्गिकरण नगरिएको जग्गा रोक्का नगर्न मालपोत कार्यालयलाई परिपत्र गरे बमोजिम बैंकहरुबाट हुने कर्जा लगानी अहिले ठप्प जस्तो हुन पुगेको छ । यस्तो व्यवस्थाले जग्गा धितो राखी होटल निर्माण गर्न, त्यसका लागि कर्जा लिन र बैंकको ब्याज तिर्न समेत असंभव जस्तै हुने संघका गण्डकी अध्यक्ष हरि शर्मा गैह्रे र पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले उल्लेख गरेका छन् ।   जग्गाको वर्गिकरण नभएको र चार किल्ला नखुलेको जग्गा धितोरबन्धक नराख्न मन्त्रालयले राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई जेठ २७ मा निर्देशन दिएका कारण बैंकसँग कर्जा लिने प्रक्रिया नै रोकिन पुगेको विज्ञप्तिमा जनाइएको छ । कुन स्थानीय तहमा कहिलेदेखि भू–उपयोग नीति लागू गर्ने भन्ने सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर तोकेपछि मात्रै टुंगो लाग्ने व्यवस्थाले सिंगो पर्यटन क्षेत्र नै मारमा पर्ने संघको ठहर रहेको छ । स्थानीय तहले ऐन र नियमावलीले तोकेको मापदण्ड अनुसार जग्गा वर्गिकरण गरुञ्जेल लामो समय प्रतिक्षा गर्नुपर्ने अवस्थाले पर्यटनमा लगानी र निर्माणको वातावरण नै खल्बलिन गई पर्यटन क्षेत्र मात्र मारमा नपरी अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने संघले जनाएको छ । बैंकले धितोको रुपमा स्वीकारेको जग्गा रोक्का र कित्ताकाट नहुने भएपछि अन्य क्षेत्रमा समेत लगानी, निर्माण र विकासको वातावरणमा धक्का पुग्ने जनाइएको छ ।   भूउपयोग ऐन २०७६ कार्यान्वयनका लागि जग्गाको खण्डिकरण र कृषियोग्य जमीनमा बस्ती विकास रोक्ने गरी यो नियमावली जेठ २३ को मिति राखी राजपत्रमा प्रकाशित भएको छ । नियमावली अनुसार एउटा उद्धेश्यमा वर्गिकरण गरिएको जग्गा अर्को उद्धेश्यका लागि प्रयोग गर्न पाइने छैन । भूबनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आबश्यकताका आधारमा जग्गालाई विभिन्न १० बर्गमा विभाजन गर्नुपर्ने व्यवस्था ऐनमा छ ।  

काठमाण्डौँ :    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक डेढ वर्ष पहिलेको अवस्थामा आइपुगेको छ । मङ्गलबार भएको कारोबारपछि नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लेको हो ।      नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.०८ अङ्कले ओरालो लागेर एक हजार ९९६.२५ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४८ अङ्कले ओरालो लागेर ३८३.५१ मा ओर्लिएको छ । कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर रु एक अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ मूल्यमा खरिद बिक्री भए ।     नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको नै शेयर मूल्यमा गिरावट भएको छ । नेप्सेका अनुसार बैंकिङ १२.४६, व्यापार ५२.९९, होटल तथा पर्यटन ४६.६३, विकास बैंक ७६.८२, जलविद्युत् ६६.३८, वित्त ३१.४६, निर्जीवन बीमा २४२.७३, उत्पादन ६७.६३, अन्य ५१.८१, लघुवित्त ७७.२, जीवन बीमा १८६.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.०८ अङ्कले ओरालो लागेको छ ।      नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ६७ लाख १८ हजार १९३ बराबरको कारोबार भयो । एनसिसी बैंक रु तीन करोड ७९ लाख ७७ हजार ११४, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ३३ लाख ५९ हजार ३३८, नबिल बैंक रु तीन करोड २० लाख १३ हजार र उपकार लघुवित्त रु दुई करोड ८७ लाख ६० हजार १९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।      नेप्सेका अनुसार, आधिखोला लघुवित्त ८.१८, एनएमबी (५०)४ .१०, माउण्टेन हाइड्रो नेपाल ३.७२, युनिलिभर नेपाल १.९९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले १.९२ प्रतिशतले कमाए ।       त्यस्तै, हिमालयन पावर पार्टनर ९.९९, बलेफी हाइड्रोपावर ८.१५, सगरमाथा इन्स्योरेन्स ६.५१, ग्रीन भेञ्चर्स लिमिटेड ६.२४ र गणपति लघुवित्तका लगानीकर्ताले ६.२४ प्रतिशतले गुमाए । 

इलाम:  पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।   कम्पनीले आगामी असार ८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो ।   कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडाबाहेक इलाम जिल्लाका बासिन्दाले आगामी असार २२ गतेसम्म चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।   सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन ५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि पुनः आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।   कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ मा पर्ने पुवा खोलामा चार दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।   साथै नेपाल बङ्गलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरनपी–बिबी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

श्रीमान् गोकर्ण क्षेत्रीको ४३ औं जन्मदिनमा निर्मला क्षेत्रीले अनौठो तर लाभदायक उपहार दिएकी छिन् ।    पोखरा – १७ निवासी निर्मला क्षेत्रीले गोकर्णलाई २० लाख १० हजार रुपैयाँको जीवन बीमा गरिदिएकी हुन् । बीमाको उक्त रकम किस्ताबन्दीमा तिर्दै जाने निर्मलाले जानकारी दिइन् ।    उपहारस्वरुपको बीमा पोलिसी महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘जीवन बीमा योजना’ अन्तरगत पर्दछ । निर्मला स्वयं इन्स्योरेन्सकी अभिकर्ता हुन् ।    उपहारस्वरुप बीमा पोलिसी पाएपछि गोकर्णले भने ‘जन्मदिनका केही फरक र अनौठो उपहार पाए, त्यो भन्दा बढी यो मायालु उपहार हो, श्रीमतीलाई धन्यवाद !’   उपहार प्रदान कार्यक्रममा बिमा कम्पनीका क्षेत्रिय प्रबन्धक अखिल धमला र अभिकर्ता रामप्रसाद खतिवडाले आधुनिक जीवनमा बीमाको महत्वबारे प्रकाश पार्दै फजुल र अनावश्यक खर्चमा कटौती गरी बीमामा जोड दिन आग्रह गरे । 

गण्डकी: गण्डकी प्रदेश सरकारले आगामी १ गते आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दैछ । तर सरकारकै घटक जनता समाजवादी पार्टी (जसपा)ले भने त्यसको विरोध गरिरहेको छ ।    उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहेका जसपाका नेता हरिशरण आचार्यले आज संसदीय कार्यालयको कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आगामी बजेट ढोकाबाट नभई झ्यालबाट आउन लागेको कटाक्ष गरेका छन् ।    अघिल्लो वर्ष अर्थात् चालू बजेटमा १२ दशमलब ६ प्रतिशत छुट्याइएपनि आगामी बजेटमा मन्त्रालयलाई ६ दशमलब ३ प्रतिशतमात्रै बजेट छुट्याउन लागेको सूचना पाएको भन्दै उनले विरोध गरेका हुन् । मन्त्री आचार्यले भने ‘यो बजेट गैरकानूनी तवरमा आउँदैछ, ढोकाबाट आउनुपर्ने बजेट झ्यालबाट आउन लागेकोमा हाम्रो आपत्ति हो ।    सरकारले बजेट विनियोजन गर्ने छलफलमा एकाधिकार जमाएको प्रति उनले रोष प्रकट गरेको छ । त्यसो त बजेटको नीति तथा कार्यक्रमबारे आयोजित कार्यक्रमलाई जसपाले बहिष्कार गरेको थियो । उक्त बहिष्कारलाई जसपाले ‘भद्र अवज्ञा’को नाम दिएको छ ।    मन्त्री आचार्यले गण्डकीको चालू बजेट ३० अर्ब रुपैयाँ रहेको र अब अनुमानित ३६ अर्ब रुपैयाँको बजेट आउन लागेको जानकारी दिँदै रकम बढेपनि मन्त्रालयलाई झन् कम बजेट दिन लागिएको जनाए ।    उनका अनुसार हाल आउने बजेटमा झण्डै आधा प्रतिशत कममात्र मन्त्रालयले पाउनेछ । ‘पहिले भन्दा अहिले योजनाहरु बढेका छन्’ आचार्यले भने ‘अबको कार्यक्रममा करिब १ हजार ८६० योजना छन्, जसलाई २० लाख रुपैयाँकादरले बजेट विनियोजन गर्दा पनि ३ अर्ब ७२ करोड रुपैयाँ छुट्याउनुपर्ने हुन्छ ।’   तर आगामी बजेटमा मन्त्रालयलाई बढीमा २ अर्ब रुपैयाँमात्र विनियोजन हुने सूचना पाएको आचार्यको दाबी छ ।    यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २ अर्ब रुपैयाँ आफैसँग राख्ने हिसाबले बजेटको बाँडफाँड गर्न लागेको भन्दै यस बजेटलाई उनले 'लाजमर्दाे र नौटंकी'को संज्ञा दिएका छन् ।    ‘प्रदेश सरकारले आगामी बजेटलाई गलत ढंगले प्रस्तुत गर्न लागेको छ, मुख्यमन्त्रीले बजेटको खिल्ली उडाउँदैछन्’ आचार्यले भने ।    यसैबीच, सरकारमा रहेर सरकारकै विरोध गरिएकोबारे प्रश्न सोध्दा उनले जसपा जनताको पार्टी भएको र जनताको आवाज सँधै उठाइरहने जवाफ फर्काए । उनले जबर्जस्ती बजेट ल्याए कार्यान्वयन तहमा अवरोध गर्ने समेत स्पष्ट पारेका छन् ।   मुख्यमन्त्री र अर्थमन्त्रीको हालिमुहालीविरुद्ध केही सांसदले राजीनामा दिएको दाबी गर्दै आचार्यले जसपा पनि सरकारमा बसिरहन नचाहेको उल्लेख गरे ।    उनले भनेका छन् ‘नीति तथा कार्यक्रममा मुख्यमन्त्रीले बिरालो बाँधेर श्राद्ध गरेका छन् ।’