पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत भएका छन् । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कारबाट आज (शुक्रबार) नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठ पुरस्कृत भएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुड, पुरस्कार दाता कर्मकुमारी गुरुड, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु तथा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले नगद राशी रु १० हजार, फेटा, भाङ्ग्रा र सम्मानपत्र अर्पण गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि मन बहादुर गुरुङले पुरस्कृत श्रेष्ठलाई बधाई ज्ञापनसहित स्वच्छ पत्रकारितामा अग्रसर हुनुपर्ने धारणा राखेका थिए । पुरस्कृत श्रेष्ठ एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका बरिष्ठ प्रस्तोताका रुपमा कार्यरत छन् । उनलाई पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले सिफारिस गरेको थियो । यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् । सो पुरस्कार अर्पण कार्यक्रमकै अवसरमा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गरिएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले भानु जयन्तीका अवसरमा भोलि (शुक्रबार) बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, भनिएको छ ।
पाेखरा: बिहान ८ बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए । कार्यालयमा अघिपछि जस्तो भीडभाड थिएन । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिइरहेका थिए । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा सोमबार बिहान पुग्दा देखिएको दृश्य हो यो । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत महिनादेखि बिहानी सेवा सुरु गरेको थियो । अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १० बजेअघि नै सेवा लिइसक्छन् । घन्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ । ‘लाइसेन्स’को राजस्व तिर्न पुग्नुभएका पोखरा–१० अमरसिंहका विकल क्षेत्रीले १५ मिनेटजति लाममा उभिनुपरेको सुनाए । 'पहिले यही काममा लागि बिहान १० देखि ३ बजेसम्म कुर्नुपरेको थियो', उनले भने, 'अहिले धेरै सहज भएको छ, लाममा धेरै उभिनुपर्दैन ।' पोखरा–२७ लेखनाथका सुरज चापागाईँ पनि बिहानै कार्यालयलको सेवा पाउँदा मख्ख देखिए । गाडीको ‘लाइसेन्स’का लागि स्वास्थ्य परीक्षणको प्रमाणीकरण लिने झ्यालमा उनी एक्लै थिए । 'बिहान यताको काम सकेर दिउँसो आफ्नो काममा जान पाइयो, यातायात कार्यालयको सेवा अहिले धेरै सहज बनेको छ', उनले भने, 'लाइन्सेन्सको राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएपछि अब झन् छिटोछरितो हुन्छ ।' कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले राजस्व बुझाउनेदेखि लाइसेन्सको प्रयोगात्मक परीक्षा ‘ट्रायल’सम्मका सेवा बिहानैदेखि सुरु हुने बताए । '८ बजे नै कर्मचारी सेवामा जुटिसक्छौँ, कार्यालय खुल्दा बाहिर सेवाग्राहीको चहलपहल बढिसक्छ', उनले भने, 'पहिले १० बजे कार्यालय खुल्दा १२ बजेसम्म सेवाग्राहीको धेरै चाप हुन्थ्यो, अहिले १० बजे नै त्यो कम भइसक्छ ।' दश बजे एकैसाथ सेवाग्राही आउँदा कार्यालयलाई लाम व्यवस्थापन गर्नै कठिन हुने अवस्था थियो । यसै पनि यातायात कार्यालय सेवाग्राहीको बढी चाप हुने ठाउँ हो । कार्यालय प्रमुख जीतेन्द्रजङ्ग केसीले बिहानी सेवासँगै हालै सुरु भएको अनलाइन भुक्तानीले सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउने उल्लेख गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत बिहीबार देशमै पहिलोपटक यसै कार्यालयबाट उक्त सेवाको शुभारम्भ गरेको थियो । 'अनलाइन भुक्तानी सेवा सुरु भइसकेको छ, नयाँ प्रणाली भएकाले हामी अभ्यस्त हुन केही समय लाग्ला, तर यसले सेवाग्राहीलाई ठूलो टेवा मिल्छ, कार्यालयमा हुने भीड घटाउन पनि मद्दत पुग्छ', प्रमुख केसीले भने, 'लाइसेन्स बनाउन, नवीकरण गर्न कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य हुँदैछ, छिट्टै सवारी दर्ता र नवीकरणमा पनि विद्युतीय भुक्तानी सेवा सुरु गर्ने तयारी छ ।' कार्यालयले लाइसेन्स परीक्षाका लागि गाडी र मोटरसाइकलको गरेर दैनिक पाँच सय १९ कोटा तोकेको छ । लाइसेन्सको परीक्षाबाहेक दैनिक सयौँ सेवाग्राहीले बायोमेट्रिक, लाइसेन्स नवीकरण, वर्ग थप, स्वास्थ्य परीक्षणको प्रमाणीकरण, राजस्व भुक्तानीलगायत सेवा लिन्छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयको अनलाइन सेवालाई थप व्यवस्थित गर्दै लगिने बताए । उनले कार्यालयमा हुने सेवाग्राहीको चाप व्यवस्थापन गर्न र छिटोछरितो सेवा दिन सबैखाले उपाय अपनाइने उल्लेख गरे । कास्कीसहित बागलुङ, तनहुँ र नवलपुरमा यातायात व्यवस्था कार्यालय छन् । मुख्यगरी प्रदेश राजधानीमा रहेको कास्की कार्यालयमा सेवाग्राहीको बढी चाप हुने गर्छ । यातायात कार्यालयबाट हुने सेवा प्रवाहलाई लिएर जनस्तरबाट पनि बेलाबेला आलोचना हुने गरेको थियो । बिचौलियाको चलखेलदेखि सेवा प्रवाहमा हुने ढिलासुस्तीले उक्त कार्यालयको छविमाथि पनि प्रश्न उठाउने गरिन्थ्यो । मन्त्रालयका प्रवक्ता पौडेलले यातायात कार्यालयको छवि सुधार्ने गरी व्यवस्थापकीय सुधारदेखि सेवामा स्तरीकरणको पहल थालिएको बताए । उनका अनुसार बागलुङ कार्यालयबाट पनि छिट्टै चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदैछ । 'लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले ११ वर्षदेखि चार पाङ्ग्रेको ट्रायल हुन सकिरहेको थिएन, अब त्यो छिट्टै सुरु हुन्छ, मन्त्रालयले पनि यसमा विशेष चासो र पहल लिइरहेको छ', उनले भने, 'बागलुङमा परीक्षा सञ्चालन हुँदा कास्की कार्यालयमा देखिएको चाप पनि केही घट्छ ।' बागलुङ कार्यालयले धवलागिरि क्षेत्रका बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङलाई सेवा दिँदै आएको छ । लाइसेन्सको अनलाइन भुक्तानी सेवा पनि कास्कीसहित चारै जिल्लाका कार्यालयमा विस्तार गर्ने मन्त्रालयको योजना छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलेले विद्युतीय सेवामा कास्की कार्यालय देशमै अगाडि रहेको बताए । 'कार्यालयका सबै ढड्डालाई अनलाइनमा राख्नेदेखि अनलाइन राजस्व भुक्तानीसम्मको सुरु यहीँबाट भएको छ', उनले भने, 'अनलाइन सेवा प्रभावकारी बनाउन सकियो भने यातायात कार्यालयप्रति लाग्ने गरेको आरोपको पनि आफैँ अन्त्य हुन्छ ।' मन्त्री जुग्जालीले यातायातसम्बन्धी सेवाका लागि कार्यालय धाइरहन नपर्ने स्थितिको सिर्जनाका लागि आफूहरू लागिपरेको बताए । 'बिहानैदेखि कार्यालयको सेवा दिँदा पनि भीडभाड कम भएको छ, सेवामा सहजता थपिएको छ, सेवाग्राही सन्तुष्ट नै रहेको हामीले पाएका छौँ', उनले भने, 'हाम्रो जोड अनलाइन सेवामै छ, यसले बिचौलियाको पनि अन्त्य गर्छ ।'
पोखरा: पोखरा महानगरपालिका १० स्थित अमरसिंहमा ‘अमर पोलिक्लिनिक’ सञ्चालनमा आएको छ । डा. सुस्मित काफ्ले, डा. मनिष किरण श्रेष्ठ (पोखराको एकमात्र इन्टरभेन्सन रेडियोजोलिस्ट) डा. हरिकृष्ण भण्डारी, मिलन बहादुर अधिकारी र डा. मदन थापाको सँयुक्त लगानीमा आजदेखि पोलिक्लिक सञ्चालनमा ल्याइएको हो । सो पोलिक्निकको उद्घाटन पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष गुरुङले व्यवसायिक सफलताको कामना गरे । उनले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम थपेको धारणा राखेका थिए । यस्तै डा. बुद्धि बहादुर थापाले स्वास्थ्यको क्षेत्रमा नवीनतम तरिकाले सेवा प्रदान गर्नुपर्ने बताए । आजदेखि सञ्चालनमा आएको पोलिक्निकमा अब्जर्भेसन रुम, ओपिडी सेवा (सबै विभाग), भिडियो एक्सरे, एक्सरे (बिआर), मुटुको भिडियो एक्सरे, इसिजी, गुणस्तरीय ल्याब सेवा, फार्मेसी सेवाको व्यवस्था रहेको छ । पोलिक्निकका सञ्चालक तथा डा. सुस्मित काफ्लेका अनुसार सबै विभागको विशेषज्ञ तथा चिकित्सकको व्यवस्था रहेको छ ।
विराटनगर: नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।
विराटनगर: नेपाली कांग्रेसका उद्धव थापाले कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले बिहीबार अपरान्ह प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका हुन्। केन्द्रको सत्तारूढ गठबन्धनमा पनि प्रदेश सभाका रहेका दलहरूले सभामुख बाबुराम गौतमको पनि नाम समावेश गरेर बहुमत दाबी गरेका हुन्। प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार साँझ पाँच बजेसम्मको समय दिएका थिए।
विराटनगर: कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय आज साँझ ५ बजे सकिँदैछ । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ति गर्न केन्द्रीय गठबन्धनमा रहेका दलले अपरान्ह मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी थालेका हुन् । भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन दलको बैठकले मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न प्रदेशका नेतालाई निर्देशन दिएको छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजै मुख्यमन्त्रीको दाबी लिएर प्रदेश प्रमुखसमक्ष पेश हुने बताउनुभयो । कोशी प्रदेशसभाको गणित नयाँ सरकार गठन गर्न त्यति सहज भने छैन । सरकार गठनको तयारी गरिरहेको विपक्षी गठबन्धनसँग ४७ सांसद हुनुहुन्छ । तर, उक्त सङ्ख्या प्रदेशसभाका सभामुखसहितको सङ्ख्या हो । दलबाट अलग भइसक्नुभएका सभामुखको सङ्ख्या देखाएर नयाँ सरकार गठन गर्न नमिल्ने तर्क सत्तारुढ दल नेकपा (एमाले) ले दाबी गर्दैआएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैगर्दा गणितका कारण अर्को सरकार गठन भइहाल्ने अवस्था नरहेको जिकिर गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘प्रदेशमा तत्कालै अर्को सरकार बन्ने अवस्था छैन ।’ आज बालुवाटारमा भएको गठबन्धन दलको बैठकमा पनि यस विषयमा छलफल भएको छ । कांग्रेसले संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्न र विश्वासको मतका लागि संयुक्त पहल गर्नुपर्ने प्रस्ताव गरेको छ । मुख्यमन्त्रीमा दाबी गर्दै आउनुभएका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पनि उक्त बैठकमा बोलाएर नेताहरुले सहयोग गर्न आग्रह गर्नुभएको छ । ‘नेताहरुले सरकार गठनका लागि सहयोग गर्नुस् भन्नुभयो’ आङ्बोले भन्नुभयो, ‘गठबन्धनको निर्णयअनुसार अघि बढ्नु मेरो कर्तव्य हो, त्यसमा कुनै शङ्का गर्नुपर्दैन ।’ आज (बिहीबार) अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्ने तयारी छ । प्रदेश प्रमुखका प्रेस सल्लाहकार देवेन्द्र खापुङले आज नै अन्तिम दिन भएकाले समय नलिए पनि अन्तिम समयभित्र दाबी आउन सक्ने बताउनुभयो । माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्त भएपछि सम्भवतः शुक्रबार मन्त्रिपरिषद् गठनका विषयमा दलबीच छलफल हुने जानकारी दिनुभयो । अहिलेसम्म कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकार गठन गर्न सहयोग गर्न तयार भइसकेका छन् । तर जनता समाजवादी तत्कालै सरकारमा सहभागी हुने सम्भावना भने देखिएको छैन । जसपा संसदीय दलका नेता निर्मला तावा लिम्बूले सरकारलाई समर्थन गर्ने तर मन्त्रिपरिषदमा सहभागी हुनका लागि भने प्रदेश नामकरणको विषयमा पार्टीले अगाडि सारेको सर्तका विषयमा छलफल हुनुपर्ने बताउनुभयो । जसपाले प्रदेश पुनः नामकरणका लागि गठबन्धन दलभित्र सहमति बन्नुपर्ने सर्त अगाडि सारेको छ । कोशी प्रदेशसभाका ९३ सदस्यमध्ये ठूलो दल एमालेका ४० सांसद छन् । सुरुदेखि नै एमाले नेतृत्वको सरकारलाई समर्थन गर्दैआएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अहिलेसम्म नयाँ सरकार गठनका लागि तयार भइसकेको छैन । सत्ता गठबन्धन दल कांग्रेससँग २९, माओवादी केन्द्रको १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीका १ सांसद हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च लिन्न भनेर पनि अहिले लिन खोजेपछि अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश सांकेतिक विरोधमा उत्रिएको छ । अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा आज पोखराको नदीपुरस्थित प्रदेशको सभा भवन अगाडी राष्ट्रपतिलाई सहयोग गर्न भन्दै १ रुपैयाँका दरले चन्दा उठाउँदै छन् । उनीहरुले राष्ट्रपतिले सुरुमा उपचार खर्च नलिने बताएपनि हाल पराराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासा गर्न ताकेता गरेपछि पौडेललाई थप सहयोग जुटाइदिन चन्दा उठाउन सुरु गरेको बताए । ‘राष्ट्रपतिज्यूले आफ्नो अडान र बोली फेर्नुभयो’ अनेरास्ववियु गण्डकीका सहसंयोजक सुशन घिमिरेले भने ‘उहाँलाई सहयोग गर्न १ रुपैयाँ उठाएर हामीले व्यंग्यात्मक विरोध गरेका हौं ।’ घिमिरेले देशभित्रै उपचार गर्न लायकको अस्पताल निर्माणमा ध्यान दिन आग्रह गर्दै उपचारकै नाममा राष्ट्रिय ढुकुटीमा आँखा गाड्ने प्रवृत्ति गलत भएको जनाए । विरोधस्वरुप गरिएको कार्यक्रम प्रदेशका सबै जिल्लामा एकसाथ सुरु गरेको उनले बताए । ‘संकलित रकम मुख्यमन्त्रीमार्फत राष्ट्रपतिलाई दिइनेछ’ घिमिरेले भने । राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पेटको उपचार गर्दा ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च भएको भन्दै भर्पाई गरिदिन अर्थमा पत्राचार गरेका छन् । पौडेल बैशाख ६ गते उपचारका लागि दिल्ली गएर बैशाख १७ मा फर्किएका थिए ।