पोखरा: गण्डकी सभाका प्रमुख प्रतिपक्षा दल नेकपा एमाले र राप्रपाले सत्ता गठबन्धनका कार्यकर्ताले सामाजिक सञ्जालमा राखेको वार्षिक कार्यक्रम, त्यही अनुसार नै बजेट आएको भन्दै बैठक अवरोध गरेका छन् । प्रदेश सभाका दुई प्रतिपक्षी दलले मंगलबारको बैठकमा मन्त्रालयगत छलफल सुरु हुनुअघि नै आफ्ना विषय राखेर बैठक अवरोध गरेका हुन् । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आफूहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका असार ८ गते पाएको तर असार ६ गते नै सत्ता गठबन्धनका कार्यकर्ताले योजना र बजेट अंक सामाजिक सञ्जालमा पोष्ट गरेको बताए । ‘हामीले असार ८ गते मात्र वार्षिक विकास कार्यक्रम पुस्तिका पायौं, तर सत्ता गठबन्धनका कार्यकर्ताले असार ६ गते ७ बजे नै सामाजिक सञ्जालमा जे राखेका थिए त्यही अनुसार नै बजेट आएको छ’ प्रमुख सचेतक नेपालीले भने । अनुदानका बजेटमा पालिकाले पठाएका योजनामा प्रदेश सरकारले हेरफेर गरेकोमा पनि एमालेले प्रश्न उठाएको छ । ‘पालिकाको प्राथमिकता छोडेर आफ्नो मनमौजीमा समपूरक र विशेष अनुदानका योजना प्रदेश सरकारले छनोट गरेको छ । यसको जवाफ चाहिन्छ,’ प्रमुख सचेतक नेपालीले भने । अर्थमन्त्रीले आफूहरुको प्रश्नको जवाफ नदिएसम्म संसद चल्न नदिने प्रमुख सचेतक नेपालीले बताए । सभामुखले बैठक सञ्चालनको वातावरण बनाउन पटकपटक आग्रह गरेका थिए । तर, दुई दलका सांसद बस्न नमानेपछि सभामुख कृष्णप्रसाद धितालले बैठक आधा घण्टालाई स्थगित गरेका छन् ।
पोखरा: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गाँजाखेतीको सम्भाव्यता गर्न आवश्यक कानूनी व्यवस्था गर्ने उल्लेख गरे । प्रदेश प्रमुख गुरुङले ‘औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक कानूनी व्यवस्था गरिनेछ ।’ गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कृषि तथा भूमी व्यवस्था मन्त्रालयले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि ७ लाख रुपैयाँ बजेट बिनियोजित गरेको हो । आगामी आर्थिक वर्षदेखि औषधिजन्य प्रयोजनका लागि गाँजाखेती गर्न पाइने गरी कार्यविधि ल्याउन केन्द्रीय सरकारसँगै प्रदेशकारले नीति तथा कार्यक्रममा समेत्दै आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाजाँखेतीका सम्भाव्यता अध्ययन गर्न बजेट नै छुट्टयाइएको प्रदेश सरकारले जनाएको छ । गाँजाखेतीमा प्रतिबन्ध छिटोभन्दा छिटो फुकुवा गरी किसानलाई खेती गर्ने अवसर दिनुपर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने भन्दै सांसद र अधिकारकर्मीहरुले माग गर्दै आएका छन् । सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसंघको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग’ पारित भएपछि गाँजालाई लागूऔषध मान्दै प्रतिबन्न लगाइएको छ । उक्त अभिसन्धिमा हस्ताक्षर गरेपछि नेपालले सन् १९७६ मा लागूऔषध नियन्त्रणसम्बन्धी कानुन नै बनायो । पाँचपटक संशोधन भइसकेको ऐनले गाँजाखेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय मानेको छ ।
रुकुम पश्चिम: कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते भएका छन्। शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ घारीपाखानेर उहाँ चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा खड्काको बायाँ खुट्टामा चोट लागेको उनका स्वकीय सचिव हुकुम बिसीले जानकारी दिए। दुर्घटनामा परेर चौरजहारी नगरपालिका–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरीसहित गाडीमा सवार नौ जना घाइते छन् प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरू सबैको अवस्था सामान्य रहेको छ। आइतबार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागी हुन त्यसतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो। गाडीको स्टेरिङ अकस्मात् घुमेपछि गाडी अनियन्त्रित भएर पल्टिएको चालक गिरीको प्रतिक्रिया छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ पठाएको छ।
पोखरा: गण्डकी प्रदेश सरकारले विपदबाट हुने जनधनको क्षति न्यूनिकरण गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । वेन मेटी (खाना तातो बनाउने मेसिन) मोटरबोट र बिभिन्नि किसिमका उद्धार सामग्री गरी करिव ५२ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । सामग्री सुरक्षा निकायले आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा पठाउने छन् । गण्डकी प्रदेश सरकारले विपद्मा परेकाहरुको उद्धार, खोज र राहतका लागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ । प्रदेश सरकारले पनि विपद् कोष सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपदबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिए । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले भने ‘हामीले सर्वसाधारण नागरिकको सेवा सधैं गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ । जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी हामीले काम गर्नुपर्छ ।’ प्रदेश सरकारसँग भएको साधन, स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उनले अनुरोध गरे । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राखेको र हरेक स्थानीय तह, संघ संस्था, निजी क्षेत्र लगायत सबैको दायित्वभित्र विपद् व्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताए । मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षति न्यूनीकरणसँगै अन्य घटनामा संवेदनशलि भएर अघि बढ्न प्रदेश सरकारले उच्च शर्तकता अपनाएको उनले बताए ।
पोखरा: गण्डकी प्रदेश सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ । क्यान्सर सचेतनाका लागि सद्भावना दूत समेत रहनुभएका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो प्रतिबद्धता गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा प्रदेशका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ह्युमन प्यापिलोमा भाइरस (एचपीभी खोप) निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो । गण्डकी प्रदेश सरकारले गत शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पुर्याउन भन्दै पाँच करोड विनियोजन गरेको छ । मुख्य मन्त्री पाण्डेले डा। शाहीसँग रोक्न सकिने नसर्ने रोगका लागि राज्यले हरसम्भव प्रयास गर्ने, महिला तथा किशोरीहरिलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउन सके भविष्यमा यो रोगको जोखिम कम हुने आफूले बुझेको भन्दै प्रदेश सरकार यी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढेको बताउनुभएको थियो । सरकारले एचपीभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई निःशुल्क रूपमा लगाउने लक्ष लिएको छ ।
पोखरा: गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ । बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरीमा सौर्य उर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताउनुभयो । क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको मर्मतसम्भार तथा निर्माण गरी लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न रु एक करोड ७५ लाख विनियोजन गरिएको छ । प्रदेशभित्र वायु ऊर्जा र फ्लोटिङ सोलारबाट ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन कार्य प्रारम्भ गरिने उल्लेख गर्दै उहाँले एलपी ग्यासलाई प्रतिस्थापन गरी विद्युतीय चुलो प्रयोगकर्ताको सङ्ख्या अभिवृद्धि गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सार्वजनिक कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, शिक्षण संस्थामा नियमित विद्युत् उपलब्ध गराउने उद्देश्यले संस्थागत सौर्य ऊर्जा जडान कार्यलाई निरन्तरता दिइएको छ । उच्च हिमाली भेगका बर्थिङ सेन्टर सञ्चालित स्वास्थ्यचौकीमा कम्तीमा एउटा कोठालाई तताउने गरी सौर्य ऊर्जा प्रविधि जडान कार्य सुरु गर्न संस्थागत सौर्य ऊर्जा प्रविधि जडान कार्यक्रम सञ्चालन गरिने र त्यसका लागि रु एक करोड विनियोजन गरिएको सरकारले जनाएको छ । प्रदेशभित्र सञ्चालित लिफ्ट खानेपानी र लिफ्ट सिँचाइ आयोजनामा शतप्रतिशतसम्म विद्युत् महसुलमा अनुदान व्यवस्था मिलाइएको र त्यसका लागि रु पाँच करोड विनियोजन गरिएको मन्त्री आलेले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य प्रकाश बहादुर केसीले गाँजाबाट बन्ने औषधि उत्पादनदेखि निर्यातसम्मको वातावरण निर्माण गर्नेबारे प्रदेश सरकारमा प्रश्न उठाएका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको बजेट छलफलको क्रममा सांसद केसीले उक्त प्रश्न गरेका हुन् । ‘प्रदेश सरकारले नीति तथा कार्यक्रमदेखि बजेटसम्म गाँजाको औषधिजन्य प्रयोगका लागि अध्ययन गर्ने भनेको छ’ सांसद केसीले प्रश्न गरे, ‘गाँजाको व्यवसायिक खेती र घरेलु मदिरालाई ब्राण्डिङ गर्नेबारे प्रदेश सरकारसँग योजना के छ ?’ ‘प्रदेश सरकारले घरेलु मदिराको गुणस्तर वृद्धि र ब्राण्डिङको विषय समेटेको छ । गाँजाबाट बन्ने औषधि उत्पादनदेखि निर्यातसम्मको वातावरण निर्माण छिटो गरौं,’ उनले थपे । सांसद केसीले विदेशबाट आयात हुने मदिराको बजारको हिस्सा ठूलो रहँदा नेपाली उत्पादन भनेर हामीले घरेलु मदिरा बेच्न नसकेकोमा दुखेसो पोखे । उनले फरक प्रसंगमा प्रदेश सरकारले विश्वविद्यालयको ९ करोडको बजेट कटौटी गरेको भन्दै संस्थाको शैक्षिक, भौतिक विकासमा मलजल गर्न प्रदेश सरकार किन अघि नबढेको होला ? भन्ने जिज्ञासा राखे । ‘विश्वविद्यालयको अधुरा काम पूरा हुन्छ हुँदैन भनेर यो निर्णय गरिएको हो रु,’ केसीले प्रश्न गरे । उनले प्रदेश सभाको भवन साँघुरो भएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।
पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटीको ११ औ पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले कास्की इन्चार्ज थममाया थापाको प्रमुख आतिथ्यता आज बैठक सम्पन्न भएको हो । कमिटी बैठकले कार्यकर्ताले पालना गर्नुपर्ने २२ बुँदे आचार संहिता पास गरेको कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । उनका अनुसार मदन भण्डारीको जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल क्षेत्रमा कम्तीमा २ वटा विरुवा रोप्ने, नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने, असार १४ गते मदन जयन्तीको दिनमा विशेष कार्यक्रम सन्चालन गर्ने, विभागहरुलाई पूर्णता दिनुका साथै वडा कमिटीका इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेतको निर्णय गरेको छ । बैठकमा नेकपा एमालेका कास्की इन्चार्ज थममाया थापा ,महानगर इन्चार्ज कृष्ण थापा ,जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीले मार्गनिर्देशन गरेका थिए ।
बझाङ: बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिए । उनलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएको थियो । दुर्घटनामा मन्त्री सिंह, उनकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।