ढोरपाटन: बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए । एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । विसं २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ । नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो । यही चैत १ गते मेसिनले करिब एक सय ७० मिटर जमिन खोदेर पानी निकालेको हो । यही चैत ९ गतेदेखि नियमित रुपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिनुभयो । “गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ”, अध्यक्ष थापाले भन्नुभयो । नगरपालिकाको रु २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको रु तीन लाखको लागतमा पानी निकालिएको हो । “सिङ्गो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए”, उहाँले बिगतको समस्या बताउनुभयो । स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाउनुभयो । खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उहाँले बताउनुभयो । स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताउनुभयो । जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उहाँले बताउनुभयो ।
पर्सा: चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा रु एक खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताउनुभयो । “अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ”, उहाँले भन्नुभयो । कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट रु ५० अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ४४ अर्ब ८० करोड राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा रु ६१ अर्ब ४५ करोड बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट रु २७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो । यस्तै, चालु आवको आठ महिनामा रु २५ अर्ब ३० करोड मूल्यको दुई लाख ९० हजार तीन सय ८२ किलोलिटर पेट्रोल आयात हुँदा रु १६ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको छ । चालु आवको आठ महिनामा रु २४ अर्ब पाँच करोड मूल्य बराबरको २१ करोड ४२ हजार सात सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको छ । गत आवको आठ महिनामा भने रु १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङले आफ्ना सदस्यसहित जिल्लाभर क्रियाशील पत्रकार÷सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ । महासङ्घले बागलुङ नगरपालिका, २ नं. वडा कार्यालय र नेको बीमा कम्पनीसँगको सहकार्यमा पत्रकारको दुर्घटना बीमा गराएको हो । प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको दुर्घटना बीमा बापत उपचार खर्च पाउने गरी बीमा गराइएको महासङ्घ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिनुभयो । कार्यस्थलमा खटिने पत्रकाररसञ्चारकर्मी र सञ्चारमाध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको उहाँले बताउनुभयो । बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले कार्यस्थलमा खटिने पत्रकारको सम्भावित जोखिमलाई दृष्टिगत गरी वडा कार्यालयले बीमा कार्यक्रममा सहयोग गरेको बताउनुभयो । उहाँले आगामी वर्षहरूमा पनि पत्रकारहरूको दुर्घटना बीमाका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “रातदिन नभनी फिल्डमा खटिएका पत्रकारहरुको जोखिम कम गर्ने र केही भएमा तत्काल उपचार गराउन सकिने गरी बीमा गरिएको हो”, वडाध्यक्ष बोसेलले भन्नुभयो, “यसबाट अन्यत्रका जनप्रतिनिधि, स्थानीय सरकारसमेतले आम नागरिक र पेशागत क्षेत्रका व्यक्तिको स्वास्थ्य र सुरक्षामा ध्यान दिन सन्देश जानेछ”, उहाँले भन्नुभयो । पहिलो चरणमा दुई वर्षका लागि उक्त बीमा गरिएको हो । आइतबार महासङ्घ अध्यक्ष थापा, वडाध्यक्ष, बोसेल र नेको बीमा कम्पनीका शाखा प्रबन्धक अन्जिला श्रेष्ठले पत्रकारलाई बीमा ‘पोलिसी’ हस्तान्तरण गरेर बीमा कार्यक्रमको थालनी गरिएको थियो । श्रेष्ठले पत्रकारको बीमाले आम नागरिकलाई पनि सचेत बनाउने बताउनुभयो । गत मङ्सिर २८ गतेको अधिवेशनबाट निर्वाचित महासङ्घ कार्यसमितिको बैठकले पत्रकारको दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो । महासङ्घका सचिव नारायण रिजालले पत्रकारहरूको पारिवारिक स्वास्थ्य बीमाका लागि पनि पहल भइरहेको बताउनुभयो । “पत्रकारहरूको पेशागत हकहित र व्यावसायिक सुरक्षामा महासङ्घ प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “विषयगत तालिमलगायत पत्रकारको दक्षता अभिवृद्धिका कार्यक्रममा हामी केन्द्रित छौँ ।”
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सुरु भएको छ । क्याम्पसमै स्ववियुको मतगणना सुरु भएको हो । आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदानमा २ हजार ८ सय ९७ विद्यार्थी सहभागी भएका थिए । ९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो । अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् । पृथ्वीनारायण क्याम्पसमा २०६५ सालपछि स्ववियु निर्वाचन भएको हो ।
दाङ: घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उहाँले बताउनुभयो । आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् ।
चितवन: नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताउनुभयो । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।” नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताउनुभयो । एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो । नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ ।” बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ । मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो ।
काभ्रेपलाञ्चोक: छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढिपहिरोपीडितले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ । राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । गत असोज १०–१२ मा परेको अविरल वर्षातले पु¥याएको क्षतिका विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् । पोर्टलमा विपद्सम्बन्धी विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समयसीमा भित्र पाँचवटा स्थानीय तहले अझै विवरण उपलब्ध गराएका छैनन् । काभ्रेपलाञ्चोकको १३ मध्ये पाँच स्थानीय तहले विवरण नबुझाएका हुन् । क्षति भएका घरहरुको विवरण सङ्कलन गरी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा सरकारले पीडितहरुलाई रु २५ हजार राहत दिने छ । विपद्को ६ महिनासम्म बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले विवरण सङ्कलन गरी पोर्टलमा दर्ता गरेका छैनन् भने दर्ता भएका विवरणहरु पनि स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट जिल्लास्थित समितिमा बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले पोर्टलमा दर्ता भएका र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका नमोबुद्ध नगरपालिकाका ८२४ घर, बेथानचोक गाउँपालिकाका २३९ घर र महाभारत गाउँपालिकाका १७ घर परिवारका लागि रु २५ हजारका दरले अस्थायी आवासका लागि राहत उपलब्ध गराउन गृह मन्त्रालय अन्र्तगतको विपद् ब्यवस्थापन समितिलाई निकासा माग गरेको छ । निकासा माग गरेको तीन हप्तासम्म पनि मन्त्रालयले अस्थायी आवासका लागि रकम निकासा नगरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा रु दुई करोड ७० लाख अस्थायी आवास निर्माणका लागि निकासा माग गरिएको छ । धुलिखेल नगरले ८६, रोशीले ५४८, चौरीदेउरालीले २८०, खानीखोलाले ५३ र पाँचखालले १२५ घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न सिफारिस गरेको भए पनि स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नगरेकाले मन्त्रालयमा रकम माग गर्न नमिलेको जनाइएको छ । “तीव्र रुपमा वडागतरुपमा प्राप्त विवरण छानविन भइरहेको छ, अब केही दिनमै सक्नेछौँ”, पनौतीका प्रमुख रामशरण भण्डारीले भन्नुभयो । प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटकपटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताउनुभयो । “स्थानीय तहले ढिलाई गर्दा बाढीपहिरोपीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाई भइरहेको हो”, उहाँले भन्नुभयो । समितिको बैठकले सबै विषयगत क्लस्टरहरुलाई पीडितको अपडेट र पूर्वतयारीका कार्यहरु यही फागुन २० गतेभित्र टुङ्ग्याउन निर्देशन दिने निर्णयसमेत गरेको छ । समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो । गत असोजको वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो भने छ जना अझै वेपत्ताको अवस्थामा छन् । कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
म्याग्दी: गण्डकी प्रदेशको चार जिल्लाका पाँच वटा स्थानीय तहमा वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सम्बन्धित स्थानीय तहको साझेदारीमा ‘दायित्व’ संस्थामार्फत उद्यमीको पहिचान गरी उनीहरुको क्षमता विकास, यवसाय स्तरोन्नति र बिक्री तथा बजारीकरणका लागि कार्यक्रम सञ्चालन भएको हो । दायित्व संस्थाका कार्यक्रम अधिकृत जुनतारा रानाले पर्वतको जलजलासँगै नवलपुरको हुप्सेकोट, बागलुङको बडीगाड, गोरखाको गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र तनहुँको म्याग्दे गाउँपालिकामा यो कार्यक्रम लागू भएको राससलाई जानकारी दिनुभयो । “यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई रु ४० लाख पठाएको र सम्बन्धित पालिकाले रु २० लाखका दरले बजेट बिनियोजन गरेका छन्,” उहाँले भन्नुभयो “कृषि, पशुपालन, जडीबुटी, पर्यटन, सेवा र उत्पादनमा आधारित लघु, साना तथा मझौला उद्यमीलाई परियोजनाको कुल लागतमा ५० प्रतिशत साझेदारी गर्छौँ ।” हरेक स्थानीय तहमा ४० जना उद्यमीलाई न्युनतम रु २५ हजारदेखि रु एक लाख ५० हजारसम्म उद्यममा साझेदारी गरिने कार्यक्रम अधिकृत रानाले बताउनुभयो । पहिलो चरणमा कार्यक्रममा आवद्ध हुन इच्छुक उद्यमीबाट आवेदन सङ्कलन गर्न थालिएको छ । तोकिएको मापदण्डअनुसार पहिलो चरणमा ४० जना उद्यमी चयन गर्ने, २० जनालाई रु २५ हजारसम्म उद्यम विकास प्रविधि पुरक साझेदारी, १० जनालाई रु एक लाखसम्म नवप्रवर्द्धन पुरक साझेदारी, तेस्रो चरणमा नौ जनालाई रु ८० हजार र एक जनालाई रु एक लाख ५० हजार बिक्री तथा बजारीकरण प्रविधि पुरक साझेदारी गरिने जलजला गाउँपालिकाको उद्यम अधिकृत भगवती पुनले बताउनुभयो ।
काठमाडौं: अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गर्नुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ९निफ०’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उहाँले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।” त्यसो त उहाँले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गर्नुभयो । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उहाँको बुझाइ छ । उहाँले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गर्नुभयो । “मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो”, अभिनेत्री कोइरालाले भन्नुभयो । कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त ग¥यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गर्नुभएको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गर्नुभएको थियो । भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उहाँले बताउनुभयो । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गर्नुभयो । “मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो”, उहाँले भन्नुभयो । अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताउनुभयो । उहाँले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिनुभयो । महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ ।