काठमाडौं: प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती ९चण्डी० पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ । यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गर्नुभएको थियो । यो पनि पढ्नुहोस रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश लोक साहित्य, संस्कृति र लोक नृत्यको उर्वरभूमि रहेको बताउनुभएको छ । उहाँले समाज रुपान्तरणका लागि गीत सङ्गीत शक्तिशाली रहेको बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा सभागृहमा आज वरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपानेको साङ्गीतिक साँझको शुभारम्भ गर्दै उहाँले नेपालको लोक साहित्यमा गण्डकी प्रदेश र यहाँका कलाकारको योगदानलाई सदैव जीवित राख्नुपर्नेमा जोड दिनुभयो । “गण्डकी प्रदेशले नेपालको लोक साहित्य र सङ्गीतका क्षेत्रमा गरेको योगदानको सन्देश सधैँ दिनुपर्छ । गण्डकी लोक साहित्य र नृत्यको उर्वरभूमि हो, यो अहिले पनि जीवित छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो । गीत गाउने, नाच्ने तथा रमाउनेजस्ता स्वतन्त्रता लोकतन्त्र र गणतन्त्रका कारण सम्भव भएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा मात्र स्वतन्त्रताको उपभोग सम्भव रहने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्रताबिना नेपाली समाज समृद्ध बन्न सक्दैन । मानिस गीत–सङ्गीतले खुसी हुन्छ । गीत–सङ्गीतको अधिकार लोकतन्त्रको कारण सम्भव भएको हो ।” लोकदोहोरी गायक तथा सर्जक न्यौपानेका ‘सरर पानीघट्टामा’, ‘ऐना हेरेर’, ‘रुन्छ नि मन किन रुँदैन’जस्ता दर्जनौँ गीत चर्चित छन् । साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसङ्गीतमा रहनुभएका न्यौपानेका हजार बढी गीत रेकर्डेड छन् ।
बुटवल: बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। उच्च अदालतले यसै प्रकरणका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ। यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने छविलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध परेका निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले रवि र छवि दुवै जनालाई थुनामा पठाउने आदेश गरेको हो। छविलाई थुनामा राखे पनि उस्तै कसुरदार रविलाई धरौटीमा छाडिएको भन्दै सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। उच्च अदालतले सरकारी वकिलको माग बमोजिमको आदेश गरेको हो। रविले भने एक करोड धरौटी चर्को भएको भन्दै साधारण तारेखमा राख्न माग गर्दै उच्चमा निवेदन दिएका थिए। सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।
तनहुँ: तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन् । डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो । प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ । घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । “गाडी साहु र चालकको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो, “कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।”
काठमाडौँ: सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज उज्वेकिस्तान प्रस्थान गरेका छन् । प्रतिनिधिमण्डलमा सांसद श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोविता गौतम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्कराज राईलगायत सहभागी छन् । अन्तरव्यवस्थापिका सङ्घको वार्षिकसभा र असंलग्न सञ्जालको चौथो शिखर सम्मेलन यही चैत २३ देखि २७ गतेसम्म उज्वेकिस्तानको राजधानी ताश्केन्टमा हुँदैछ । सङ्घको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्ने तथा सांसद घिमिरे र तामाङ सङ्घका स्थायी समितिको बैठकमा सहभागी हुनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सांसद शाक्यले महिला सांसदको मञ्च र सांसद गौतमले युवा सांसदको मञ्चमा सहभागिता जनाउने तथा सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ । सभामुख घिमिरेले चैत २४ गते हुने संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा ‘बन्दुङ आत्माको ७० वर्षको सम्झनाः बन्दुङ सिद्धान्तको पालना गर्न संसद्को भूमिका’ विषयमा मन्तव्य दिने कार्यक्रम छ । त्यस क्रममा विभिन्न मुलुकका सभामुखहरूसँग ‘साइडलाइन’ भेटवार्ता पनि हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
काठमाडौँ: हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ । ‘एयर क्वालिटि इन्डेक्स’ कोे तथ्याङ्कअनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको थियो । आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताउनुभयो । “काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ”, उहाँले भन्नुभयो, “प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरूरी छ ।”
पाँचथर: वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन् । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए । आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिनुभयो । घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको गए राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ । उक्त वनमा लागेको आगो अझैसम्म नियन्त्रण नआएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिनुभयो । हावाहुरी चल्नासाथ डढेलो वस्तीमा पस्ने खतरा रहेको उहाँको भनाइ छ । आगो निभाउन गएका स्थानीय खगेन्द्र विक लडेर घाइते भएका छन् । यस्तै फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन् । दाउरा बोकेर आउने क्रममा उनी डढेलोमा परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको धरानमा उपचार भइरहेको छ ।

