काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

तनहुँ: बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको चितुवाको आक्रमणमा परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी बालकको ज्यान लिएपछि सिद्धथान सामुदायिक वनमा बाख्रासहितका पाँचवटा खोर राखेर पासो थाप्ने काम गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र वन्यजन्तु प्राविधिक थिरुलाल थारूको डार्टिङ टोलीले त्यस क्षेत्रमा निगरानी बढाइरहेको छ । डार्टिङ टोलीले चितुवा भेटेको अवस्थामा बेहोस बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डार्टिङ टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै नियन्त्रणमा लिन सकिनेमा विश्वस्त रहेको जनाएका छन् ।’ बन्दीपुरमा चितुवा आक्रमणमा परी चालु आर्थिक वर्षको साउनदेखि यता ११ महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने बालक दुई र एक बालिका रहेका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ फागुन ९ गतेदेखि आठ वर्षको अवधिमा १२ बालक र पाँच बालिकाले ज्यान गुमाइसकेका छन् । जिल्लाका भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणले मानवीय क्षति भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षको अवधिमा २१ जना घाइते भएका छन् ।  घटना भएपछि स्थानीयवासीलाई साँझपख घरबाहिर ननिस्कन र सतर्कता अपनाएर बस्न तथा चितुवा देखिए तुरुन्त सम्पर्क गर्न स्थानीयलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले आग्रह गरेको छ । चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिनका लागि सोही ठाउँ आसपासमा पासो राखिएको अर्का वन अधिकृत नवीन विश्वकर्माले बताए । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लैदुक्लै छाड्न नहुने विश्वकर्माको भनाइ छ । साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम अत्यधिक हुने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरिएको कार्यालय प्रमुख शरदकुमार अधिकारीले बताए ।

काठमाडौं:   सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ । वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्राल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरुले बताउँदै आउनुभएको छ ।   राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।  आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछ ।

नवलपुर:  लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्गको नारायणगढ(बुटवल सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार, केही दिनयताको अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ। यसैगरी, दुम्कीबास–दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न सूचित गरेको छ। पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ। त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ(पोखरा(स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ। पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ। साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट(पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ।  

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको सुरु बिन्दुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश बिन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुदायको विस्थापनको जोखिम निम्त्याएको तथा स्थानीयबासीको मानव अधिकारको उल्लङ्घन भएको र बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयअन्तर्गतको कार्य समूहबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुपर्ने जवाफको कार्यमा सघाउन आयोगले सो प्रतिवेदन दिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आयोगलाई सुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो।  प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले डुकुुछापमा स्थानान्तरण गर्नु उपयुक्त हुने उल्लेख गरिएको छ।साथै नेपाल सरकारले यस्ता आयोजाना सञ्चालन गर्दा स्थानीय आदिवासी जनजाति समुदायसँग पूर्व सुसूचित स्वतन्त्र सहमति लिन पनि सुझाव दिइएको छ।

काठमाडौं: नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।  बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो । बैठकमा नेता शास्त्रीको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको उहाँले बताउनुभयो । विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएका स्व. शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताउनुभएको थियो । स्व। शास्त्री जननायक बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत हुनुहुन्थ्यो । अर्घाखाँचीको किमडाँडामा विसं १९९३ जेठ २५ गते जन्मनुभएका स्व। शास्त्री पटकपटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र विसं २०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ । उहाँको निधनबाट कांग्रेसले एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव पौडेलले उल्लेख गर्नुभयो । कांग्रेसको सङ्गठन निर्माण र सुदृढीकरणमा पुर्‍याउनुभएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, समाजवादी विचारको प्रवर्द्धन तथा पार्टीका विभिन्न महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नुभएको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।

लमजुङ:  पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गएरातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।

काठमाडौं:  हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।

काठमाडौं: सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीसँग मंगलबार भेट गर्दै उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन् । भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोली सहभागी थियो । त्यसअवसरमा उनीहरुले करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेका छन् । व्यवसायीहरूले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहे आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।   प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौं:   वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।  यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।   त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने  जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राँके–भेडेटार सडक एकतर्फी खुलाइएको छ । अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।