पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

पोखरा:  र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे ।  रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे ।  उनले हिउँको गीतमा स्थान विशेष वातावरणीय सम्बन्ध, ‘पेब्याक’ को परम्परा, मूल्य र मान्यताको परम्परा र जमिनको महत्त्वसम्बन्धी रैथाने विशेषता पाइने जिकिर गरे । “उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्वलाई बेजोड रूपमा पस्किएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साएको छ । यो नै उपन्यासको मूल कथानक हो जुन अति सुन्दर तरिकाले स्थापित छ ।” त्रिवेणीले भने, “अझ चर्चा गर्नुपर्ने अर्को पक्ष भनेको रैथाने परम्पराको अन्त्यमा औपनिवेशिक शक्तिको हात हुने कुरा हो । संसारभर नै रैथाने परम्परा र पद्धतिको अवसान औपनिवेशिकताको प्रवेशसँगै भएको छ । त्यो औपनिवेशिकता कुन रूपमा कसरी छिर्छ, त्यो समाजपिच्छे फरक हुन सक्छ तर त्यसले ल्याउने नियति सबै समाजमा एउटै हुन्छ–  समाजको विखण्डन र विनाश जो हिउँको गीतमा पनि आएको छ ।” उपन्यासले रैथाने ज्ञान प्रणलीलाई आफूमा समाहित गरेको र उक्त प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको हातलाई पनि छर्लङ्ग बनाएकाले उपन्यास अब्बल सावित भएको त्रिवेणीको भनाइ छ । कार्यक्रममा उपन्यासकार तीर्थ गुरुङले आफूले उपन्यास आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर लेख्न सुरु गरेको अनुभव सुनाए ।  मिर्गौलासम्बन्धी रोगबाट पिडित गुरुङले आफ्नै पिताको मिर्गौला प्रत्यारोपण गरेपछि प्राप्त भएको पुनर्जीवनलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको प्रसङ्ग गुरुङले भावुक हुँदै सुनाए ।  यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथा सङ्ग्रह) बजारमा ल्याइसकेका गुरुङले आफ्नै मातृभूमि, मातृभाषा र मातृसंस्कृतिलाई ‘पेब्याक’ होस् भन्ने हेतुले पनि उपन्यास लेखेको बताए ।  हालसम्म पाठकको मायाबाट हौसला मिलेको बताउँदै उनले आगामी संस्करणमा पाठकको सुझावलाई ध्यानमा राखेर परिमार्जन पनि गर्ने प्रतिबद्धता जनाए । गुरुङ जातिको उद्गम थलो क्होला राज्यको विकासदेखि विघटनसम्मको कथावस्तु हिउँको गीतमा समेटिएको छ । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा कौशलचन्द्र जिसी, कुमार तामाङ, डा। लक्ष्मीशरण अधिकारी, मेघराज ढकाल, डा। हुमबहादुर गुरुङलगायतले टिप्पणी गरेका थिए ।

बैतडी:  बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जीप आज बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

स्याङ्जा:  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो । गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।  डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१/८२ देखि बनाउन सुरू गरेको उहाँले बताउनुभयो । “चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन सुरू गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं ।” समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उहाँले बताउनुभयो । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ । मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उहाँको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ । “क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास ९होमस्टे०को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ”, गाउँपालिकाका अध्यक्ष तिवारीले भन्नुभयो, “यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ ।” क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उहाँका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ ।

काठमाडौं:   सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवसायी संघका प्रतिनिधि नरेन्द्र गुप्ताले सहमतिबारे जानकारी दिँदै शुक्रबारदेखि देशभर व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने बताए। व्यवसायीहरू सुन तथा सुनका गहना विलासिता वस्तुको सूचीमा राखिएको विषयमा असन्तुष्ट थिए। उनीहरूको मुख्य माग नै यस विषयको पुनरावलोकन रहेको थियो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन तथा हिरामा विलासिता कर लगाउने घोषणा गरेपछि व्यवसायीहरू आन्दोलित भएका थिए। केही दिनयता उनीहरूले देशभर पसल बन्द गरेर विरोध जनाउँदै आएका थिए। अब सहमतिपछि बजारमा सुनचाँदीको कारोबार पुन: सञ्चालनमा आउने विश्वास गरिएको छ। व्यवसायी पक्षले सरकारसँग तत्काल सहकार्य गर्दै व्यापार सहज बनाउने प्रतिवद्धता जनाएका छन्। यस्तो छ सहमति

काठमाडौं:  काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् । कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट नगर सभामा पेस गरिनेछ । सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत र मेयर बिचको विवादका कारण महानगरको बजेट आउन सकेको थिएन ।

गुल्मी: कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ ।  त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर  तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन्  ।           यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ । 

सिरहा: आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् २०६७ साल असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुन् अस्मिन राउत । ‘त्यो घटना वास्तवमै कहालिलाग्दो थियो । हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुपर्‍यो हाम्रो बस्तीले, ती घटना सम्झिदाँ पनि नरमाइलो लाग्छ’, उनले भने । डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भय । प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने । लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे । २०६७ सालको असार महिनामको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो । उक्त घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले । ‘हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो । त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक्ष गाउँको दयनीय अवस्था प्रस्तुत गर्‍यौँ । स्थानीयको आग्रह र दबाबपछि तत्कालै पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना गरियो’, राउतले भने, ‘प्रहरी चौकी स्थापना भएसँगै गाउँको अवस्था फेरियो । त्यसयता हामीले कुनै डकैतीको त्रास व्यहोर्नु परेको छैन । रातमा गहिरो निद्रा सुत्न पाएका छौँ ।’ त्यही घटनापछि लहानको ग्रामीण भेगमा पर्ने वडा नम्बर १३, १४ र २४ लाई पायक पर्नेगरी पक्की टोलमा अस्थायी प्रहरी चौकी बनेको थियो । त्यसले गाउँमा साँच्चै शान्ति फर्कियो । रात परेपछि ढोका थुनेर बस्नुपर्ने बाध्यता हट्यो । बालबालिका ढुक्कसँग बाहिर खेल्न थाले । महिलाहरू बिहान–साँझ खेतबारी जान थाले । गाउँलेमा पुनः आत्मविश्वास आयो । डकैतको त्रास मेटिएपछि गाउँमा शान्ति त फर्कियो । समयसँगै समुदाय र प्रहरीबीचको सम्बन्ध पनि गहिरिँदै गयो । तर जीर्ण भवनबाट प्रहरीका लागि सेवा प्रवाह सहज थिएन । बर्सातमा पानी चुहिने, हिउँदमा धुलोले भरिने समस्या थियो । त्यसपछि गाउँलेहरूले नयाँ प्रहरी भवनको आवश्यकता महसुस गरी स्वतःस्फुर्त रूपमा नयाँ भवन निर्माणको अभियान सुरु गरे । त्यसका लागि चन्दा सङ्कलन अभियान सञ्चालन थाले । त्यो अभियान प्रभावकारी बन्दै गयो । गाउँलेहरूले सकेको आर्थिक तथा भौतिक सहयोग गरे । विदेशमा रहेका गाउँका व्यक्तिहरूले पनि दिल खोलेर सहयोग गरे । सामूहिक प्रयासकै परिणामस्वरूप निर्माण भयो—पाँचकोठे पक्की प्रहरी भवन । त्यही भवनको बुधबार एक विशेष कार्यक्रमबीच लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे । सुविधासम्पन्न प्रहरी चौकीको भवन बनेसँगै पक्की टोलवासीको खुसीको सीमा छैन । शान्तिसुरक्षा र अमनचयनको अनुभूति उनीहरूको हरेक अभिव्यक्तिमा झल्किन्छ । गाउँको परिवर्तनको कथा सुनाउँदै ७४ वर्षीया लक्ष्मीदेवी अधिकारी भन्छिन्, ‘पहिले गाउँमा प्रहरी नहुँदा घुर बालेर रातभर डाँका कतिबेला पो आउँलान् भनेर रोडमै जाग्राम बस्नु पर्दथ्यो । त्यो दुःख सम्झेर उदेक लाग्छ । अहिले त ढुक्कले बस्न पाइएको छ ।’ उहाँले सुनाएअनुसार एक समय त यस्तो आयो, डाँकाहरू गाडीमै आएर गाउँ लुट्थे । प्रहरी आउँदासम्म सबै भागिसकेका हुन्थे । ‘धनमाल दिएन भने कुट्थे, कतै त मार्नेसम्म पनि गर्थे । दसैँजस्ता चाडबाडमा छोरा–नातिहरू घर आउँदा पनि डाँकाको डरले दुई दिन नबसी सहर फर्किन्थे । हामी बूढाबूढी मात्रै गाउँमा, युवाहरू बाहिर’ अधिकारी विगत सम्झिँदै भन्छिन्, ‘प्रहरी त हाम्रो लागि भगवानजस्तै भएर आएका हुन् बाबु । यही भएर गाउँलेहरू जीउधन लगाएर यो भवन बनाउन जुटे । अब चौकीमा दुई जना महिला प्रहरी पनि भए सहज हुन्थ्यो ।’ लक्ष्मीदेवी अधिकारीको भनाइ केवल विगतको पीडा होइन, यो सुरक्षा प्राप्तिको खुसी र सामुदायिक सफलताको आत्मगौरव पनि हो । गाउँमा सुरक्षाको सुनिश्चिततासँगै समुदाय–प्रहरी सम्बन्ध अझ मजबुत भएको छ । यही सन्दर्भमा स्थानीयले भन्दै थिए, ‘वास्तवमै प्रहरी मेरो साथी भन्ने नारा प्रचारका लागि मात्रै रहेन, यो त व्यवहारमै लागू भएको छ ।’ यहाँ सुरक्षाको व्यवस्थापछि धेरै कुरा बदलिदिएको छ । कुनै समय प्रहरीसँग पनि डराउने यहाँको समाज अचेल प्रहरीलाई साथी, अभिभावक र सहारा मान्छन् । दुःख होस् या सुख, हरेक क्षणमा प्रहरी स्थानीयले सबैभन्दा पहिले सम्झिने आधार भनेको छ । भवन निर्माण समितिका अध्यक्षसमेत रहेका समाजसेवी राउतका अनुसार स्थानीय जनताबाटै करिब २५ लाख रुपैयाँ सङ्कलन भएको थियो । गाउँलेहरूले सकेको आर्थिक, श्रम र भौतिक सहयोग गरेका थिए । उनले भने, ‘भवन निर्माणमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि केही आर्थिक सहयोग रह्यो । यही संयुक्त प्रयासले सुविधासम्पन्न पक्की भवन निर्माण सम्भव भएको हो । त्यसैले यो भवन केवल इँटा र गारो मात्रै होइन, समाजको एकता, इच्छाशक्ति र प्रहरीप्रति विश्वासको जीवित प्रतीक पनि हो ।’ भवन उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए । उनले भने, ‘समाजका अगुवाहरूले जग्गादान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि वरदान साबित भएको छ । यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्तिसुरक्षाको प्रत्याभूति गर्ने आधार पनि बनेको छ ।’ प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अपराध न्यूनीकरणका लागि निर्णायक आधार भएको बताए । प्रहरी सङ्गठन समुदायमैत्री सेवामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले समुदायसँगको सम्बन्धलाई केवल सुरक्षाको सवाल मात्र नभई विश्वास, सहभागिता र उत्तरदायित्वको सम्बन्धका रूपमा आफूले हरेको बताए । कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, ‘शान्ति सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले समुदायसँगको सहकार्य शान्तिसुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राखे ।

बाँके:  बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच टापुमा फसेका थिए ।  सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बुधबार सकुशल उद्धार गरेको सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।   उद्धार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।