लमजुङ: चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मस्र्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर–चामे सडक । सोही सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को नाम जप्दै यात्रा गर्न बाध्य छन् । यस्तो जोखिमपूर्ण बाटोमा दर्जनाँै सवारीसाधन लमजुङ–मनाङ आवतजावत गर्दछन् । हिमालपारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदीमाथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा यात्री बँेसीसहर–चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजारसम्म ६५ किलोमिटर दूरी छ । यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स–साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताउनुभयो । जीप चालक सोमराज मगरातीले भन्नुभयो, “विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिलाभन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ ।” अर्का चालक रामबहादुर तामाङ भन्नुहुन्छ, “सडकबाट खसिहाल्यो भने सिधै मस्र्याङ्दीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन ।” यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन् । कहिले त जीप गुड्दागुद्दै पनि माथिबाट ढुङ्गा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खायाममा जोखिम हुने गरेको उहाँको भनाइ छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँँसीसहर–चामे सडकको यात्रा जोखिमपूर्ण छ । सरकारले आवश्कतानुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ । चालु आर्थिक वर्षमा रु ३६ करोड बजेट प्राप्त भएको थियो । आगामी आवका लागि यस सडकका लागि रु ४० करोड प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ । विभिन्न ठाउँमा दैनिकजसो पहिराले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन् । लामो समयसम्म पहिराले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले उक्त सडक निर्माणको जिम्मेवारी पायो । बाँदर लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाएर सेनाले उक्त सडक निमार्ण गर्न सफल भयो भने बाटो निर्माणका क्रममा केहीको मृत्युसमेत हुन पुग्यो । यसरी सेनाले निर्माण गरेको सडकबाट मनाङवासीको सपना पूरा भए पनि सडक स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निराश छन् । उनीहरूमात्र नभई लमजुङवासी, यात्री तथा पर्यटकसमेत सडक स्तरोन्नति नहुँदा चिन्तित छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस् र दुर्घटनाको जोखिम न्यून होस् । बेँसीसहरस्थित तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निर्माणकार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको हो । बेँसीसहर–चामे सडक पार गर्न झण्डै ६
तनहुँ: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजनाको बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउनसक्ने उतारचढावका विषयमा अग्रीम सूचना दिन साइरन जडान गरिएको हो । नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत सेती नदीमा निर्माणाधीन बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्र सेतीनदी क्षेत्रका बासिन्दालाई बाढीजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँध सुरक्षा, मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा निर्माण गरिएको अस्थायी बाँध, त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने नदीको बहावमा हुनसक्ने फेरबदलका बारेमा नदी सुरक्षा विज्ञबाट प्रशिक्षण प्रदान गरिएको छ ।” वर्षायाम सुरु भएसँगै सेती नदी वरपरका बासिन्दालाई साइरन बज्दाको समयमा नदीभित्र वा नदी किनारबाट टाढा बस्न र किनार नजिक नजान सचेत गराइएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । जसका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाईका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र सेतीनदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको जनाएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न भनेको छ । आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्नका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । सो प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने जानकारी गराइएको छ । सरकारले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न योगगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा सरकारी कर्मचारीका लागि निवृत्तीभरण कोष ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ । सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरिसकेको छ । कतियप नियामक निकाय, संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानमा पेन्सन, उपदान सुविधा प्रदान गर्ने प्रचलन कायम रहेको छ । सरकारले अबलम्बन गरेको नीति अनुसार सार्वजनिक प्रतिष्ठानबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायले दीर्घकालीन दायित्व सिर्जना गरिरहेको देखिएको छ । अर्थमन्त्रीस्तरीय यही असार २० गतेको निर्णयअनुसार सो निर्णय भएको र कार्यान्वयनका लागि पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र सुनचाँदी व्यवसाय महासंघ गण्डकी प्रदेशले सयुक्त रुपमा आज पोखरामा पनि विरोध प्रदर्शन समेत गरेका छन् । सुनचाँदी व्यवसायीहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाएको भन्दै छाता ओढेरै नाराबाजीसहित शुक्रबार व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदी कारोबारको लागि प्रस्ट नीति,नियमावली निर्माण गर्न माग गरेका छन् । सुनचाँदी व्यवसायीहरुको आन्दोलनमा आज गण्डकी प्रदेशका ९ जिल्लाका समिति, पोखरा उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्चले समेत सहभागिता जनाएका थिए । पोखराको लखनचोक (पृथ्वीचोक)बाट सुरु भएको विरोध र्याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
गलकोटः विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ । काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसेको १७औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रूपमा पालिकाको भवन बनाउने स्थानको टुङ्गो लगाएको हो । बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुनसकेको थिएन । भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका भाडाकै घरमा सञ्चालनमा हुँदै आएको छ । काठेखोला गाउँपालिका–२ अक्षते र वडा नं ६ को सुल्डाँडा स्थानीय जग्गा उपलब्ध गराउन राजी भए पनि निर्वाचित जनप्रतिनिधिको मत बाँझिदा समस्या भएको थियो । यही असार १० गते १७औँ गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत भएको थियो । मतदानका क्रममा समेत अक्षते र सुलल्डाँडा कुनै पनि ठाउँका लागि दुईतिहाइ मत प्राप्त हुन सकेन । अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो । ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए । बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनिक केन्द्र अछेते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमतिपश्चात बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए। ‘स्थापनाको नौ वर्षमा गाउँपालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लागेको छ, आमपाटामा स्थानीयले छ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्, आगामी वर्ष पालिकाको भवन निर्माण गर्न थालिन्छ’, अध्यक्ष थापाले भने, ‘राजनीतिक दलको एकताका कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माणस्थल सर्वसम्मतिमा टुङ्गो लागेको हो, पालिकाले अहिले मासिक रु ६० हजार तिरेर सुल्डाँडाबाट सेवा दिँदै आएको छ ।’ गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । पालिकाको आफ्नै भवन नहुँदा हरेक वर्ष रु सात लाख बढी घरभाडा तिर्दै आएको छ । बागलुङका अन्य नौ पालिकाले आफ्नै भवन बनाइसकेका छन् ।
भरतपुर: बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो । नियमित पानी परिरहेकाले समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताउनुभयो ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेको जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाले जानकारी दिनुभयो कार्यक्रमका प्रमुख अतिथि जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीले पहिलो रक्तदाता हरिश्चन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले रक्तदान जीवनदान भएको बताउँदै संस्थाको कार्यको प्रशंसा गर्नुभयो । जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाको सभापतित्व एवम् सचिव कमल थापा मगरले सञ्चालन गर्नुुभएको कार्यक्रममा सदस्य सशिश भट्टराईले स्वागत गर्नुुभएको थियो । कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, रक्त सञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोल्नुभएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आव २०८१ र ०८२ मा ३८ वटा तालिम सञ्चालन भइसकेका छन्, जसमा ७८७ जना सहभागी भएको जानकारी गराइएको छ । पछिल्लो ३ महिनामा मात्रै २०४ जना सहभागी १० वटा तालिम पूरा गरी अब व्यवसायिक यात्राको सुरुवातमा छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आयोजित समापन कार्यक्रममा सहभागी हुँदै आगामी वर्षमा १४ सयभन्दा बढी युवालाई व्यावसायिक तालिम दिने योजनाबारे जानकारी गराए । सीप सिकेर स्वदेशमा नै उद्यम गर्न चाहने युवालाई प्रदेश सरकारले सिट मनीको व्यवस्था गरेको जानकारी उनले गराए । आव २०८२ र ०८३ को बजेटमा उक्त व्यवस्था गरिएको भनाई उनको छ । आर्थिक कमजोर भएकालाई प्रदेश सरकारको साथ रहने उनले उल्लेख गरे । बैंकबाट समेत सस्तो ब्याजमा ऋण उपलब्ध गराउन प्रदेश सरकारले नै सिफारिस गरिदिने व्यवस्था गरिएको उनले जानकारी गराए । उनका अनुसार काम गरेर सानो कोहि हुँदैन श्रमको सम्मान गर्न जान्ने व्यक्ति नै अगाडि बढ्छ । समापन कार्यक्रममा बोल्दै युवा प्रशिक्षार्थी पुष्पा पहारीले तालिमले आफूजस्ता आर्थिक रूपमा कमजोर पृष्ठभूमिका युवाहरुलाई आशा र विश्वास दिएको बताइन्। उनले भनिन्, “केही बन्छु, केही गर्छु भन्ने आत्मविश्वास जागेको छ। आधुनिक सिकाइ प्रविधिबाट सिक्ने मौका पाएको छु। अब सिकेको सीपलाई राम्रो ठाउँमा लगानी गर्नेछु।” कार्यक्रममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका नि.केन्द्र प्रमुख डिल्लीराज सुवेदीले तालिम उत्साहजनक रूपमा सम्पन्न भएको बताए । स्वावलम्बी बन्ने यात्रामा तालिमले टेवा पुग्ने विश्वास उनको छ । उनले पछिल्लो ३ महिने तालिममा मोबाइल मर्मत, प्लम्बिङ, सिलाई–कटाई, ब्युटी पार्लर, फेसन डिजाइन, सैलुन, मण्टेश्वरी, कुक ९बिहानी÷दिवा०, र एडभान्स कटाई–सिलाईजस्ता १० थरिका व्यावसायिक तालिम उपलब्ध गराइएको जानकारी गराए । गण्डकी प्रदेश सरकारले आगामी वर्षमा अझ धेरै युवाहरूलाई लक्षित गर्दै सीप आधारित कार्यक्रमहरू विस्तार गर्ने जनाएको छ । आत्मनिर्भर युवा निर्माणमार्फत समाजको आर्थिक आधार बलियो बनाउने लक्ष्य सरकारको रहेको छ ।

