काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो । उहाँका अनुसार राष्ट्रपतिले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् ।
बागलुङ: बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ। सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार सुख्खा पहिरो खसेसँगै मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। सुख्खा पहिरो खस्दा ठूला ढुंगा पनि सडकमा खसेका छन्। अहिले पहिरो पन्छ्याएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ।
पोखरा: श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा आगामी अषाढ ३१ गते श्रावण कृष्ण पञ्चमी देखि श्रावण ३१ भाद्र कृष्ण अष्टमी सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा आगामी असार ३१ गते पोखरामा कलश यात्रा सहित कार्यक्रमको शुभारम्भ गरिने बताउदै अध्यक्ष ढकालले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि श्रद्धालु भक्तजनहरुको साथ र सहयोगले कार्यक्रमले सफलता पाउने बताए । आषाढ ३१ गतेदेखि सुरु हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन कार्यक्रम हुने र उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गर्ने समितिका उपाध्यक्ष कार्यक्रम संयोजक केशव प्रसाद बरालले जानकारी दिए । बिगतका वर्षहरुमा सञ्चालित श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा पोखरेली तथा छिमेकी जिल्लाका भक्तजनहरुको उल्लासपूर्ण उपस्थितीले कार्यक्रम सम्पन्न भएको र यसपटक पनि भक्तजनहरुको साथ र सहयोग सहित कार्यक्रममा सहभागीताका लागि समितिका सचिव लक्ष्मण बरालले आग्रह गरेका छन ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।
पोखरा: संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विशन क्षेत्री निर्वाचित भएका छन् । पोखरामा आज भएको मञ्चको छैटौँ साधारण सभा तथा चौँथो अधिवेशनबाट विशन अध्यक्ष निर्वाचित भएका हुन् । उनले २० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी रोहितराज पराजुलीले १६ मत पाए । युवराज श्रेष्ठलाई १० मतले पराजित गर्दे अनुप पौडेल उपाध्यक्ष निर्वाचित भए । पौडेलले २३ र श्रेष्ठले १३ मत पाए । सचिवमा युवराज गुरुङ युनिस र सहसचिवमा उमा आलेमगर सर्वसम्मत चयन भए । फणिन्द्र अधिकारीलाई २ मतले हराउँदै ऋषिराम बराल कोषाध्यक्ष निर्वाचित भए । बरालले १९ र फणीन्द्रले १७ मत पाए । सदस्यहरु निर्विरोध निर्वाचित भए । दुर्गा राना, प्रतिक्षा काफ्ले, सुबास पौडेल, चन्द्रिका घिमिरे अनिता, सञ्चय रानाभाट र विमल तिवारी चयन भए ।
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।
पोखरा: अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी सकेको र गण्डकी प्रदेशमा कमिटि गठनका लागि संयोजक तोकेको फिनेका आइसी महासचिब दिपेन घलेले बताए । गण्डकी प्रदेशमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई संयोजक तोकेको छ । अगस्ट २ तारिकमा पोखरामा भेला गरेर समिति बनाउने आचार्यले बताए । विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न संस्थाको स्थापना गरेको महासचिब घलेले बताए । उनले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए । उनले अहिले सम्म १२ देशमा कमिटि विस्तार भैसकेको र अन्य देशमा पनि थपिदै जाने बताए । नेपालमा पहिले सबै प्रदेशमा कमिटि गठन गरेपछि नेपाल कमिटि बनाउने महासंघका नेपाल संयोजक रामशरण थापाले बताए । उनले संस्थाको उद्देश्य सहयोग, मार्गदर्शन, र व्यवसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउने रहेको उल्लेख गरे । युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र विश्वव्यापी नेपाली व्यवसायिक समुदायको दिगो विकासलाई अघि बढाउन महत्वपूर्ण मञ्च भएको उनको भनाई छ । कार्यक्रममा बागमति प्रदेश कमिटीका संयोजक कृष्ण खतिवडा, सल्लाहारका रामकुमार थपलिया लगाएतले शुभकामना दिए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम गरेको बताएका छन् । भानुजयन्तीको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै ओलीले भानुभक्तले नेपाली मनमा रामायण रोपेर गएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’ आइतबार देशभर आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।
काठमाडौं: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ । घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ । आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

