मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभयो । यसबाट रु डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ–४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का–भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ । अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताउनुभयो । बाढीले पुलहरुमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उहाँले बताउनुभयो । उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ । पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।” लोमान्थाङ(२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट ९बिओपी०का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिनुभयो । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उहाँको भनाइ छ । “यहाँ बाढी आउनाको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन”, उहाँले भन्नुभयो । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पुर्याउने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
पोखरा: पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठिन ५ सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्य साउन १ गरिने कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघका कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकारी दिए । उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित पुरस्कार राशी यसपटक १५ हजार रुपैयाँ पु¥याइएको छ । उक्त पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रितीरिवाज तथा संस्कार– संस्कृति र कौराहा संरक्षण र प्रवद्र्धनको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ । २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् । यस वर्ष पुरस्कृत हुन लागेका श्रीस मगर विगत १९ वर्षदेखि पत्रकारिकतामा सक्रिय छन् । २०६३ सालमा पृथकयात्रा साहित्यिक द्धैमासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका श्रीस अहिले पोखराको फेवा टेलिभिजनको कार्यकारी सम्पादक र कास्की आवाज दैनिकका सम्पादकमा कार्यरत छन् । पत्रकार श्रीस मगर यसअघि जगनान्थ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार र मगर सांस्कृतिक पत्रकारिताबाट सम्मानबाट सम्मानित भइसकेका छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको इन्चार्ज र नेपाल मगर पत्रकार संघका केन्द्रिय उपमहासचिवमा छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो । उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।
काठमाडौं: नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उहाँले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मङ्गलबार साँझ चितवनमा फेला परेको थियो । प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशङ्कामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव छन् । चार वटा मानव अङ्गमात्रै फेला परेको बताउँदै उहाँले ती शवको भने डिएनए परीक्षण आवश्यक रहेको बताउनुभयो । प्रवक्ता थापाका अनुसार अझै दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । “बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ । बाढीका कारण यकिन भइसकेको छैन तर मौसमविद्हरूले माथिल्लो क्षेत्रमा रहेको हिम पोखरीहरू फुटेका हुनसक्ने आशङ्का गरेका छन”, उहाँले भन्नुभयो । मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले बाढीका कारण पत्ता लगाउन अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले ठूलो वर्षा नभइकन यसरी बाढी आएकाले यसबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको बताउनुभयो ।
लमजुङ: लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ । कूल ६५ किलोमिटर रहेको यस सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ । बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले विंसं २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई बुधबार सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा काँस्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख रुपियाँ पुरस्कार–प्रमाणपत्र प्रदान गरियो । यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमती विष्टसहितलाई एक लाख ५० हजार रुपियाँका दरले पुरस्कार दिइएको छ । यस्तै, गत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाख रुपियाँका दरले पुरस्कार दिइएको छ । उहाँहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो । साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गर्नुभयो ।
काठमाडौं: स्वास्थ्य बिमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गर्नुभएको छ । ‘‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’’ मन्त्री पौडेलले बुधबार बिहान आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ । मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने छन् । मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो । मङ्गलबार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार साउन १ गतेबाट यो निर्णय लागू हुनेछ । मन्त्री पौडेलले यसअघि स्वास्थ्य बीमाका सदस्यले आफू बसेकै ठाउँबाट उपचार लिन मिल्ने गरी प्रथम बिन्दु कायम गर्ने तथा हरेक तहमा बिमा सुविधा लिन सक्ने गरी नीतिगत निर्णय गर्नुभएको थियो । ‘‘स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘तपाईंको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया सदैव स्वागत गर्दछौं ।’’ आयश्रोत र आवद्धता बढाउने बीमा बोर्डको योजना मन्त्री पौडेलले स्वास्थ्य बिमाबाट उपचार सहायता वृद्धिसँगै स्वास्थ्य बीमा कोषको आयश्रोत बढाउने नीतिगत निर्णय पनि गरेका छन् । हालैको नीति तथा कार्यक्रममार्फत सबै सरकारी तथा सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउने उल्लेख छ । स्वास्थ्य बिमा ऐनमा भए पनि लागू नभएको यस व्यवस्थाले आवद्धता वृद्धि भइ कोषमा हुने आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ । यसका अलावा वैदेशिक रोजगारीमा गएका तथा उनीहरुका परिवारलाई समेत स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्रालयको पत्राचारपछि सरकारका विभिन्न मन्त्रालयहरुले स्थानीय तहसम्मै प्रयास थालेका छन् । साथै नयाँ बजेटमार्फत बिमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा सरकारले गरिसकेको छ । सङ्घीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बिमा कोषमा पठाउने निर्णय मन्त्री पौडेलले गरिसक्नुभएको छ । यसैगरी, प्रगतिशिल करमार्फत स्वास्थ्य बीमा कोषमा जाने रकम बढाउने समेत मन्त्री पौडेलले घोषणा गर्नुभएको छ । यसैगरी, सरकारले वितरण गर्ने उपचार सहायतासमेत स्वास्थ्य बिमा कार्यक्रममार्फत वितरण गरेर धेरै नागरिक आवद्ध हुने गरी काम भैरहेको छ । बिमा बोर्डले अनियमित रुपमा भुक्तानी माग्ने केही अस्पतालहरुलाई कारबाही गरेको छ भने निगरानी बढाउन आफ्नो प्रणालीमा सुधार समेत गरिरहेको कार्यकारी निर्देशका काफ्लेले बताउनुभयो । यसैगरी, कोषको आम्दानी वृद्धि गर्न विभिन्न उपायहरुको खोजी भइरहेको उहाँले बताउनुभयो । यी सबैले हाल कोषमा रहेको प्रिमियम र आवद्धता वृद्धि हुने र बिमा कार्यक्रम निरन्तरता हुने अपेक्षा गरिएको छ ।
काठमाडौं: बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भाँसिएका कारण बिहानदेखि बाटो अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर-४ खुर्सानीखोलामा तीन फिट जति सडक भाँसिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी)विरदत्त पन्तले जानकारी दिनुभयो । सडक भाँसिने क्रममा लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक समेत सडकमा फसेको छ । आज बिहानपख सडक भाँसिएपछि अहिले दुवैतर्फ गाडीको लाम लागेको छ । राजमार्ग सुचारु गराउन नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले सडक भासिएको ठाउँमा मर्मतको काम सुरु गरिसकेको छ ।

