महोत्तरी: महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ । पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दायाँबायाँ क्षेत्रमा पनि डढेलोले वन सखाप पारेको छ । जता हे¥यो डढेका ठुटा र खरानी मात्र देखिन्छ । दिनहुँको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा देखिँदैनन् । डढेलोले वयस्क र पुराना रुख पनि मरेका छन् । वनक्षेत्रका सुकेका रुख समयमा कटान व्यवस्थापन हुन नसक्दा ती पनि डढेर ठुटा बनेका छन् । बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा डढेलोले रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने तथा वयस्क रुख आगो लागेर सुक्दै गएपछि वन क्षेत्र उजाड हुने क्रम बढेको हो । “अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ”, विपी राजमार्गसँगैको बर्दिबास–३ पाटुका सामाजिक कार्यकर्ता होमबहादुर खड्का भन्नुहुन्छ, “वनक्षेत्रमा दिनदिनै बढेको डढेलोले रुखबिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।” चुरे पहाडी क्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्छ । सागरनाथ वन विकास परियोजनाका प्लट भने बर्दिबासभन्दा गौशाला नगरक्षेत्रमा बढी छ । पूर्वपश्चिम राजमार्ग उत्तर सामुदायिक ९राष्ट्रिय० वन र दक्षिणमा धेरैजसो परियोजनाका प्लट छन् । अभिलेखमा करिब २४ हजार हेक्टर वन क्षेत्रफल उल्लेख रहे पनि विभिन्न समयमा भएका फडानी र अतिक्रमणले १६ हजार हेक्टरमा खुम्चीएको छ । बाँकी रहेको वन पनि बर्सेनिको डढेलो र चोरी कटानले अब काटिएका र डढेलोले डढाएका रुखका ठुटा बढी देखिन्छन् । डढेलोले दुई÷तीन वर्षयताका बिरुवा डढेपछि पुराना रुख धोद्रिउर बुढिदै जाने र नयाँ बढ्न नपाएपछि वन पातलिँदै गएको वनक्षेत्र नजिकको बर्दिबास–५ चेरु बस्तीका ८० वर्षीय भोगेन्द्रराज पौडेल बताउनुहुन्छ । चुरे आसपासका २० भन्दा बढी र सागरनाथ वन विकास परियोजनासँग जोडिएका पनि करिब यतिकै सङ्ख्याका बस्ती छन् । “वनकै छेउको बसाइँ छ, डढेलोले बस्ती भेट्टाउने चिन्ताले सुत्न सकिँदैन”, वनसँगै जोडिएको बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामा भन्नुहुन्छ, “बर्सेनि फागुन लागेपछि डढेलोको चिन्ताले कहिल्यै छाडेन ।” वनका पतिङ्गर खङ्रेर एकैछिनमा डढेलो बढ्ने गरेको लामा बताउनुहुन्छ । हिउँदे वर्षाले रुखबिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झदै वनक्षेत्र नजिकका बासिन्दा यसपालि भने डढेलोले विकराल रुप लिएको बताउँछन् । पूर्वमा धनुषासँगको सीमा रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको बााकेपुलसम्म करिब १८ किलोमिटर लम्बाइको छ । यसभित्र चारवटा सवडिभिजन वन कार्यालय, सशस्त्र वन सुरक्षा बेस र १० ठाउँ जति वन सुरक्षा पोष्ट रहे पनि यो जनशक्ति डढेलो नियन्त्रणमा भने उदासिन देखिएको सर्वसाधारणको गुनासो छ । सागरनाथ वन विकास परियोजना प्लटसँगै जोडिएको हात्तीलेटका बासिन्दा राधाकृष्ण शर्मा भन्नुहुन्छ, “वनक्षेत्रमा लाग्ने डढेलो कममात्र प्राकृतिक कारणले लाग्छ, धेरैजसो बदमासले आगो झोसेरै लगाउने गरेका छन् ।” बर्सेनि लाग्ने डढेलो रोक्न पूर्वतयारी कहिल्यै नदेखिएको र डढेलो लगाउने पक्राउ परेर कारबाही भएको आफूलाई सम्झना नभएको शर्माको भनाइ छ । फागुनदेखि नै डढेलो देखिन थाल्छ । ठूलठूला रुखको घर्षणले यदाकदा वनमा आगो सल्के पनि खासमा चाँही घाँसे, दाउरे र गोठालाहरुले डढेलो लगाउने गरेका वनसम्बद्ध सरकारी सेवाबाट अवकाश लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउनुहुन्छ । फागुन-चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका सहायक वन अधिकृतको सेवाबाट अवकाश लिनुभएका यादवको अनुभव छ । जिल्लामा सामुदायिक, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । अतिक्रमण गरेर घर ठड्याउने र खानजोत गर्नेलाई राजनीतिक संरक्षण मिल्ने हुँदा वन सुरक्षाको कुरा निकै चुनौतीपूर्ण बनेको नाम नबताउने वनसम्बद्ध कर्मचारी बताउँछन् । वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोग र समन्वय आवश्यक हुने डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दास बताउनुहुन्छ । “हामीसँग भएको जनशक्ति परिचालन गरिरहेका छौँ, तर डढेलो नियन्त्रण स्थानीय बासिन्दाको सहयोगबिना सम्भव छैन”, उहाँ भन्नुहुन्छ, “वन क्षेत्रसम्बद्ध स्थानीयतहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र स्थानीय बासिन्दाको पहलकदमी हुनसके डढेलो नियन्त्रणमा सफलता पाउन सकिन्छ ।” यसका लागि कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रमुख दासले बताउनुभयो ।
अर्घाखाँची: प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताउनुभयो । “विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो । अरु सबै व्याकरणहरुमा पाणिनिको सूत्रलाई आधार मानिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै सङ्गीत र लयको विकास भएको हो ।” उहाँले पाणिनिको योगदान असाधारण रहेको चर्चा गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता ९एआई० विकासमा समेत प्रयोग भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पाणिनिले मात्र नभई शिव, ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिको समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले आजभन्दा करिब २५ सय वर्ष पहिले पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैक्रममा सम्मेलन उद्घाटन गर्न आएको स्पष्ट गर्नुभयो । दुईदिने सो सम्मेलनमा लुुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी र पुष्पा भुसाल तथा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्म गुरु तथा संस्कृत भाषाका विद्वान् ज्ञानानन्द सरस्वतीलगायत भाषाविद्हरुको उपस्थिति रहेको छ । लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन भएको हो । अर्घाखाँचीको पूर्वी सिमानामा रहेको पाणिनि क्षेत्रबाट उत्तरतर्फ हिमशृङ्खला, दक्षिणतर्फ तराईका फाँटसहित भारतीय भूमि गोरखपुरसम्म देख्न पाइन्छ । गुराँसका रुखहरु तथा विभिन्न जडीबुटी पाइने यस क्षेत्र प्राकृतिक रुपमा सुन्दर देखिन्छ । पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि अर्घाखाँचीको पाणिनि क्षेत्र पुग्न सकिन्छ भने अहिले पक्की सडकबाटेको सुविधा समेत रहेको छ ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला परेका छन् । वडाध्यक्ष भण्डारी आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष एवम् प्रवक्ता भद्रबहादुर घर्तीले जानकारी दिए । ‘वडाध्यक्ष भण्डारी आज बिहान आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ’, वडाध्यक्ष घर्तीले भने, ‘अहिले घटनास्थलमा प्रहरी आइपुगेका छन्, थप विवरण पछि नै आउँला ।’ गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
बलेवा: बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि)को अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले यस वर्ष चैतेदसैँको दिन (अष्टमी)मा सबैभन्दा बढी भेटी सङ्कलन भएको बताउनुभयो । उक्त दिन रु ११ लाख ८१ हजार ५९० सङ्कलन भएको छ । खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष रु एक लाख ९० हजार ५९७ बढी भेटी सङ्कलन भएको बताउनुभयो । गत वर्षको चैतेदसैँको अवसरमा मन्दिरमा रु ४० लाख ७२ हजार ५५८ भेटी सङ्कलन भएको थियो । मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । चैतेदसैँ अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । उहाँले गत वर्षको चैतेदसैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताउनुभयो । अष्टमीका दिनमा मात्र रु तीन लाख भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । अध्यक्ष खड्काले धार्मिक सम्मेलनले भक्तजनको वृद्धिमा सहयोग पुगेको बताउनुभयो । यस्तै मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई प्रसादका रुपमा खिर वितरण गरेको थियो । अध्यक्ष खड्काले दैनिक १०० देखि २०० लिटर दूध खपत गरिएको बताउनुभयो । “मन्दिरमा उपस्थित हुने भक्तजनलाई प्रसादको रुपमा खिर उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “प्रसाद वितरणमा रु पाँच लाख खर्च भएको छ ।” चैतेदसैँमा भक्तजनलाई सहजरुपमा पूजाआजाका लागि तीन वटा लाइनको व्यवस्था गरिएको थियो । “मन्दिरमा अघिपछि एक ढोकाबाट पूजाअर्चना गर्ने व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “चैतेदसैँमा भक्तजनको भीड हुने हुँदा तीनवटै ढोकाबाट पूजा गर्न खुला गरिएको थियो ।” अध्यक्ष खड्काले मन्दिरमा नियमित २५ जना कर्मचारी भए पनि चैत्राष्टमीमा भक्तजनको सहजताका लागि २२ जना कर्मचारी थप गरेको बताउनुभयो । कालिका मन्दिर दर्शनको लागि काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवनलगायत देशभरबाट भक्तजन आएका थिए । पछिल्लो समय चैतेदसैँका बेला १०–१५ प्रतिशत भारतीय भक्तजन पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो ।
नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज वीरगञ्जको धार्मिकस्थलको भ्रमण गर्नुभएको छ । राजदूत तोरुले आज सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गर्नुभएको हो । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गर्नुभएको छ । दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आउनुभएका राजदूतले घडीअर्वा पोखरी र वीरगञ्जको मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगञ्ज आउनुभएको जानकारी दिनुभयो । “उहाँ वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगञ्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो ।
खानेपानीको समस्या बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधि मण्डलसँगको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरे । भेटवार्ताका क्रममाबाेल्दै ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताए । 'धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले भने। खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट टे«किङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताउनुभयो । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उहाँले जानकारी दिनुभयो । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।
काठमाडौं: वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताउनुभएको छ । इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी) ले नेपाल सरकारसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको प्रि–सगरमाथा संवाद कार्यक्रममा उहाँले सगरमाथा संवाद कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसलाई समेत लक्षित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनका कारणले गर्दा अत्यधिक जोखिमपूर्ण मुलुक हो, त्यसलाई लक्षित गरेर रोकथामका लागि सरकारले काम गरिरहेको छ ।” नेपाल सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम गर्न लागेको छ । कार्यक्रममा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा पेमा ग्याम्त्सोले हिमाल यस क्षेत्रका जनताका लागि मात्र नभई विश्वका लागि प्राकृतिक सम्पदा र जीवनको आधार भएकाले अब प्रकृतिलाई फिर्ता दिने समय भएको बताउनुभयो । उहाँले सगरमाथा संवाद हामीले प्रकृतिलाई के दिन सक्छौँ भन्ने विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिँदै भन्नुभयो, “सगरमाथा संवादमा हिमालय क्षेत्रको जलवायुका विषयका बारेमा जोड दिनुपर्छ ।” पूर्वअर्थ सचिव मधु मरासिनीले सगरमाथा संवाद नेपालका लागि महत्वपूर्ण अन्तरराष्ट्रिय छलफल र बहसको थलो हुने उल्लेख गर्दै सङ्घमा छ प्रतिशत बजेट नै जलवायु परिवर्तनका लागि छुट्याइएको जानकारी दिनुभयो । “सोह्रौँ योजनाको अन्त्यसम्म जलवायु परिवर्तनको क्षेत्रमा सङ्घको बजेटमा २० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । जलवायुविद् डा पपुलर जेन्टलले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दा अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालका तर्फबाट संवाद गर्दा स्थायी टोली बताउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रका सबै विज्ञहरुले जलवायु परिवर्तनले मुलुकमा पारेको असरबारे आफ्ना तर्फबाट बोल्नुपर्ने उल्लेख गर्दै यो युवाको ‘एजेन्डा’समेत भएको बताउनुभयो । आइआरजिडिडीका अध्यक्ष तथा पूर्वराजदूत शर्मिला पराजुली ढकालले हिमाल र मानवजातिबीच महत्वपूर्ण सम्बन्धको प्रि–सगरमाथा संवाद आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वको जलवायु क्षेत्रको केन्द्रमा हिमालय सङ्कट बारेमा बहस हुनुपर्छ ।” साथै उहाँले सगरमाथा संवादको प्रि–शृङ्खलाको आगामी दिनमा विभिन्न छलफल र बहस चलाउने योजना रहेको बारेमा जानकारी दिनुभयो । संवादका दौरानमा भएको छलफलबाट आएका सुझावलाई सगरमाथा संवाद सचिवालयलाई हस्तान्तरण गरिने उहाँको भनाइ थियो । सगरमाथाको आरोहण गरिसक्नुभएका आरोही दावा टाँसी शेर्पाले बढी जनसङ्ख्याको कारण नभई हिमालय क्षेत्रमा आनन्ददायी जीवनयापन खोज्दा हिउँ पग्लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हिमाल जोगाउनका लागि सबैको पहल आवश्यक छ, स्थानीय समुदायका व्यक्तिहरुको पहलले मात्र हिमाल जोगाउन सकिँदैन ।” उद्योग वाणिज्य महासङ्घ नेपालका पूर्वअध्यक्ष चण्डीराज ढकालले आइआरजिडिडीले गरेको प्रि–सगरमाथा संवादले नेपाल सरकारले गर्न लागेको सगरमाथा संवादलाई सघाउन मद्दत पुग्ने बताउनुभयो । ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर सहायक प्राध्यापक डा विराजसिंह थापाले नेपालको वार्षिक अर्बौं रकम जीवाष्म इन्धनमा खर्च भइरहेको उल्लेख गर्दै आवश्यक नीतिको व्यवस्थापन गरी हाइड्रोजन र नवीकरणीय इन्धनको प्रयोगमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
झापा: कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो । घाइते हुनेमा चार बर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताउनुभयो । पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज विहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताउनुभयो ।