तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

काठमाडौं:  कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारीसँग आग्रह गर्नुभएको छ ।   कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आज भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो ।   दोहास्थित नेपालको राजदूतावासका अनुसार उहाँहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो ।  महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताउनुभएको थियो । 

तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ ।  डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा आइतबार बाख्रासहितको खोर राखेको हो । चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित भएकाले चितुवा नियन्त्रणमा लिन अपरिहार्य भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताउनुभयो ।  उहाँले भन्नुभयो, “चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन् । कामीडाँडा वरपरका गाउँबस्तीमा चितुवा पटक–पटक देखिएको छ । साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरेका छौँ ।” चितुवाको आक्रमणबाट दश वर्षीया अनुजा विकको मृत्यु भएको थियो । फूपुदिदीको घरमा जाँदै गरेको बेलामा चितुवाको आक्रमणमा परेकी विकको शव जङ्गलमा भेटिएको थियो ।   डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भई सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरेको छ ।  त्यस्तै चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न कार्यालयको अनुरोध छ ।  तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् ।  चितुवाको आक्रमणबाट भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ ।  मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।  जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको सहायक वन अधिकृत काशीराज पण्डितले बताउनुभयो ।  पण्डितले भन्नुभयो, “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छाँै । चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”

पर्सा:  जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यूहटाएको छ ।       पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिनुभयो ।        ‘‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कर्फ्यू आदेश हटाउने निर्णय भएको छ’’, प्रजिअ अर्यालले भन्नुभयो, ‘‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।’’       प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पार्नुभएको छ । वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । 

काठमाडौं: आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष  माधव भट्टराई बताउनुहुन्छ ।  “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उहाँले भन्नुभयो । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।       हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।  आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।        चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।       वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो । 

ललितपुर:   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक  सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ ।    पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज  आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।  “मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाई दिदीबहिनी हुनुहुन्छ, मुलुककले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको सभापति देउवाले बताउनुभयो ।  पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई स्वीकार गर्दै लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने नेपाली कांग्रेसले सबैको आस्था, विचार र मुल्य मान्यतालाई स्वीकार गरेर हार्दिककता प्रदर्शन गरिरेहको बताउनुभयो ।   केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्था र देशको विकासमा पु¥याएको योगदान बिर्सन सकिदैन भन्नुभयो ।  अर्का केन्द्रीय सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना व्यक्त गर्दै सबै जातजाति,समुदायबीचको एकताबाटै देशको विकास गर्न सकिने बताउनुभयो ।  त्यस अवसरमा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले धार्मिक एकता, सद्भाव र सहिष्णुता नेपालीको पहिचान भएको बताउनुभयो ।

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।  अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यसमेत रहनुभएका अध्यक्ष ढकालले आयोगको सुझावअनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने बताउनुभयो ।   उहाँले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोडदिँदै सरकारले राजस्व सङ्कलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको बताउनुभयो ।   अध्यक्ष ढकालले विगत दुई वर्षदेखि विप्रेषणको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताललगायत सङ्गठित सङ्घसंस्थामा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समस्या भोग्नु परेकाले यसलाई पुनः सुचालु गर्नुपर्नेमा जोड दिनुभयो ।

झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।      सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो ।      प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।

पर्सा:  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ ।       आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिनुभयो । 

म्याग्दी:  यस वर्ष डढेलोका कारण जिल्लामा करिब एक सय हेक्टर वनमा क्षति पुगेको छ । जिल्लामा रहेका २८ सामुदायिक वनको ९९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पु¥याएको डिभिजन वन कार्यालयले जनाएको छ ।       कार्यालयका वन अधिकृत विनयबहादुर अधिकारीले सबैभन्दा बढी धवलागिरि गाउँपालिकास्थित नौ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिनुभयो ।  उहाँका अनुसार मालिका गाउँपालिकाको चार, मङ्गला गाउँपालिकाको दुई, रघुगङ्गा गाउँपालिकाको चार, अन्नपूर्ण गाउँपालिकाको छ र बेनी नगरपालिकाको तीन वटा सामुदायिक वनमा डढेलो लागेको छ ।      “विगतका वर्षका तुलनामा यस वर्ष ढडेलो कम लागेको छ”, अधिकारीले भन्नुभयो, “शुक्रबार र शनिबारको वर्षाले पछिल्लो पटक वनजङ्गलमा लागेको डढेलो निभाएकाले मौसम सफा र सुन्दर देखिएको छ ।” घाँस पलाउने बहानामा, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलो लाग्ने गरेको उहाँको भनाइ छ ।      गोठालाहरूले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने गरेका भन्दै वन अधिकृत अधिकारीले सिकारीहरूले वन्यजन्तु र पन्छीलाई भगाउन पनि डढेलो लगाउने गरेको पाइएको उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ ।       अधिकारीले ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्र रहेका जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा तीन सय १० सामुदायिक वन उपभोक्ता समूह छन् ।       वन डढेलो नियन्त्रणका लागि समुदायमा आधारित वन व्यवस्थापनसम्बन्धी कार्यक्रम गर्ने, डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायत काममा आवश्यक सहजीकरण गर्नुका साथै सुरक्षा निकायलाई आवश्यकपर्ने सामग्री सहयोग गरिएको डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानकारी दिनुभयो ।