काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

सुदूरपश्चिम:   हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा आज भारती नंको ट्याक्टर  दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन् । तीमध्ये तीन जनालाई बढी चोट लागेको उहाँले बताउनुभयो ।  प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको नं खुल्न सकेको छैन । बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन् ।     ट्रलीमुनी च्यापिएका मृतक बालकको शव निकालिएको छ । घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धारगरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  काठमाडौंको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।      पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।       उहाँका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप छ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।      उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गर्नुभयो । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।      तोडफोड, आगजनी र लुटपाट       प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ ।       “प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ  वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ”, उहाँले भननुभयो ।

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताउनुभएको छ ।      प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।       “गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो”, अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।”           राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । “अग्रगमन, शान्ति, विकासको चेतना फैलाउने प्रेस सामन्तीको निशाना बन्यो”, उहाँले भन्नुभयो, “निरङ्कुश प्रवृत्ति रोक्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्छ, यसो गर्न विलम्ब नगर्नुहोला ।”      मुलुकको राजनीतिक परिवर्तनमा विगतदेखि नै सञ्चार क्षेत्रको योगदान रहेको जनाउँदै अध्यक्ष दाहालले लामो सङ्घर्षबाट स्थापित  सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन प्रेसको अझ सशक्त हुनुपर्ने बताउनुभयो ।       साथै उहाँले उत्कृष्ट पत्रकार तथा सेन्टरका शाखाहरुलाई सम्मान भयो ।      माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मुलुक समाजवादी यात्रामा अघि बढिसकेकाले पश्चगमनतर्फ फर्कने प्रयास कुनै हालतमा मान्य नहुने बताउनुभयो ।  पार्टीका उपमहासचिव जनार्दन शर्माले गणतन्त्रवादी शक्तिले आफूलाई सुधारेर सामन्तवादका विरुद्ध एकताबद्ध हुँदै जनभावनाको कदर गर्नुपर्ने बताउनुभयो ।       प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सङ्गठन सदैव क्रियाशील हुने बताउनुभयो ।       नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाललगायत पत्रकार सङ्घसङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले गणतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुननसक्ने भन्दै प्रेस स्वतन्त्रता र जनअधिकार रक्षाका लागि खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   

काठमाडौं:   पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।   नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।  शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिती रहेको थियो । विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उहाँका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । बदलिएको परिस्थितिका कारण महासङ्घ स्थापना दिवसका अवसरमा गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आजै पत्रकार महासङ्घको उपलब्ध केन्द्रीय सदस्यहरूको आकस्मिक बैठक बसेर थप सङ्घर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनेलगायका कार्यक्रम महासङ्घले गर्नेछ ।

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको  छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।       नेकपा (एकीकृत समाजवादी केन्द्र)को कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाहीको माग गर्नुभएको हो । उहाँले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।       बैठकपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिनुभयो ।

काठमाडौं:  राजावादीको आन्दोलननका क्रममा आगजनी भएको  तीनकुनेस्थित एक घरमा जलेको अवस्थामा एक युवक भेटिएका छन् ।   मृत्यु हुनेमा  एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको बताइएको छ ।    उनी एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सनका रुपमा कार्यरत रहेका थिए  ।  उनले उक्त भवनबाट भिडियो खिचिरहेका थिए ।    जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो ।   

काठमाडौं । प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।   प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्न लागेकाे हो ।   शुक्रबार दिउँसो उनी आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ-आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ ।   केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।   उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।   निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । 

गलकोट:  चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्छ । यसलाई बागलुङ चिनाउने मेलाका रुपमासमेत लिइन्छ ।       नेपालकै महवपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत २० गतेदेखि २५ गतेसम्म आयोजना हुन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।       हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा मेला आयोजना गरिने गरिन्छ । चैते दसैँका अवसरमा कालिका भगवती मन्दिर दर्शनका लागि लाखौंँ दर्शनार्थी आउने गरेका छन् ।       पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।       पर्वतका राजा प्रतापिनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलकोबीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।       चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायतका बस्तुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दसँैमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाटसमेत भक्तजनको आगमन हुने गरेको छ ।      मेलाका अवसरमा पुरुष भलिबलको विजेतालाई रु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु एक लाख ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनल पुग्ने समूहलाई रु २५ हजारसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

लुम्बिनी:  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ ।  लुम्बिनीमा आज थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गर्नुभयो ।      “गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन बढेको छ ।”      लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै उहाँले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।      त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले लुम्बिनीको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।      मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै, त्यसबाहिरका काम नहुनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्नेजस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।      लुम्बिनी विकास गुरुयोजनाअनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् । उहाँले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।      कार्यक्रममा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले बुद्ध जन्मस्थलमा यस खालका गुम्बा निर्माण हुँदा पर्यटकीय गतिविधि बढाउन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले स्थानीय नागरिकसँग पनि सहकार्य गरेर आफ्ना कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।      लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले यस्ता संरचना निर्माण विकास कोषको गुरुयोजनाअनुरुप नै भएको स्पष्ट पार्नुभयो । उहाँले गुम्बा निर्माण गर्न विकास कोषसँग जग्गाको सम्झौता गरेर ओगटिराख्ने प्रचलनको अन्त्य गर्न विकास कोषले जोड दिएको बताउनुभयो ।