पोखरा: महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बामदेव शर्मा अधिकारीले बिहीबार आर्थिक वर्ष २०८०र०८१ को सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । बुधबार महालेखा परीक्षक कार्यालयले उपधारा १ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८०र०८१ को ६२ औं प्रतिवेदन पेश गरिसकेको छ । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभयो । ‘आर्थिक अनुशासन भएमात्र सुशासन कायम हुनेछ । बेरुजु बढ्दै जानु भनेको सुशासनका लागि चुनौती थपिनु हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘ बेरुजु रकमलाई जति कम बनाउन सकिन्छ उति नै आर्थिक समृद्धि हाँसिल हुन्छ । आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका तीनै तह जिम्मेवार बन्नुपर्नेछ । सरकारी कर्मचारीहरू जवाफदेही बन्नुुपर्दछ ।’ प्रदेश प्रमुख भट्टले महालेखा परीक्षक कार्यालयले मुलुकमा आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन सशक्त भूमिका निर्वाह गरेको बताउँदै सार्वजनिक सम्पत्तिको सदुपयोगमा सम्बन्धित निकायलाई थप सजग गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेरुजु फर्छ्यौटका सन्दर्भमा प्रतिवेदनले उल्लेख गरेका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयनको खाँचो पनि उहाँले औंल्याउनुभयो । प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो । उपमहालेखापरीक्षक अधिकारीले महालेखाले क्षेत्रगत रुपमा औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गरेको खण्डमा बेरुजु न्यूनिकरण हुने बताउनुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फर्छ्यौटमा गम्भिर बन्नुुपर्ने उल्लेख गर्नुभयो । साथै, प्रतिवेदनमाथि संसदमा गम्भीर छलफल गरी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन भई प्रदेश सरकार तथा सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र निष्ठा प्रवद्र्धनमार्फत् सुशासन कायम गर्न सहयोग पुग्ने हाम्रो विश्वास छ । उपमहालेखापरीक्षक अधिकारीले भन्नुभयो – ‘सोका लागि प्रदेश सभाका लेखा समितिमा प्रतिवेदन उपर समयमा नै छलफल गरी सम्बन्धित सरकारी निकायहरूलाई आवश्यक निर्देशनको अपेक्षा महालेखा परीक्षकको कार्यालयले गरेको छ ।’ कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव बद्रीनाथ अधिकारी, महालेखा परीक्षकको कार्यालयका नायव– महालेखापरीक्षक राजेन्द्रराज ओझा लगायत सहभागी हुनुहुन्थ्यो ।
ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० तेर्सेमा आइतबार बिहान करिब ४:५० बजेतिर उक्त घटना भएको हो । फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा बिजुलीको पोलबाट लत्रिएको तार छुँदा आगलागी भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा जीप चालक फुङ्लिङ घर भएका ४५ वर्षीय दुर्गा भट्टराई, ललितपुर घर भएकी १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल रहेका छन् । तीर्थयात्रीहरू ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको बताइएको छ। यस दुर्घटनामा ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएकी छन् भने, उनका नौ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । आईतवार राप्रपाका नेता तथा कार्यकर्ताहरुले भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले 'राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ', लगायत नाराहरु लगाएका छन् । पार्टीका नेताहरुलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेबमोजिम माईतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
काठमाडौं: शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् । अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । यद्यपि राप्रपाले बिहान ११ बजेदेखि नै बिजुली बजार क्षेत्रमा भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याउने तयारी गरेका छन् । शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् । शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
लमजुङमा बाटो खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ। लमजुङको बेशीसहर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक जेसिबीले बाटो खन्ने क्रममा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको हो। शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरेको थियो। युनिटले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
पोखरा: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेशको काठमाडौं उपत्यकासहित कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति भने कोशी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिएका हुन्। सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको पनि कार्यवाहक सभापति अर्यालले बताएका छन्। त्यस्तो प्रवृत्ति पार्टीकै लागि घातक हुने बताउँदै कार्यवाहक सभापति अर्यालले सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरेका हुन्। केन्द्रीय समिति बैठकले महाधिवेशको नयाँ मिति तय गरेको छ भने सातै प्रदेशका लागि प्रदेश इन्चार्ज तोकेको छ।
नेपाल प्रहरीले प्राविधिक समस्याको कारण आफ्नो अनलाइन प्रणाली अवरुद्ध भएको जनाएको छ। प्रहरीले सूचना जारी गर्दै वेवसाइट अवरुद्ध हुँदा अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध भएको जनाएको हो। सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्रहरीले क्षमा याचना गरेको छ।
काठमाडौं: यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ । कामपा–३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटानको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा आज डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिनुभयो । उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी सङ्कलन केन्द्र हटाएर हो । “आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो”, उपरीक्षक अर्यालले भन्नुभयो । उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी सङ्कलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो । स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए ।

