सङ्खुवासभा: जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताउनुभयो । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।
पोखराः बागलुङको ताराखोला गाउँपालिकामा आत्मदाहको प्रयास गरेका ८० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङ रहेका छन् । उनले आइतबार साँझ आफ्नै शरिरमा पेट्राल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका गुरुङको उपचारको क्रममा बागलुङको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । ‘आइतबार साँझ ५ बजे गुरुङले घर नजिकै रहेको चौरमा गएर आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लागेको अवस्थामा श्रीमती र छोराले देखेपछि आगो नियन्त्रणमा लिन प्रयास गरेका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यसपछि कम्मरभन्दा माथिको भाग जलेपछि उपचारका लागि धौलागिरी अस्पताल ल्याएका थिए । त्यसछि राती करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।’ डिएसपी यादवका अनुसार गुरुङको शवलाई पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा राखिएको छ । गुरुङले आत्मदाह गर्नुको कारण नखुलेकाले अनुसन्धान जारी रहेको बागलुङ प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको उल्लेख गर्नुभएको छ । नयाँ वर्ष २०८२ को आगमनको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले नयाँ वर्ष बितेका दिनको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा ग्रहण गर्ने हुँदा नयाँ वर्षले जोश, जाँगर र उत्साह थप्ने विश्वास लिनुभएको छ । उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ – ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै समस्त नेपालीको जीवनलाई अझै उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरूरी रहेको छ ।’ यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक रहेकोमा उहाँले जोड दिँदै नयाँ वर्षले सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका कामहरु पूरा गर्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ । ‘यो पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले सामूहिकताको संस्कृति विकास गर्दै आइलाग्ने थुप्रै चुनौतीलाई सबै पक्षको सहमति र सहकार्यबाट परास्त गर्नुपर्नेछ ।’ उहाँले भन्नुभएको छ – ‘लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’
हुम्ला: हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चङ्खेली गाउँपालिका–२का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताउनुभयो । चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २.०३.००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ । चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पु¥याइएको थियो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।” सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडा र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गर्नुभयो । उहाँले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गर्नुभयो । साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस् ।” कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गर्नुभयो । परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन् गर्न आग्रह गर्नुभयो । यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । उहाँहरुले कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गर्नुका साथै आज बिहान अन्तुबाट सूर्योदयको अवलोकन गर्नुभएको थियो । यस कार्यक्रमका सहआयोजकमा नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिका पनि रहेका छन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि इलामको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य तथा स्थानीयताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यसवर्ष इलाममा यो कार्यक्रमको आयोजना गरिएको हो ।
मुस्ताङ: प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र—३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको आठ सय ९४ केजी शालिग्राम शिला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नं को बोलेरो जीपलाई शङ्का लागि जाँच गर्दा अवैध शालिग्राम प्रहरीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैध रुपमा लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाइ छ । अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप , चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ । एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । जिल्लाको दामोदरकुुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवानको प्रतिकको रुपमा पुज्ने गरिन्छ । व्यावासायिक रुपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ । व्यक्तिगत रुपमा फुटकर शालिग्राम शिला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन, प्रहरी र एक्यापले छुट दिएको छ । जिल्लामा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो अवस्थामा छ । जिल्लामा आउने वार्षिक पाँच लाख भक्तजनले एक÷एक वटा शालिग्राम खरिद गरेर लैजाने हो भने पनि मुस्ताङबाट ठूलो परिमाणमा शालिग्राम जिल्लाबाट बाहिरिने गर्छ । यहाँको कागबेनी,मुक्तिनाथ, जोमसोम लगायतका स्थानमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन् । जिल्लामा पर्यटक आगमन बढेसंगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ ।
काठमाडौं: कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारीसँग आग्रह गर्नुभएको छ । कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आज भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो । दोहास्थित नेपालको राजदूतावासका अनुसार उहाँहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो । महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताउनुभएको थियो ।
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ । डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा आइतबार बाख्रासहितको खोर राखेको हो । चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित भएकाले चितुवा नियन्त्रणमा लिन अपरिहार्य भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन् । कामीडाँडा वरपरका गाउँबस्तीमा चितुवा पटक–पटक देखिएको छ । साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरेका छौँ ।” चितुवाको आक्रमणबाट दश वर्षीया अनुजा विकको मृत्यु भएको थियो । फूपुदिदीको घरमा जाँदै गरेको बेलामा चितुवाको आक्रमणमा परेकी विकको शव जङ्गलमा भेटिएको थियो । डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भई सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरेको छ । त्यस्तै चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न कार्यालयको अनुरोध छ । तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको सहायक वन अधिकृत काशीराज पण्डितले बताउनुभयो । पण्डितले भन्नुभयो, “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छाँै । चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”
पर्सा: जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यूहटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिनुभयो । ‘‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कर्फ्यू आदेश हटाउने निर्णय भएको छ’’, प्रजिअ अर्यालले भन्नुभयो, ‘‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।’’ प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पार्नुभएको छ । वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।

