काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।
गण्डकी: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलोपटक व्यावसायिक चार्टर उडान गरिएको हो । पहिलोपटक भएको अन्तरराष्ट्रिय उडानको प्रत्यक्ष साक्षी बन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत एक सय २६ सदस्यीय पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली छेन्दु आई पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम अघि बढाएको छ । महानगर प्रमुखसहितको पोखरेली टोलीलाई छेन्दु विमानस्थलमा चीनका लागि नेपाली महावाणिज्यदूत सुरेश राउत, सिचुवान प्रदेशका उच्चपदस्थ अधिकारी, सिचुवान एयरलायन्सका प्रतिनिधिलगायतले भव्य स्वागत गर्नुभएको थियो । उक्त अवसरमा महानगरप्रमुख आचार्यले २०२३ को जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उद्घाटनको दुई वर्षसम्म पनि अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा महानगरपालिका, पोखरा पर्यटन परिषद्सहितको निरन्तरको प्रयासबाट पहिलो व्यावसायिक चार्टर उडान गरिएको बताउनुभयो । पोखराको पर्यटकीय विकास सम्बन्धमा चिनियाँ राजदूतावासबाट पनि दुई देशका पर्यटन व्यवसायीबीच ‘बिटुबी’ गर्ने सम्बन्धमा छलफल भएको उल्लेख गर्दै उहाँले यसै अभियानमा पनि बिटुबीलगायतका कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । छेन्दुबाट एक हजार दुई सय ५० पर्यटक विभिन्न उडानमार्फत पोखरा जाने तय भएको जानकारी दिँदै महानगरप्रमुख आचार्यले त्यहाँबाट पनि पर्यटक पठाउने कार्यमा लाग्ने बताउनुभयो ।
नवलपरासी: मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो । घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । परदेशी भूमिमा श्रम बेच्न जानुभएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बिचमा बाकसभित्र आइपुग्नुभएको थियो । घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी फेरि सोध्छिन्,“हजुरआमा, ममी कहिले आउनुहुन्छ ?” तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्नुहुन्न । उहाँ चुपचाप आँसु पुछ्नुहुन्छ र बन्द बाकसतिर हेरिरहनुहुन्छ, जहाँ उहाँकी २६ वर्षीय छोरी तिलमाया सार्की चीरनिद्रामा सुतिरहनु भएको छ । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । कसैले भन्न पनि सक्दैन—“तिम्रो ममी अब कहिल्यै फर्किनुहुन्न ।” तिलमाया सार्कीले यो बाटो सजिलोसँग रोज्नु भएको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु उहाँको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन । उधारोले घर चल्न सकेन । उहाँले मलेसियाको बाटो रोज्नु भयो । “म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु”, भन्दै उहाँले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाउनुभयो र मलेसियातर्फ लाग्नुभयो । तर परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको केही दिनपछि अचानक फोन आयो, “तिलमायाको हत्या भयो ।” यो खबरले परिवारलाई छियाछिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पूरा गरी हत्या भएको ११ महिनापछि तिलमायाको शव बाकसमा घर आइपुग्यो । तिलमायालाई अन्तिम श्रद्धाञ्जली दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो । मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउनका लागि घरपरिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो । आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचार आएपछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । “सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र १५र२० दिनमा राहत पनि आइसक्ने छ ।” वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसला पछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ । सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ । मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ ।
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ । स्ववियु निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत प्राध्यापक डा. रामचन्द्र पोखरेलले विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने समय तोकेपनि निर्वाचन समितिको त्रुटिका कारण विवाद हुँदा मतदान हुन सकेको थिएन । निर्वाचन समितिले बुधबारका लागि निर्वाचन हुने सूचना जारी गरेपछि स्ववियु निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालबन्दी गरेपछि अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित भएको जनाएको छ । तालबन्दीका कारण भोलिको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बाधा उत्पन्न भएको हुनाले सर्वपक्षीय छलफलद्धारा स्ववियु निर्वाचनको मिति तय गर्ने जनाइएको छ ।
निर्वाचन समितिको लापरवाहीका कारण मतपत्र छपाईमा त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गरेको छ। उक्त संगठनको विरोधपछि पृथ्वीनारायण क्याम्पसमा मतदान सुरु हुन सकेको छैन । निर्वाचन समितिले गम्भीर लापरबाही गरेको उनीहरुको ठहर छ । अखिल छैठौंको तर्फबाट उम्मेदवार बनेका मिलन सुनारको मतदान गर्नलाई कोष्ट नराखिएकाले विरोधमा उत्रनुपरेको अखिल छैठौं कास्कीले उल्लेख गरेको छ । यद्यपी अन्य विद्यार्थी संगठनहरुले भने यथाशिघ्र मतदान सुरु गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् । स्ववियु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् । अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र ४० जना सदस्य पदका उम्मेदवार छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (बैद्य) का उम्मेदवार पनि चुनावी मैदानमा होमिएर प्रतिस्पर्धा गर्दैछन्। २ वर्षे कार्यकालका लागि २१ सदस्यीय स्ववियु समिति निर्वाचित हुनेछन् ।
खोटाङ: केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध)बाट खोलातर्फ पानी फर्काएर आयोजना बन्द गराएका हुन् । रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मिड रावाखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले फरक–फरक तीन ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, ६ दिप्सुङ र ७ सुङ्देलका स्थानीयले उक्त जलविद्युत् आयोजना सञ्चालक कम्पनीबाट मुआब्जा नपाएको गुनासो गरेका हुन् । जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले हालसम्म प्राप्न नगरेपछि चरणबद्ध आन्दोलन सुरु गरिएको निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिका संयोजक माइतीराज राईले बताए । “रावाखोलामा सञ्चालित तीनवटै जलविद्युत् आयोजना कम्पनीले जग्गाधनीहरुलाई क्षतिपूर्ति दिएका छैनन् । उनीहरुले स्थानीयलाई ठगी गरेका छन्”, उनले भने, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई समेत जानकारी गराएका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । तोकिएको समयमा सम्बन्धित जग्गाधनीलाई मुआब्जा उपलब्ध नगराएपछि निर्धारित कार्यक्रमअनुसार पानी खोलातर्फ फर्काएर आयोजना बन्द गरिएको छ ।”
होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषणा गरिएको बताए। त्यसपछि समुद्रमा विमाननजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो। उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो। अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्ट दिएका छन्। गुरेरोले यात्रुहरूमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताए। लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो। रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो। “विमान झन्डै हामीमाथि खस्यो। म माछा मार्दै थिएँ”, एचसिएच टेलिभिजनलाई एक माझीले भने। होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताए। ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ। रासस/एएफपी
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताउनुभयो । उहाँका अनुसार मतदान अपराह्न ४ बजेसम्म हुने छ । मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उहाँले बताउनुभयो । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् । स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हँुदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ । सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ । यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिनुभयो । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।