कर्णाली ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताउनुभयो । गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।” कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको उहाँको भनाइ थियो । निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष दाहालले बताउनुभयो ।
काठमाडौँ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।
काठमाडौँ : नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १८१, हवाई इन्धन ९आन्तरिक० को रु १९०, हवाई इन्धन ९बाह्य०को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ । मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि एक महिनामा रु ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । आइओसीलाई २१ अर्ब तिर्न बाँकी पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब रु २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ । आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रु सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत रु तीन अर्ब ऋण लिएको थियो ।
पाल्पा : सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको बताए । अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए ।
पोखरा : पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको छ । लगातारको वर्षापछि खेल हुन नसकेपछि आयोजक नव आदर्श सामुदायिक विकास समाजले लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको हो । निर्धारित तालिकाअनुसार १४ गते फाइनल हुनुपर्ने भएपनि वर्षाका कारण खेल दुई दिन पछि धकेलिएको थियो । तर, बिहीबारको लागि तय भएको फाइनल र तेस्रो स्थानको खेल पनि वर्षाले हुन नसक्ने भएपछि आयोजकले क्लबसँगकै सहमतिमा गण्डकी र पुलिसलाई संयुक्त विजेता घोषणा गरेको हो । नव आदर्श सामुदायिक विकास समाजले बिहीबार बिज्ञप्ति जारी गर्दै मौसम प्रतिकुलका कारण आयोजक, जुरी निर्णायक र चारवटै टिमको सहमतिमा खेल स्थगन गरी पुलिस र गण्डकीलाई पहिलो र दोस्रो वापतको पुरस्कार रकम तथा आर्मी र एपिएफलाई तेस्रो पुरस्कार रकम बराबर बाँडेर दिने उल्लेख गरेको छ । निर्णयबमोजिम फाइनलमा पुगेको नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कारवापत जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिएका छन् । उपाधीसहित प्राप्त हुने ट्रफीमा अर्को एक थप गरी दुवै टिमलाई बाँडिएको छ । यसैगरी, तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र एफिएफले तेस्रो स्थान वापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । तेस्रोलाई प्राप्त हुने ट्रफी समेत थप गरि प्रदान गरिएको जुरी कमिटी संयोजक समेत रहेका भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए । गण्डकीले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा तथा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । भदौं ११ बाट शुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल तय भएपनि एक खेल मात्रै र दोस्रो दिन पनि एक खेल मात्रै भएपछि खेल दुई दिन लम्विन पुगेको थियो । बिहीबार पनि खेल हुन सकेन । महिलातर्फ बुधबार सर्वाधिक चार पटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले लगातार दोस्रो वर्ष तथा समग्रमा दोस्रोपटक उपाधि हात पारेको थियो । पहिलो संस्करणमा फाइनलमा पुलिस एपिएफसँग पराजित हुँदै उपाधिविमुख बन्दा अघिल्लो संस्करणमा न्यू डायमन्डलाई नै हराएर उपाधि जितेको थियो । गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको छ । महिलातर्फ पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । व्यक्तिगत विधागततर्फ न्यू डायमण्डकी प्रगती नाथ उत्कृष्ट सेटर, आर्मीकी साफिया पुन उत्कृष्ट ब्लकर, डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट सर्भर, पुलिसकी कामना विष्ट उत्कृष्ट स्पाइकर र डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भइन् । पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक बने। उनीहरु सबैले ट्रफी पाएका छन् । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा गत भदौं ११ देखि भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको थियो । महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो ।
सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । क्षेत्रीय कार्य समिति क्षेत्र नं १ को आज छिञ्चुमा बसेको बैठकले प्रत्यक्षतर्फ खड्काको नाम एकल सिफारिस गरेको हो । क्षेत्रीय कार्यसमिति सचिव मोहन रानाले प्रतिनिधिसभाका साथै प्रदेशसभा समितिबाट सिफारिस भई आएका नाम बैठकले अनुमोदन गरी जिल्ला कार्य समितिमा पठाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेत–१ बाट समानुपातिकतर्फ नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ प्रदेशसभा (क) बाट प्रत्यक्षमा जिल्ला सभापति खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंह तथा समानुपातिकतर्फ अनन्तप्रसाद पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पङ्गाली र सुशीला कार्कीको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य अमृता शाही, भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढामगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम सिफारिस गरिएको छ । समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलामती विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको छ ।
पोखरा । पोखरामा ओली एण्ड एशोसिएटले ‘ग्लोबल एजुकेशन फेयर २०२२’ आयोजना गर्ने भएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी २३ र २४ गते ‘ग्लोबल एजुकेशन फेयर २०२२’ अर्थातः विश्व शिक्षा मेला आयोजना हुने भएको हो । पोखराको जिरो किलोमिटरस्थित शान्ति निवासको तस्रो तल्लामा मेला सञ्चालन हुने एसोसिएट पोखरा प्रमुख तिलक लामिछानेले बताए । ‘ग्लोबल एजुकेशन फेयर’ विद्यार्थीहरुका लागि समर्पित गरिएको हो, उनले भने, ‘यस विश्व शैक्षिक मेलाबाट विदेशमा रही थप अध्ययन गर्न र विदेशमा गई अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि फाइदाजनक हुनेछ ।’ लामिछानेका अनुसार सो मेलामा ‘विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, न्युजील्याण्ड र अमेरिका लगायतका देशहरुको बोरमा बुझ्न र सम्बन्धित परामर्शदाताहरुलाई भेट्ने अवसर प्राप्त गर्नेछन् । मेलामा प्रवेश निशुल्क रहेको बताउदै लामिछानेले ‘ग्लोबल एजुकेशन फेयर २०२२’ सफलताको साथ सम्पन्न गर्न र वैदशिक अध्ययनको लागि जान इच्छुक विद्यार्थीहरुलाई मेलाको लाभ उठाउन आग्रह गरे ।
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन । बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो । कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले राससलाई जानकारी दिनुभयो । “विकास निर्माणका कामबाट हुने कमिसनको खेल र काममा झारा टार्ने प्रवृत्तिले यस्तो भएको हो, महानगरपालिकाले तीन महिना पनि नटिक्ने कस्तो कालोपत्र गर्यो ?, तोकिएको गुणस्तरमा काम नहुँदा यस्तो भयो, समितिले तीनपटक बजेट छुट्याए पनि महानगरपालिकाले नै गर्न खोजेकाले यो सडकको काम गर्न दिइएको हो”, उहाँले भन्नुभयो । कालोपत्र हुनु एक वर्षअघि भने यो सडक समितिको बजेटबाट मर्मत सम्भार गरिएको थियो । विश्व सम्पदा क्षेत्रको सडक बनाएको तीन महिनामै भत्कँदा पर्यटकका माध्यमबाट देशका बारेमा गलत सन्देश गएको स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउनुहुन्छ । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको बीचबाट जान बाध्य हुनुपरेको छ । महानगरपालिकाको रु नौ करोड लागतमा निर्माण भएको करिब एक किमी सडक तीन महिना पनि नटिक्दा स्थानीयवासी, पर्यटक र बौद्धनाथ दर्शन गर्न आउने भक्तजन दैनिक प्रभावित हुने गरेका छन् । काठमाडौँ महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको बताउनुहुन्छ । “महानगरपालिका निर्माण विभाग प्रमुख राम थापालाई गुणस्तरहीन काम भएकाले भुक्तानी रोकेर राम्रो काम गराउन भनेँ, वडाले त्यहाँभन्दा बढी गर्न नसक्ने भएकाले सडक बनाएको केही समयमै भत्कियो, अहिले हिँड्न नै समस्या भएको छ”, उहाँले भन्नुभयो । यस सम्बन्धमा महानगरपालिका निर्माण विभाग प्रमुख थापासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आफू बैठकमा भएकाले केही भन्न नसक्ने बताउनुभयो । विदेशबाट आउने धेरै पर्यटक बस्ने हायात रिजेन्सी होटलको पूर्वोत्तरको पर्खालको यो सडकको दुरावस्थाले नेपालले विश्व सम्पदा क्षेत्रलाई कति महत्व दिएको छ भन्ने सन्देश जाने महानगरपालिका– ६ का अध्यक्ष भुवन लामा बताउनुहुन्छ । आफू वडामा निर्वाचित हुनुअघि बनेको सडक भएकाले यस विषयमा के–के भएको भन्ने बुझी महानगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने उहाँले जानकारी दिनुभयो ।

