पर्सा । पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । हाल दैनिक रुपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताउनुभयो ।
दोधारा चाँदनी : सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको ब्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व बिधिवत रुपमा सुरु हुने यसका जानकार गोमती भट्टले बताउनुभयो । “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ”, उहाँले भन्नुभयो, “बिरुडा भिजाउँदा माङ्गलकी सगुन फाँग गाउँछौँ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ । फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताउनुभयो । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्न भन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”, उहाँले भन्नुभयो, “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ । सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्र्याउने ब्रतालु सरस्वती अवस्थी बताउनुहुन्छ । “गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुबधागो लगाउने गछौँँ”, उहाँले भन्नुभयो, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।” अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने चलन छ । प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिनछ । गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । कञ्चनपुरमा पनि महाकाली साहित्य सङ्गमलगायत संस्थाले गौराको अवसरमा विभिन्न कार्यक्रम राखेका छन । साहित्यकार रमेश पन्त ‘मीतबन्धु’का अनुसार आजदेखि महेन्द्रनगरस्थित खुला मञ्चमा गौरा महोत्सव आयोजना गरिएको छ । “गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि गर्दैछौँ, उहाँले भन्नुभयो, “परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि पनि हामीले कार्यक्रम गर्न लागेका हौँ ।” काठमाडौँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीले पनि गौरा पर्व धुमधामका साथ मनाउने गर्छन् ।
विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र राखिने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ । एक महिना अगाडि तीनपैनी छेउमा रहेको नाङ्लो रेष्टुरेण्टमा आगलागी भएको थियो । रेष्टुरेण्टमा अग्नि नियन्त्रण यन्त्र नहुँदा ठूलो क्षति भएको थियो । विराटनगरवासीको हितका लागि महानगरले गरेका हरेक निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको छलफलमा सहभागीले प्रतिबद्धता जनाएका छन् । होटलको सुरक्षाका लागि आफूहरू अग्नि नियन्त्रण यन्त्र राख्न तयार रहेको होटल एसोसिएसन नेपाल प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । “महानगरले धेरै राम्रो निर्णय गरेको छ । यो हाम्रै सुरक्षाका लागि हो”, उहाँले भन्नुुभयो, “हामी होटलको स्तर र क्षमताअनुसार चाँडै नै अग्नि नियन्त्रण यन्त्र राख्छौँ ।” विराटनगरका कतिपय ठूला होटलले समेत अग्नि नियन्त्रण यन्त्र नराखेको पाइएको छ । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीसहितको उपस्थितिमा भएको छलफलमा महानगरले गरेका राम्रा निर्णय कार्यान्वयनमा आफूहरू तयार रहेको होटल व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् ।
बझाङ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिनुभयो । ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् । मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् । खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् ।
लमजुङ । यहाँ दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँले भन्नुभयो, “अवैधरूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको भन्ने विषेश सूचनाका आधारमा उनलाई मङ्गलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । रानामगरलाई लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, सङ्घ तथा प्रदेशको निर्वाचन नजिकिएसँगै अवैधरूपमा राखिएका हातहतियारबाट हुनसक्ने घटनालाई रोक्न सक्रियता रुपमा लागेका छौँ ।आज बिहान ती अभियुक्तलाई पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको प्रहरीले यसअघि केही महिनाअघि बेँसीसहर नगरपालिका–१ बाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
काठमाडौँ : सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिनुभयो । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ । मन्त्रालयले दिवस मनाउने क्रममा स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ । मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएकोे छ । सो निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो । –––
बलेवा : बागलुङमा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो । उत्पादित अण्डाले जिल्लाको जनसङ्ख्यालाई भाग गर्दा प्रतिव्यक्ति वार्षिक दुई वटा अण्डा अझै अपुग रहेको केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताउनुभयो । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक व्यक्तिका लागि वार्षिक ४८ अण्डाको आवश्यकता हुन्छ । तर बागलुङमा उत्पादित अण्डाले हरेक व्यक्तिलाई वार्षिक ४६ मात्रै पुग्ने गरेको छ । बाहिरी जिल्लाबाट आउने अण्डासँग प्रतिस्पर्धा गर्न नसकेका कारण व्यवसायीहरुले अण्डा उत्पादन कम गरेका हुन् । दानाको मुल्यवृद्धि हुने र अण्डाको मूल्य घट्ने गरेका कारण घाटा सहन नसकेर अण्डाको उत्पादन कम गर्नुपरेको केसी एकीकृत पशु विकास विडर्स फार्म बागलुङका सञ्चालक खड्कबहादुर केसीले बताउनुभयो । केसीले पाँच करोड लगानी गरेर पाँच वर्षदेखि अण्डा उत्पादन गर्दै आउनुभएको छ । ‘‘एकातिर ठूलो मात्रामा उत्पादन गर्ने तराईका कम्पनीले बजारमा निकै सस्तो मूल्यमा अण्डा पठाउँदा हाम्रो अण्डाले बजार पाउँदैन्, अर्कोतर्फ उत्पादन लागत ह्वात्तै बढेको छ’’, केसीले भन्नुभयो, ‘‘उत्पादन लागत र बजार मूल्यकै कारण अण्डाको व्यवसाय गर्न नसकिने अवस्थामा पुग्यो ।’’ उहाँले अहिलेकै अवस्था रहे अण्डाको उत्पादन घट्ने मात्र नभएर यहँको उत्पादन शून्यमा पुग्ने बताउनुुभयो । अण्डाको उत्पादन लागतका आधारमा आधार मूल्य तोक्ने र सोही अनुसारको बजार व्यवस्थापन नगरे व्यवसायी विस्थापन हुने अवस्थामा पुग्ने उहाँले बताउनुभयो । ‘‘दानाको मूल्य दुई हजार हुँदा एक पेटी अण्डको मूल्य दुई हजार सात सयदेखि तीन हजार थियो’’, केसी भन्नुहुन्छ, ‘‘अहिले दानाको मूल्य बढेर तीन हजार सात सय पुग्यो अण्डाको मूल्य घटेर रु दुई हजार पाँच सय पेटीमा झरेको छ ।’’ बागलुङमा उत्पादित अण्डा व्यवसायीले समान्य नाफा मात्रै लिँदा रु दुई हजार आठ सय प्रतिपेटी पर्ने गरेको छ भने बाहिरी जिल्लाबाट दुई हजार तीन सयदेखि दुई हजार पाँच सय सम्ममा प्रतिपेटी अण्डा आयात हुने गरेको छ । जिल्लाभर घरायसी प्रयोजनका लागि उत्पादन हुनेबाहेक ३० वटा मात्रै फार्मले अण्डा उत्पादन गर्छन् । तीमध्ये अधिकांश फार्महरुले दैनिक एक हजारभन्दा कम अण्डा उत्पादन गर्ने गरेको तथ्याङ्क छ । ‘‘पहिले एक हजारमाथि उत्पादन गर्ने किसानले पनि पछिल्लो समय व्यवसायबाट हात झिके’’ विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले भन्नुभयोे, ‘‘हामी आत्मानिर्भरको बाटोमा थियौँ, तर बाहिरी बजारले हाम्रा किसानलाई किच्यो ।’’ घरायसी प्रयोजनका लागि पालिने स्थानीय जातको कुखुराले वार्षिक ४० देखि ५० वटा मात्रै अण्डा दिने र व्यावसायिक रुपमा अण्डा उत्पादनका लागि पालिने कुखुरामा कमी आएकाले आवश्यकता अनुसारको उत्पादन नभएको उहाँले बताउनुभयो । सरकारले अण्डा उत्पादक किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएको भए पनि अपर्याप्त रहेको किसानको गुनासो छ ।
पर्वत : पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उहाँको भनाइ छ । पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताउनुभयो । यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो । पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ ।

