कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

  दमक:   झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न थालेको पाईएको छ ।   विशेष गरेर झापाको दमकमा रहेको स्थानीय सरकारी दमक अस्पतालमा कन्काईपु्लको वारी क्षेत्र अर्थात दमक शिवसताक्षी नगरपालिका, कमल गाँउपालिका, गौरीगन्ज गाँउपालिका लगायतका पालिकाहरुका विरामी आउने अवस्था रहेको छ । यहाँ दैनिक एक हजारभन्दा बढी विरामीको चाप रहने गरेको छ ।   स्थानीय तहहरुले विपन्न समुदायको स्वास्थ्य विमालाई प्राथमिकतामा राख्दै उपचारका लागि आफ्नै पालिकामा अस्पताल बनाउने कार्य अघि बढाएको पाइएको हो । हामीले आर्थिक वर्षको शुरुवातदेखि नै कम्तिमा पाँच बेडका लागि आवश्यक विशेषज्ञसहितको अस्पताल शुरु गर्दैछौँ, गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले भन्नुभयो ।   बीमाको उपचारका लागि आवश्यक स्वीकृति पनि गाँउपालिकाले पाइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनुभएको छ । यहाँ अस्पतालबाट सेवा शुरु भएपछि अन्यत्र राम्रो अस्पताल रेफर भएर जाने विरामीका लागि दमक अस्पताल जानु पर्ने बाध्यता टर्नेछ ।    गौरादह नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा आगामी एक वर्षभित्रमा नै कम्तिमा पनि पाँच बेडको अस्पताल शुचारु गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । तीन जना विशेषज्ञ चिकित्सक सुविधासहितको अस्पताल शुरु गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनुभयो ।    गौरादहको स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा सुचारु गरिने भएको हो । यहाँ ल्याव, एक्स–रेलगायतका आधारभूत स्वास्थ्य उपकरणहरु तत्कालै व्यवस्थापन गरिने पनि जनाइएको छ । अस्पतालमा उपचार हुन नसक्ने र बाहिर ठूला अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको सुवेदीको भनाइ छ ।   यसैगरी, गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछीमा रहेको गौरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको रूपमा सञ्चालन गरिने र यसका लागि आवश्यक प्रक्रिया सकिएको गाउँपालिका उपाध्यक्ष पुजन कुँवरले बताउनुभएको छ । आर्थिक वर्ष २०७९÷८० को साउन १ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको गौरीगंज अस्पतालको रूपमा स्वीकृति पाएर सञ्चालन हुने उहाँका भनाइ रहेको छ । बीमाका विरामीहरुले यही उपचार पाउने अवस्था रहनेछ, उहाँले भन्नुभयो ।    अस्पतालका लागि डिजिटल भिडियो एक्स–रे मेसिन र एम्बुलेन्सको व्यवस्थापन हुने जनाइएको छ । गाँउपालिकाले अति विपन्नहरुको स्वास्थ्य बीमालाई आफ्नो नीति तथा कार्यक्रममा महत्वका साथ स्थान दिएको छ ।

  काठमाण्डौँ:    चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् ।   हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।   उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।        हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका दमक–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताउनुभयो ।        हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मारेको छ । भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ यहीको जङ्गलमा रैथाने भएर बसेका छन् । झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ ।   हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत नरोकिएको हात्ती संरक्षणकर्ता शङ्कर लुइँटेलको भनाइ छ ।   बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा करिब आठ वर्ष र अर्जुनधारा नगरपालिका–४ दहीझोडा सामुदायिक वनभित्र रहेको खोला किनारमा २५ वर्षको हात्ती यसै हप्ताभित्र मृत भेटिएको सहायक वन अधिकृत खत्रीले जानकारी दिनुभयो ।   अर्जुनधारामा मृत भेटिएको हात्तीको वरिपरि विद्युतीय तारबार भेटिएको हुँदा सो हात्तीलाई स्थानीयवासीले नै करेन्ट लगाएर मारेको हुनसक्ने आशङ्का गरिएको उहाँको भनाइ छ । 

काठमाण्डौँ:   खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातीत उत्पादनले विस्थापित गरेको किसानको पीडा छ ।      सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्याले बाहिरबाट आएका उत्पादनले आफूहरुको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका–७ का किसान विजयसिंह केवट बताउनुहुन्छ । आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ ।      भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युत्लगायतमा सहयोग पुर्याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ । नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका–१४ का किसान पन्नेलाल केवट गुनासो गर्नुहुन्छ । नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका–१२ का किसान राधेश्याम  लोध बताउनुहुन्छ ।      सङ्घ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रुपन्देही कृषि उद्यमी बताउँछन् ।  सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले नगर क्षेत्रमा तरकारी खेती उत्पादन गर्ने किसानका लागि अब विशेष प्याकेज ल्याउने भन्दै भारतीय तरकारीको विकल्प खोज्ने बताउनुभएको छ ।

सङ्खुवासभा:    सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्र्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्र्याक्टर पल्टिएर ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो  ।       मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । ६६ वर्षीय भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो ।      दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरीचौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  । ट्र्याक्टर  ‘लोडपिन’ अचानक भाँचिन गई रोडको बायाँतर्फ पल्टिइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ:   आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।       मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।       देशभर धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १ र मधेस प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।      नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

  काठमाण्डौँ:   सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइको रेडियो बनाउनुपर्ने बताउनुभएको छ ।    रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तालिम समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषाभाषी, जातजाती र भूगोलालाई एकीकृत र प्रोत्साहन गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको रोजाई बन्नुपर्ने बताउनुभयो ।    “अहिले रेडियो सबैको पहुँचमा छ, सबैको पहुँचमा मात्रै होइन, यसलाई स्वदेश र विदेशमा रहेका सबै नेपालीको रोजाई बनाउँदै हरेक भाषामा बज्ने समाचार, गीत र कार्यक्रम सबैको लागि लोकप्रिय बनोस्, त्यस उद्देश्यका साथ अगाडि बढनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री कार्कीले रेडियो नेपालले प्रकाशन गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक’को विमोचन गर्दै नेपालको आर्थिक र सामाजिक, धरातलीय यर्थातलाई मनन गर्दै रेडियो नेपालको गरिमालाई अझै अभिवृद्धि गर्ने उद्देश्य र समर्पणका साथ लाग्न निर्देशनसमेत दिनुभयो ।    सरकारका प्रवक्ता कार्कीले नेपालको विविध भाषाभाषी, जातजाती, पहाड, हिमाल र तराई सबै भू–भागलाई राष्ट्रिय पूँजीको रुपमा विकास गरेर मधेश, पहाडबीचमा भएको अन्तरसम्वन्धलाई अझ सुदृढ गरेर मुलुकलाई जतिसक्दो चाँडो विकासको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।    मन्त्री कार्कीले भन्नुभयो, “हाम्रो मुलुक भूगोलका हिसाबले हिमाल, पहाड र तराई मधेसमा विभाजन छ, जातजातीको, भाषाको हिसाबले विविधतामा छ, यो हाम्रो मुलुकको विशिष्ट पहिचान हो, विश्वमा नै यस किसिमको भौगोलिक विविधता भएको र यती धेरै भाषाभाषि भएको देश धोरै छन्, नेपालको जातीय सद्भावलाई अझ समृद्ध गर्दै लैजानुपर्छ । सबै भाषाभाषीको संरक्षण गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउनुपर्छ ।”    सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले रेडियो नेपालले स्रोताको मन जित्ने गरी समाचार तथा कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । तीन दिनसम्म सञ्चालित सो तालिममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, पत्रकार टिकाराम यात्री र विज्ञ अनिता गुरुङले प्रशिक्षण दिनुभएको थियो ।

पोखराः  सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्ना बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड बजेट विनियोजन गरेका छन् ।  यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।   सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०र५० लाख विनियोजन गरिएको हो । पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।   पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए । स्याङजा भीरकोट नगरपालिका १ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ ।मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रष्टमा बजेट विनियोजन गरेका हुन् ।

  काठमाण्डौं:   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि बसेको पहिलो मुल आयोजक समितिको बैठकले प्रतियोगिताका लागि विजेताले पाउने नयाँ मुख्य ट्रफि निर्माण गर्ने निर्णय गरेको छ ।   काठमाण्डौंमा आज बसेको मुल आयोजक समितिको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट लागु हुने गरी मुख्य ट्रफि निर्माण गर्ने लगायत ६ वटा निर्णयहरु गरेको हो । समितिको निर्णय अनुसार उक्त मुख्य ट्रफि लगातार तीन संस्करणको उपाधि विजेता टोलीले प्राप्त गर्नेछ । तर रनिङ्ग ट्रफिको रुपमा रहेको उक्त मुख्य ट्रफि कति लागत र कस्तो निर्माण गर्ने भन्ने विषयमा समितिले आधिकारिक रुपमा कुनै पनि जानकारी गराएको छैन ।   यसबाहेक समितिको पहिलो बैठकले प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने, प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने, प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिमलाई सहभागी गराउने निर्णय गरेको छ । त्यस्तै प्रतियोगितामा विभिन्न ३६ खेल विधामा प्रतिष्पर्धा गराउने,नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी निर्माण गरिने भनिएको मुख्य ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा डुलाउने निर्णय गरेको छ ।   यस्तै बैठकले आर्थिक वर्ष २०७८–७९ मा सरकारले छुट्याएको ६० करोडको बजेट स्विकृत भएको जानकारी गराएको छ ।   प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुनेछ ।

पोखरा:  बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।   उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् । असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य कव्वडी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।   त्यस्तै प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्य पदक जितेर सनसनी मच्चाएको छ । नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कास्य तथा कब्बडी छात्रातर्फ १ कास्य पदक प्राप्त गरेको छ ।   त्यस्तै तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्ररछात्रा तर्फ १÷१ स्वर्ण प्राप्त गर्न सफल भएको छ ।   प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश निति तथा योजना आयोगका सदस्य डा।सुवास अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।   प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरुलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरु यहि असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ ।