दाङ: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने आफ्नो दायित्व भएको बताउनुभएको छ । रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अझैसम्म पनि नागरिकले पाउने आधारभूत सेवा पनि सहज पाउन नसकेको भन्दै यसलाई सहज बनाउन पहल गर्ने बताउनुभयो । यसका लागि तीनै तहका सरकारसँग छलफल गर्नेसमेत बताउनुभयो । राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवालाई थप विस्तार गर्ने समेत बताउनुभयो । उहाँले कोरोनाको समयमा योगदान गरेका कर्मचारीको नवीकरणमा पहल थाल्नेसमेत बताउनुभयो । त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने कुरा अघि सारेको अवस्थामा अझै पनि धेरै पालिकामा ती अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै यसलाई पनि पूर्णता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रादेशिक अस्पतालको अनुगमन राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अवलोकनसमेत गर्नुभएको छ । त्यस अवसरमा राप्ती प्रादेशिक अस्पताल प्रदेशस्तरीय भएकाले प्रदेशले त्यसलाई हेर्ने जिम्मा पाएको मन्त्री केसीले बताउनुभयो । “अस्पतालको पनि जिम्मेवारी बाँडफाँट भएको छ, प्रतिष्ठान सङ्घीय सरकार मातहत हुन्छ, यो अस्पताल प्रदेश सरकार मातहत छ, प्रदेश सरकारले पनि अस्पतालका लागि धेरै काम गरेको छ”, उहाँले भन्नुभयो “सङ्घीय सरकारको तर्फबाट हामीले जे–जे गर्नुपर्छ, त्यसमा प्रतिबद्ध भएर लाग्ने छौँ ।” त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको जनशक्ति व्यवस्थापनका लागि सर्वेको काम अघि बढाउन पहल थालि दिनका लागि अनुरोध गर्नुभयो । प्रादेशिक अस्पतालको आलोचना गर्ने गरिएको भन्दै यसलाई सुधार गर्न दक्षजनशक्ति आवश्यकपर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बताउनुभयो । अस्पतालको छुट्टै आम्दानी नभएकाले पनि आफैले कर्मचारी थप गर्नसक्ने अवस्था नभएको उहाँको गुनासो थियो । “अस्पतालमा एमआरआई बाहेक भिडियो एक्सरे, सिटी स्क्यान, एक्सरेजस्ता ठूला सेवा सञ्चालनमा छन्, त्यसले गर्दा बिरामीको चाप बढिरहेको छ”, उहाँले भन्नुभयो “त्यो अनुसार अब जनशक्ति चाहिन्छ ।”
काठमाण्डौँ: नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रदेशको बजेटले संघीयताको धज्जी उडाएको बताएका छन्। नेता पौडेलले फेसबुकमार्फत यस्तो प्रतिक्रिया लिएका हुन्। उनले प्रदेशका बजेट पहुँचका आधारमा वितरण हुने गरेको र यसको निरन्तरताबाट आर्थिक विकास सम्भव नहुने उनको भनाइ छ। ‘प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको ध्वजी उडेको छ। व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने, पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैँ बजेटलाई कनिकाजस्तो छर्ने। यस्तै निरन्तरता हुने हो भने सयौँ वर्षमा पनि आर्थिक विकास हासिल गर्न सकिँदैन । बजेटको प्राथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्न र उत्पादनमा जोड दिन केन्द्रित हुनुपर्दछ,’ उनले लेखेका छन्।
श्रीलंका: श्रीलंकाले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । तर शनिबार श्रीलंकामा जे भयो यो आउँदा दिनमा लामो समयसम्म सम्झना भइरहने छ । शनिबार जे भयो त्यसको पृष्ठभूमि महिनौंअघिदेखि तयार भइरहेको थियो, तर कसैलाई पनि यो कल्पना थिएन कि आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवास कब्जा गर्ने छन् । तर आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति गोटाबाया राजापाक्षे र महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाए । उनीहरुले प्रधानमन्त्रीको निजी आवासमा त आगो नै लगाइ दिए । कडा सुरक्षा घेरामा रहने राष्ट्रपति भवनलाई शनिबार दिउँसोदेखि नै प्रदर्शनकारीले घेरेका थिए । सुरुमा एक तमिल युवा राष्ट्रपति भवनको बन्द रहेको ढोका नाघेर भित्र छिर । त्यसपछि अरु प्रदर्शनकारी पनि गेट तोडेर भित्र छिर्न थाले । सुरक्षाकर्मीले रोक्ने प्रयास नगरेका होइनन् । तर उनीहरुले जति नै दमन गरे पनि स्थिति रोकिने थिएन । भीडलाई भित्र छिर्नबाट रोक्न असफल भएपछि सुरक्षाकर्मी बाहिरिए । सुरुमा राष्ट्रपति भवनमा छिरेका प्रदर्शनकारीले तोडफोड गर्न थालेका थिए । तर त्यहाँ आक्रोशित प्रदर्शनकारी मात्र थिएननन्, भिक्षु थिए, फरक फरक धर्मावलम्बी थिए, विद्यार्थी थिए । प्रदर्शनको नेतृत्व गरिरहेका धार्मिक समूहका नेता र अन्य वुद्धिजीबीले राष्ट्रपति भवनमा भएका सामान तोडफोड गर्नका लागि नभई आनन्द लिनका लागि भएको भन्दै त्यसकोे आनन्द लिन आग्रह गरे, आफ्नो रहर पूरा भएपछि प्रदर्शनकारीलाई बाहिर निस्किन र अरुलाई भित्र पठाउन अनुरोध गरे । उनीहरुले राष्ट्रपति भवनको हरेक सामान जनताको सम्पत्ति भएको भन्दै उनीहरुले तोडफोड गर्नेहरुलाई सम्झाइ बुझाइ गरे । त्यसपछि तोडफोड रोकियो । त्यसपछि राष्ट्रपति भवनमा पुगेका प्रदर्शनकारीहरु विशाल भवनमा उपलब्ध सुविधा केही मिनेटका लागि प्रयोग गरेर भए पनि आनन्द लिन लागे । कोही भान्सामा छिरे, भान्सामा एक दिन अघि नै तयार पारिएको खाना थियो, उनीहरुले त्यो खाए, केहीले मिक्सरमा जुस बनाएर पिए त कसैले बारमा गएर ह्विस्कीको चुस्की लिए । कोही पियानो बजाउँदै संगीतमा झुमे । कोही बैठक कोठाका आरामदायी सोफामा बसे । प्रदर्शनकारीले राष्ट्रपति भवनमा हुने बैठकको नक्कल गरे । कोही राष्ट्रपतिको बेडरुममा पुगे, विस्तारामा सुते, सेल्फी लिए, भिडियो बनाए । एक प्रदर्शनकारीले राष्ट्रपतिको विस्तारमा सुतेर बनाएको भिडियोमा भने, ‘राष्ट्रपति ज्यू धन्यवाद, म अहिले तपाईँको विस्तारमा सुतरिहेको छु । यो एकदम आरामदायी छ ।’ कसैले राष्ट्रपति भवनमा रहेको पौडी पोखरीमा पौडीको आनन्द लिए । राष्ट्रपति र उनको परिवारका सदस्यले प्रयोग गर्ने पोखरीमाा प्रदर्शनकारीहरुले पौडी खेलिरहेको भिडियो विश्वभर भाइरल भएको छ । केही प्रदर्शनकारीले राष्ट्रपति र उनका परिवारले प्रयोग गर्ने शौचालय प्रयोग गरे, बिशाल र भव्य शौचालय र त्यहाँ एसीको सुविधा देखेर उनीहरु हैरान भए । केही प्रदर्शनकारी राष्ट्रपतिले प्रयोग गर्ने सामान राख्ने कोठामा पसे, दराज खोले । दराजमा रहेका पोशाक लगाएर तस्वीर खिचे । राष्ट्रपति भवनको एउटा ठूलो कोठामा व्यायामशाला छ । प्रदर्शनकारी व्यायामशालामा रहेका उपकरण प्रयोग गरेर पसिना बगाउन पनि पछि परेनन् । उनीहरु मध्ये केहीले राष्ट्रपति भवनमा नै रात बिताएका छन् । आइतबार बिहान पनि प्रदर्शनकारीहरु राष्ट्रपति भवनका कोठा कोठामा घुमिरहेको देखिन्थे । जो प्रदर्शनकारी राष्ट्रपति भवन भित्रबाट बाहिर निस्कन्थे । भित्र पस्न नपाएकाहरु भित्रको स्थितिका बारेमा उनीहरुलाई सोधपुछ गर्थे । केही छिनलाई भए पनि राष्ट्रपतिको जीवनशैलीको आनन्द लिएकाहरु गौरवका साथ आफ्नो अनुभव बताउथे । (बीबीसी तमिलमा प्रकाशित सामग्रीको भावानुवाद)
भरतपुर: बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो । बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।
काठमाण्डौँ: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २००ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार १८५ कायम रहेको महासङ्घले जनाएको छ ।
काठमाण्डौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा रोप्नुभएको छ । आजको दिन तुलसीको बिरुवा रोपी व्रत बस्नाले समाज, परिवार एवं स्वयंमा सुख, शान्ति तथा आरोग्य प्राप्ति हुने जनविश्वास छ । हिन्दू धर्म परम्परामा हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत प्रारम्भ भई ईश्वर उपासनाको महत्वपूर्ण समय सुरु भएको मानिन्छ । औषधीय गुणलेयुक्त तुलसीलाई स्वास्थ्यका दृष्टिले लाभदायी जडिबुटी मानिएकाले घरैमा तुलसीका बिरुवा हुर्काइ प्रत्यक्ष फाइदा लिन सकिन्छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीको उपचारमा तुलसी, घरेलु औषधिका रूपमा उपयोग गर्ने गरिन्छ । यसप्रकार परापूर्वकालदेखि नै हरिशयनी एकादशीको धार्मिक तथा स्वास्थ्यसँग सम्बन्धित पक्षको विशेष महत्व रहेको पाइन्छ ।
दाङ: दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उहाँकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ । बिरामीहरू सबैकोे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
काठमाण्डौँ: चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज (आइतबार) विहान काठमाडौं आइपुग्नु भएको छ । सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । आठ सदस्यीय टोली सहित उहाँ नेपाल आइपुग्नु भएको हो । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ ।
काठमाण्डौँ: सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ । तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो । घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताउनुभयो । उहाँको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ ।

