नवलपरासी: रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिम)० मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।” प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताउनुभयो । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ । पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । “अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौँ”, उहाँले भन्नुभयो, “अपरिचित मान्छेसँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरून्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।”
काठमाडौं: फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ । आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेल लगी जलाउने चलन छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । आज हिमाली र पहाडी गरी ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको थियो । शुक्रबार तराइका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यस पर्वका अवसरमा आज राजधानीको टुँडिखेल, खुलामञ्च, वसन्तपुर, रामशाहपथजस्ता स्थानमा हजारौँ मानिस जम्मा भएर फागु पूर्णिमा पर्व मनाएका छन् । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नसालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । समग्रमा राजधानीलगायत पहाडी र हिमाली जिल्लामा फागु अर्थात् होली अनुशासित बन्दै गएको छ ।
काठमाडौं: होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन् । पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुङ्गो लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौँबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा लिएको छ । जसमा चार पाङ्ग्रे १८ तथा दुई पाङ्ग्रे २०१ छन् । आज साँझसम्म दुुई पाङ्ग्रे ११६ तथा चार पाङ्ग्रे १३ गरी १२९ सवारी साधन छाडिसकिएको छ ।
कालीकोट: कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते हुनुभएको छ । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो । सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताउनुभयो । “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उहाँले भन्नुभयो, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: काठमाडौं उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ । उहाँले भन्नुभयो, “हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर गाडी रोकेर राखिन्छ ।” त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ । हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उहाँले बताउनुभयो । प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ । त्यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ । आज काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा दुई दिननै होली खेलिन्छ ।
काठमाडौं: यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन । सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ । केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउनुहुन्छ । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो । चीरोत्थान गरिएको वसन्तपुरमा विशेष चहलपहल यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूमपा होली अर्थात् फागु पूर्णिमा पर्व मनाउन थालेका छन् । बिहानैदेखि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा मानिसको चहलपहल बढेको छ । वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ । वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । यसका लागि बेलुकीसम्म नै वसन्तपुर दरबार क्षेत्रमा मानिसको भीड लाग्छ । फागुन शुक्ल अष्टमीका दिन फागुन २३ गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । वसन्तपुरमा चीर गाडेपछि होली सुरु भएको मान्ने गरिन्छ । यसैले केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो । यो क्रम अहिले वसन्तपुर दरबार क्षेत्रमा पनि रोकिएको काठमाडौँ महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिनुभयो । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस अवसरमा आज हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा सरकारले बिदा दिएको छ । शुक्रबार तराइ क्षेत्रका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यसरी फागु पूर्णिमा पर्व देशभर मनाउने गरिन्छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।
भक्तपुर: फागुपूर्णिमाको अवसरमा याँछेंस्थित भीमसेन मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । फागुपूर्णिमाको दिन भीमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोतहरू खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता भएकाले भक्तजन झिसमिसेदेखि नै भक्तजनको भीड लागेको हो । आजको दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था र पसल सञ्चालन गर्नेहरू बलिसहितको पूजा गर्न भीमसेन मन्दिर पुग्ने गर्छन् । आज टोलटोलमा धिमेबाजा, बाँसुरीलगायत बाजा बजाउँदै विभिन्न टोली भीमसेन मन्दिर जाने गरेका छन् । देवताको पूजाअर्चनापछि समयबजी खाएर फागुपर्व मनाउने प्रचलन छ । स्थानीय महिला हाकुपटासीमा सजिएर रङ खेल्दै टोलटोलमा पुग्ने परम्परा पनि अद्यापि कायम छ । आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठले बनेको प्रतीकात्मक पुरुष जननेन्द्रियलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागुपर्व हुन्छ । यो प्रतीकात्मक काठको लिङ्ग बोक्ने व्यक्ति पुत्रहीन भएमा कालान्तरमा निजलाई पुत्रप्राप्ति हुने जनविश्वास छ ।
चितवन: गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपुर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । यो पर्वमा धनुष वाण, बर्छा,छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ । खुकुरीजस्ता घरेलु हतियारको पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले राससलाई बताउनुभयो ।
सोलुखुम्बु: वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले जनाएको छ । एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फ अघि बढेको छ । टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ । टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपिसिसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ । खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ । परम्परागत विधि र साइत हेर्ने परम्परा सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ । एसपिसिसीका अनुसार आरोहण मार्ग निर्माण कार्य सुरु गर्न बौद्ध परम्पराअनुसार विशेष पूजा गरिन्छ । यस क्रममा स्थानीय लामा गुरुहरूले पूजाआजा गरी पर्वत देवतालाई खुसी पार्ने प्रयास गर्छन् । पर्वत देवताको कृपा प्राप्त गरेपछि मात्र आइसफल क्षेत्रजस्तो जोखिमयुक्त क्षेत्रमा पाइला राख्ने चलन रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । मार्ग निर्माणअघि बढाउन परम्परागत विधिअनुसार साइत हेरिन्छ । त्यसपछि मात्रै बाटो निर्माणको काम अगाडि बढाइन्छ । अध्यक्ष शेर्पाअनुसार यस विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास रहँदै आएको छ । दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ । आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ । सगरमाथा क्षेत्रमा आरोहण मार्ग निर्माण तथा मर्मतका लागि एसपिसिसीले विदेशी आरोहीहरूबाट शुल्क लिँदै आएको छ । प्रत्येक विदेशी आरोहीबाट ६०० अमेरिकी डलर लिने व्यवस्था छ । यो शुल्क मार्ग निर्माण, मर्मत तथा वातावरणीय सरसफाइका लागि प्रयोग गरिन्छ । एसपिसिसीले आरोहण अनुमति जाँच गर्नाका साथै आधार शिविर क्षेत्रमा वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने यी ‘आइसफल डाक्टर’हरूले जोखिम मोलेर हिउँको पुल बनाउने, आरोहीहरूको सुरक्षाका लागि मार्ग पहिल्याउने र अत्यधिक जोखिमपूर्ण क्षेत्रमा आधारभूत संरचना तयार गर्ने काम गर्छन् । “उनीहरूबिना आरोहीहरूको सफल यात्रा कल्पनै गर्न सकिँदैन । हामीले बाटो बनाउने र सरसफाइ गर्ने सबै काम गर्छौं । पर्यटन मन्त्रालयसँगको सम्झौताअनुसार हाम्रा दायित्व पूरा गरिरहेका छौँ । हाम्रो आम्दानीको मुख्य स्रोत नै यही शुल्क हो”, एसपिसिसी अध्यक्ष शेर्पाले भन्नुभयो । सगरमाथा आरोहणको तयारी तीव्र वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणको तयारी तीव्र पारिएको छ । आरोहीहरूको सुविधाका लागि आवश्यक सबै कार्य अघि बढाइएको छभने सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । वातावरण संरक्षणको दृष्टिकोणले समेत एसपिसिसीको टोली सक्रिय रहेको छ । यस वर्ष आरोहण मौसममा कति आरोहीहरू सगरमाथा चढ्नेछन् भन्ने विषयमा अझै निश्चित तथ्याङ्क आइसकेको छैन तर विगतका वर्षहरूसँग तुलना गर्दा ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गरिएको छ । “यस वर्ष पनि सगरमाथा आरोहणमा ठूला व्यावसायिक टोलीहरू आउने सम्भावना छ । हामीले आधार शिविरमा पूर्वाधार निर्माण तथा आरोहीहरूको सुरक्षाका लागि आवश्यक तयारी गरिरहेका छौँ । हिमाली पर्यटन नेपालको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण भएकाले हामी सबैसँग समन्वय गरेर सुरक्षित आरोहणको वातावरण सिर्जना गर्नेछौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो । यस्तै, पर्यटन व्यवसायी बलबहादुर दर्नाल मौसम अनुकूल रह्यो भने यो सिजन निकै सफल हुने बताउनुहुन्छ । “हामी यो वर्ष पनि ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गर्दैछौँ । सुरक्षित आरोहणका लागि मार्ग निर्माण, सरसफाइ, वातावरण संरक्षण तथा आवश्यक तयारी गरिरहेका छौँ । यो सिजन पनि सफल हुने विश्वास छ”, उहाँले भन्नुभयो । सगरमाथा आरोहणमा संलग्न सबै निकायहरू पूर्ण रूपमा तयारीमा जुटेका छन् । आरोहीहरूको सुविधाका लागि आधार शिविरदेखि माथिल्लो भागसम्म आवश्यक उपकरण, खाद्य सामग्री र सञ्चार सुविधाहरू उपलब्ध गराइँदैछ । स्थानीय शेर्पा गाइडहरूलाई विशेष तालिम प्रदान गरिएको छभने हिमाली वातावरणको दीर्घकालीन संरक्षणका लागि विभिन्न नीति तथा कार्यान्वयन योजनाहरू अघि सारिएको छ ।