सिरहा: जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्याँस चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्याँस सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिनुभयो । भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको रु दुई लाख रिचार्ज कार्ड, नगद रु पचास हजार गरी रु पाँच लाख ५५ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताउनुभयो । उहाँका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू १ हजार २ सयले घटेको हो । शुक्रबार प्रतितोला रू १ लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ । शुक्रबार प्रतितोला रू १ हजार ८ सय ६० मा कारोबार भएको चाँदी आज रू १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।
मकवानपुर: बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भावी पुस्ताका निम्ति मुलुकका मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभएको छ । धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा उक्त कुरामा जोड दिइएको छ । चाडपर्व र मौलिक परम्परा देशका अमूल्य निधि भएकाले तिनको संरक्षण गर्नुपर्ने बताउँदै उहाँले सन्देशमा “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार हुन्”, भन्नुभएको छ ।
कञ्चनपुर: यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ । कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो । उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका–५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ । यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ । यस प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ । समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरिन्छ ।
म्याग्दी: ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाले जानकारी दिनुभयो । अभियन्ता ढुङ्गानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ । आकारमा सानो र ठूलो हुने यस पक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेला हुन्छन् । यो चराको बासस्थान तराईदेखि हिमालसम्म पाइन्छ । अभियानअन्तर्गत विभिन्न विद्यालय र समुदायस्तरमा जनचेतना शिविर आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । अर्का अभियन्ता तथा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले लाटोकोसेरोको संरक्षण गर्न जङ्गलका पुराना र बूढा रुख जोगाउनुपर्ने, गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । पराजुलीले संसारभर दुई सय ५० प्रजातिका लाटोकोसेराको अभिलेख गरिएको र नेपालमा २३ प्रजाति भेटिएको बताउनुभयो । एउटा लाटोकोसेरोले फूल पारेर बच्चा हुर्काउने बेलासम्म तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने उहाँले जानकारी दिनुभयो । प्रकृतिलाई सन्तुलित राख्न लाटोकोसेरोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय चोरीसिकारीका कारण यसको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ । लाटोकोसेरो संरक्षणका लागि वार्षिक लाटोकोसेरो तथा हुचिल उत्सवसमेत हुँदै आएको छ । लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पनि लिइन्छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गर्नुभएको छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभएको छ, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।” प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उहाँको भनाइ छ । विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
तनहुँ: आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताउनुभयो । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गर्नुभएको छ । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो । गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताउनुभयो । यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।
काठमाडौं: मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली ९नाच०सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।
सिरहा: पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन्भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।

