पर्वत: कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्नुभयो । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ । साथै पर्वतका ७ वटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।
काठमाडौं: विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव पाँच प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु १५ अर्ब २७ करोड रहेकामा गत कात्तिक मसान्तमा नौ दशमलव चार प्रतिशतले वृद्धि भई रु १६ अर्ब ७० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत कात्तिक मसान्तमा आठ दशमलव छ प्रतिशतले वृद्धि भई रु २० खर्ब आठ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा गत कात्तिक मसान्तमा २८ दशमलव चार प्रतिशतले वद्धि भई रु दुई खर्ब ४७ अर्ब २० करोड कायम भएको छ । गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
काठमाडौं: वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो । सङ्ले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै, “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ । सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौँ”, भनेको छ । साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा तोकिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २५ पैसा निर्धारण गरेको छ । त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ १७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७६ पैसा कायम गरेको छ । यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ९० पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ४५ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
झापा: झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको उहाँले बताउनुभयो । आजको नेपाली दररेटअनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा: सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो । सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको जनाउनुभयो । बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिनुभयो । “सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिङ्गो सामाजिक विषय शिक्षामा आउनुपर्यो । शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्लुपर्छ । त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमापर्फत् अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ । त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन । कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु ।” प्रधानमन्त्री ओलीको प्रश्न थियो, “उपकुलपतिलाई त्यसो भन्नु मेरो कर्तव्य होइन र ?” उहाँले सिनेट बैठकलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभर्ई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्वरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । सिनेटका सदस्यले पनि सकारात्मक परिणाम ल्याउने कार्यसूची ल्याउन सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । सभामा सामुदायिक क्याम्पस, प्राध्यापक, कर्मचारी, विद्यार्थी क्षेत्रका प्रतिनिधिले पदाधिकारीबाट पर्याप्त गृहकार्यविना प्रस्तावहरु प्रस्तुत भएको र त्रिविको विधिलाई पालना नगरिएको भन्दै असन्तुष्टि जनाएपछि कुलपति ओलीले कार्यसूचीमाथि छलफल सञ्चालन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा भएका समस्या र माग छन्, ती मागको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्रिविको ऐन, नियम संशोधन गर्दा सम्बन्धित सरोकार भएका पक्षले सचेत भएर ध्यान दिन पनि आग्रह गर्नुभयो । सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्थालगायत १२ बुँदे नीति पारित भएका छन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गर्नुभएको थियो ।
चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासङ्घको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले देशकोे अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्छ भन्नु्भयो । उहाँले भन्नुभयो,“दिनप्रतिदिन हाम्रो अर्थतन्त्र पर निर्भर हुँदै गएको छ । केही समय पहिले खाद्यान्नमा आत्मनिर्भर मात्रै नभएर निर्यात गर्ने देश अहिले खाद्यान्नलगायत धेरै कुरा आयात गर्ने देशमा परिणत भएको छ । यस्तो स्थितिमा आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ । ” पूर्वप्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेत्तृत्व गर्देगर्दा सुशासन सामाजिक न्याय र आर्थिक समृद्घिका लागि आफ्नो सम्पूर्ण उद्देश्य र मेहनत रहेको दाबि समेत गर्नुभयो । उहाँले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जगेर्ना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ भन्नुभयो ।
काठमाडौं: पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित दुई दिने राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिनको सत्रमा सहभागी विभिन्न सरोकार भएका निकायका प्रतिनिधिले हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएका हुन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले सबै सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “जलवायु परिवर्तनको बढी जोखिम पर्वतीय क्षेत्रमा परिरहेको छ, यसले हिमालको हिउँ पग्लिरहेको छ, हिमताल फुट्ने तथा हिमपहिरोको जोखिम छ”, उहाँले भन्नुभयो, “यी र यस्ता समस्या समाधान गर्न वन तथा वातावरण मन्त्रालय एक्लैले सम्भव छैन । अन्य सरकारी निकाय, दातृ निकाय, प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकार भएका निकायहरूको पनि सहयोग जरुरी छ ।” ढुङ्गानाका अनुसार सङ्घीय व्यवस्थापन कार्यान्वय भएपछि केन्द्रबाट जलवायु वित्त अनुदान प्रदेश र स्थानीय तहमा पठाउन र ती निकायबाट समयमा बजेट खर्च गर्न चुनौती रहेको छ । “हामीले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्न लगानी बढाउनुपर्ने छ । जलवायु परिवर्तनले पारेका नकारात्मक असर समाधान गर्न प्रभावकारी अनुसन्धान हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) अझै महत्काङ्क्षी बन्ने छ, आवश्यक पर्ने लगानीका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच बढाउन आवश्यक छ । जलवायुविद् राजु पण्डित क्षेत्रीले जलवायुजन्य सङ्कट समाधानका लागि आवश्यकता अनुसारको जलवायु वित्त आभाव रहेको भन्दै केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले जलवायुमैत्री बजेट तर्जुमा गर्न आवश्यक रहेकामा जोड दिनुभयो । “अन्तर्राष्ट्रिय जलवायु वित्तका कोषहरूमा पनि रकम कम छ, तर पहुँच विस्तार गर्न आवश्यक तयारी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सन् २०२६ पछि अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) बाट नेपाल बाहिरियो भने हामीले त्यसपछि जलवायु वित्तदेखि कतिपय अन्तर्राष्ट्रिय सुविधा नपाउन सक्छौँ, यसका लागि आन्तरिक क्षमता अभिवृद्धि गर्नुपर्ने भएकाले सोहीअनुसार तयारी हुनुपर्छ ।” जलवायुविद् डा विमल रेग्मीले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गइरहेको भन्दै जलवायुजन्य सङ्कट समाधान गर्न पूर्वतयारी तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । “जलवायु अनुकूलनसम्बन्धी अन्य देशमा भएका राम्रा अभ्यासको सिकाइबाट नेपालमा अनुकूलनसम्बन्धी कार्यक्रमको प्रभावकारी रूपमा कार्यन्वयन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “स्थानीय आवश्यकता अनुसार प्रविधि विकासमा लगानी बढाउन जरुरी छ, लगानी नगरेसम्म प्रतिफल आउन सक्दैन ।”

