ललितपुर: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताउनुभएको छ । छयत्तरौँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो । “राज्य र राजनीतिक शक्तिहरु मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ,” उपप्रधानमन्त्री पौडेलले भन्नुभयो । उहाँले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरुको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक ९युएनडिपी०का आवासीय प्रतिनिधि हाना सिङ्गर–हम्डेले कोप २९ मा नेपालले निर्वाह गरेको भूमिका तथा सङ्क्रमणकालीन न्यायका निम्ति गरेका कामको सराहना गर्नुभयो । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले मौलिक हकमैत्री कानून बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । मानवअधिकार महाभेला २०२४ का संयोजक भोला भट्टराईले महिला, श्रमिक, किसान, अल्पसङ्ख्यकहरुको मानवअधिकारको रक्षामा जोड दिनुभयो । मानव अधिकार आयोगका सदस्य लिली थापाले अन्तर्राष्ट्रियस्तरमा नेपालको मानव अधिकारको अवस्था सन्तोषजनक रहको बताउनुभयो । त्यस अवसरमा मानवअधिकार रक्षककको सशक्त भूमिका निर्वाह गर्नुभएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम स्मृति पुरस्कार’ प्रदान गरिएको थियो भने वातावरणअधिकार रक्षामा योगदान गर्नुभएका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो । दुवै पुरस्कारको राशि रु ५० हजार छ ।
महोत्तरी: लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ ।महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डल बताउनुहुन्छ । मङ्सिरभित्रै बढेको ठिहिर्याउने चिसोले घरपालुवा पशुवस्तुको बिजोग छ । पशुवस्तुको आहाराको जोहो र चरनमा लान नपाइँदा बिजोग भएको हो । भङ्गाहा–४ रामनगरकी हीरादेवी दाहाल अचाक्ली बढेको चिसोले पशुवस्तु जिङ्र्याउने र बिरामी हुने क्रम बढेको बताउनुभयो । जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउनुहुन्छ ।
महोत्तरी: लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशका जिल्लामा जाडो निकै बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का किसान ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ ।” चिसोले कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । महोत्तरीसहितका मधेशका जिल्लामा पूर्व–पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ किसान रहिमन मण्डल बताउनुहुन्छ । मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ । उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपरान्हसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन् । अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर–२ की शिला यादव बताउनुहुन्छ । मङ्सिरभित्रै बढेको चिसोले घरपालुवा पशुवस्तुको विजोग बन्दैछ । पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भङ्गाहा–४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ । धेरै बढेको चिसोले पशुवस्तु जिङ्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताउनुभयो ।यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन् । अहिले मङ्सिर नसकिँदै चिसोले घर बाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ ।खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुदिप ठाकुर बताउनुहुन्छ । यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन् । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपाली हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गर्नुभएको छ । तराईमा हुस्सु र सितलहरसँगै चिसो बढ्यो पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै आज बिहानैदेखि चिसो बढेको छ । दिउँसोको समयमा विगत एक सातादेखि मधुरो घाम लाग्दै आएको छ भने अहिले बिहानैदेखि हुस्सु लागेको हो । पूर्वी तराईमा घाम लाग्न छाडेपछि शीतलहर सुरु हुने गर्दछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ । महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई–मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ ।चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाह्य, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोले बिहान स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि चिसो बढेकाले ढिलो गरी खुलिरहेका सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । उहाँले साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार चाँडैै सुनसान हुन थालेको उल्लेख गर्नुभयो । यहाँ न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्गिदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक सुन्दरहरैँचाका अशोक रिजाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सवारी साधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक सवारी चलाउने गर्छौँ ।” चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका छन् । बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने हवाई उडान खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू २ हजार १ सय बढेको छ । सोमबार प्रतितोला रू १ लाख ५० हजार १ सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू १ लाख ५२ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू १ हजार ९ सय २५ कायम भएको छ ।
दाङ: घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उहाँले बताउनुभयो ।“अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ”, सञ्चालक गौतमले भन्नुभयो । साढे ७ सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उहाँले बताउनुभयो । छिट्टै सञ्चालनमा आउन लागेकोे जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ । स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ । घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उहाँ बताउनुहुन्छ । हालसम्म रु एक करोड बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ । घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि रु १ हजार ८ सय ५० शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ः०० बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
सुनसरी: धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी, विराटनगरलगायत पूर्व क्षेत्रका साथै पोखरा र काठमाडौँबाट पनि गल्फ खेल्न आउने गरेका छन् । हाल यहाँ विभिन्न ठाउँबाट दैनिक ४० देखि ५० भन्दा बढी गल्फ खेल्न आउने गरेका क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार क्लबमा अहिले ८० जना सदस्य आबद्ध हुनुहुन्छ । सन् १९६२ मा स्थापना भएको उक्त गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राईको भनाइ छ । क्लबमा २०७३ सालदेखि गल्फ खेल्दै आउनुभएका खेलाडी जीतेन्द्र राई ‘सिङ्गल हेण्डी क्याप’ खेलाडीका रूपमा सक्रिय हुनुहुन्छ । सुरुमा स्वास्थ्यका लागि खेलेको बताउँदै उहाँले अहिले यसको अनिवार्य अभ्यास गर्ने सोख बसेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विशेषगरी यो खेल मैले स्वास्थ्यका लागि लिएको हुँ । यो खेल खेल्न त्यति सजिलो भने छैन । सिक्नका लागि लामो समय लागे पनि यो खेल ‘जिरो इञ्जोर’ खेल भएकाले यसमा रमाइरहेको छु ।” आफूले गल्फ खेल्न थालेपछि विभिन्न टुर्नामेन्टमा सहभागी भएर उपाधिहरू पनि जितेको जीतेन्द्रले जानकारी दिनुभयो । प्रोफेसनल गल्फ नेपाल एशोसिएसनले गरेको टुरमा आफू सिङ्गल हेण्डी क्याप भएकाले ‘स्टण्डसाइड’को खेलाडी भएर ‘टिम इभेन्ट’मा प्रथम स्थान हासिल गरेको उहाँले बताउनुभयो । पछिल्लो समय गल्फ आयआर्जन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाले पनि खेलाडीको आकर्षण बढेको उहाँको बुझाइ भनाइ छ । धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि क्याम्पभित्र सन् १९६२ मा १८ होलको गल्फ कोर्स बनेको उक्त कोर्सका सदस्य राजु राईले जानकारी दिनुभयो । धरान लाहुरेको सहर भनेर पनि चिनिने भन्दै धरान गल्फ क्लब ब्रिटिसको संस्था नोफिल गिफ्टले स्थापना गरेपछि ब्रिटिस लाहुरेलाई सन् १९६२ हस्तान्तरण गरेको उहाँले बताउनुभयो । “सन् १९८९ जुलाईमा ब्रिटिस लाहुरेले क्याम्प छोडेपछि गल्फ कोर्स क्लब विस्थापित भयो”, राजुले भन्नुभयो, “विस्तारै धरानका स्थानीयहरू गल्फप्रति आकर्षित हुँदै गएपछि नयाँ सदस्य बनाएर पुनःसञ्चालन गरिएको हो ।” गल्फ खेलले धरानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउनमा महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको दाबी छ । सदस्य राजुले यहाँ अहिले धेरैजसो विदेशी पर्यटक गल्फ खेल्न आउने गरेका जानकारी दिनुभयो । इङ्ग्ल्याण्ड, इटाली, फ्रान्स, अष्ट्रेलिया, सिङ्गापुर, युकेलगायत देशका पर्यटक यहाँ गल्फ खेल्न आउने गरेका उहाँले बताउनुभयो । राजुले भन्नुभयो, “नेपालमा गल्फ कोर्स क्लब थोरैमात्रामा छन्, जसमा पूर्वमा धरानमा मात्र रहेको गल्फ कोर्स पूर्वको गहना जस्तै बनेको छ । यहाँ सबैभन्दा सस्तोमा खेल खेलाइँदै आइएको छ ।” उहाँले गल्फको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो । गल्फ खेल स्वास्थ्यका लागि लाभदायी मानिन्छ । शान्त रूपमा खेलिने भएकाले यो खेललाई ‘माइन गेम’ भनेर चिन्ने गरिन्छ । गल्फ खेल्दा शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा पुग्ने खेलाडीहरूको अनुभव छ । खेलाडी राजुले गल्फ खेल्दा ढाड दुख्ने, जोर्नी नसासम्बन्धी बिरामीका लागि लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गल्फ खेल्न अरु खेल जस्तो उमेरको हदबन्दी रहँदैन । सबै उमेर समूहकाले यो खेल खेल्नु लाभदायक हुन्छ ।” विसं २०८० फागुनमा धरान गल्फ कोर्समा ‘ड्राइभिङ रेञ्ज र पार्किङस्थल’ निर्माण गरेपछि प्रभावकारी व्यवस्थापन भएको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इञ्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेञ्ज र पार्किङले यहाँ आउने खेलाडीको व्यवस्थापनमा सहज बनाएको क्लबका सदस्य राजुले बताउनुभयो । क्लबका अध्यक्ष हरिबहादुर राईले नेपालमा पनि गल्फ उत्कृष्ट खेलका रूपमा विकास हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गल्फ खेल्नका लागि विभिन्न ठाउँबाट धरान आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।”
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रूपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १२ रूपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४० पैसा र बिक्रीदर १७ रूपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ३८ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
खोटाङ: गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो । रूख ढल्ने क्रममा गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिनुभयो । “मृतक दमाई हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन् । ज्यालादारी कामका लागि आएका निजको रूखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “मृत्युको खबर पाएपछि प्रहरीलाई जानकारी गरायौँ । जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि जिल्ला पठाइएको छ ।” रूखले किचेर दमाईंको मृत्यु भएको खबर स्थानीयले दिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खार्पास्थित भडाँरेमा एक हप्ता दिनअघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट स्थानीयको निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।

