काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:    सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता लिला बल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । रजिष्ट्रार भद्रकाली पोखरेलले आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गर्नुभएको रिट निवेदन दरपीठ गर्नुभएको हो ।  “कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भन्ने व्यवस्था रहेको छ”, दरपीठ आदेशमा भनिएको छ, “उक्त मुद्दाको अभियोगपत्रमा ‘लिला बल्लभ अधिकारीको प्रस्तुत वारदातमा सङ्लग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएकाले निजउपर थप प्रमाण प्राप्त भएका बखत कानुनबमोजिम हुने नै हुँदा...’ भनी उल्लेख भएको परिप्रेक्षमा प्रस्तुत रिट निवेदन यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ता गर्न मिलेन ।” सरकारी वकिल कार्यालय काठमाडौँले मन्त्री अधिकारीविरूद्ध यही मङ्सिर १० गते मुद्दा नचलाउने निर्णय गरेको थियोे । 

धनुषा:    आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो । यो विधि हेर्नका लागि मन्दिर प्राङ्गणमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीड लागेको थियो ।  भगवान् राम र लक्ष्मण पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिन्छ ।      नगर दर्शन विधिमा राम लक्ष्मणको प्रतीकका रूपमा रहेका दुई बालकलाई नगर दर्शन गराइएको थियो ।  विवाहपञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू आउनुभएको थियो । मिथिला नरेश राजा जनककी छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।      धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको यस पर्व आजदेखि भव्यताका साथ मनाउन सुरु भएको छ । भोलि १७ गते पुष्पवाटिका फूलबारी लिला, १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यही दिन हुन्छ ।  १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।      अयोध्याबाट आएका अतिथिहरूलाई २३ गते स–सम्मान बिदा गर्ने चलन छ । प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने प्रचलन अनुसार यसपटक यहाँ उत्साह अझै थपिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णले बताउनुभयो ।

काठमाडौं:    कथाकार विष्णु पादुकाले ‘माग्युद् खोना’ कथाका लागि प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । बाह्रखरी मिडियाले गरेको कथा प्रतियोगिताको छैटौँ संस्करणमा उहाँ विजेता हुनुभएको हो ।  आज काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेता पादुकालाई रु एक लाख पुरस्कार र ट्रफी प्रदान गर्नुभयो ।  कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ लाई तृतीय पुरस्कार प्रदान गरिएको छ । उहाँहरूले क्रमशः नगद रु ६० र ४० हजारसहित पुरस्कार प्राप्त गर्नुभयो ।       कार्यक्रममा प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त नौ सय ३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरियो ।       प्रतियोगितामा उत्कृष्ट २५ कथाकारहरूमा क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा हिमलाल श्रेष्ठ रहेका छन् ।       बाह्रखरी उत्कृष्ट कथा–२०८१ फाइनप्रिन्टले बजारमा ल्याएको हो । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नुभएको छ ।  १२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा डा ज्ञानु पाण्डे संयोजक र साहित्यकार डा गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य हुनुहन्थ्यो । 

काठमाडौं:    स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।      उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो ।      बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ ।  यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।      निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।  

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।        भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसैगरी उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।        भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । यस्तै उहाँले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ ।        यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी नियन्त्रणका लागि चेतना विस्तार आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले विश्व एड्स दिवसका अवसरमा आयोजना गरेको ‘एचआइभी एड्स सङ्क्रमित नागरिकको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१’ को सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री पौडेलले अझै चेतना विस्तार हुन नसक्दा सङ्क्रमण भइरहेको  र सङ्क्रमितले विभेद भोग्ने अवस्था रहेको भन्दै सबैले सचेत रहनुपर्नेमा जोड दिनुभयो ।        उहाँले एड्स नियन्त्रणको सवालमा स्वास्थ्य मन्त्रालय सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताउनुभएको छ ।  काठमाडौँमा आज आयोजित बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उहाँले विगतमा देखिएका समस्या र चुनौतीहरूको व्यवस्थापन, राजीतिक परिस्थितिलाई सम्हाल्दै सरकार अगाडि बढिरहेको बताउनुभयो ।  मन्त्री गुरुङले वर्तमान गठबन्धन सरकार देशलाई नयाँ दिशा दिने गरी नीतिगत सुधारदेखि संस्थागत व्यवस्थापनका काममा कटिबद्ध भए लागिरहेको बताउनुभयो ।  “यो स्थायी सरकार हो । धेरैले यसको दीर्घायुको बारेमा विभिन्न कुरा गरिरहेको सुन्छु तर ढुक्क हुनुहोस्, यो सरकार दायाँबाँया हुँदैन । देशलाई नयाँ दिशा दिएरै छोड्छ”,  उहाँले भन्नुभयो,“राज्यको पुराना नीति परिमार्जन, डिजिटल माध्यमबाट ३ वर्षमा करिब तीन लाख युवालाई रोजगारी, सङ्घीयतालाई मसिनो ढङ्गले विस्तार, वन, प्रहरी, निजामती सेवालगायत ऐनलाई आवश्यक परिमार्जन गर्ने काममा सरकार लागिरहेको छ ।” मन्त्री गुरुङले विकासका लागि  तीन खर्ब मात्रै बजेट छुटयाइएको अवस्थामा पनि पुँजीगत खर्च गर्न नसक्नु विडम्बना भन्दै अब सरकारले खर्चमा जोड दिने र त्यसका लागि नीतिगत र कानुनी सुधार गरिनेसमेत बताउनुभयो । 

कैलाली:    यहाँस्थित लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गर्नुभयो ।  बिरामीको चापलाई मध्यनजर गर्दै नगर अस्पतालको स्तरोन्नति गरी २५ श्ययाको अस्पताल सञ्चालन गर्ने उदेश्यले नयाँ भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उहाँको भनाइ छ ।  हाल लम्कीचुहा नगरपालिकामा दैनिक तीनदेखि चार सय बिरामीले सेवा लिइरहेका छन् । सेवाग्राहीलाई सेवा दिन पर्याप्त भवनको अभाव भएकाले नयाँ भवन निर्माण हुन लागेको अस्पतालका व्यवस्थापन प्रमुुख जयन्द्र जैशीले बताउनुुभयो ।  लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको भवन अढाई तलाको हुनेछ । पहिलो चरणमा एक तलाको काम चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य छ ।  हाल १५ श्ययाको अस्पताल भवन निर्माणसँगै २५ श्ययामा स्तरोन्नति गरिने जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको वडा नं १० मा ५० श्ययाको प्रादेशिक अस्पताल निर्माण भइरहेको छ । भल्कामा नगर अस्पतालको स्तरोन्नतिको काम भइरहेको छ ।”  लम्कीचुहा नगर अस्पतालले हाल २४सै घण्टा आकस्मिकलगायत प्रयोगशाला सेवा दिइरहेको छ । चुहाको प्रादेशिक अस्पताल सञ्चालन भएमा विशेषज्ञसहितको सेवा सञ्चालन गर्न सहज हुने र एकीकृत रुपमा अस्पताल सञ्चालन गरिने व्यवस्थापन प्रमुख जैशी बताउनुहुन्छ ।  भवन निर्माणको जिम्मा मालिकामण्टा बेतालमाडौँ कन्स्ट्रक्सन लम्कीचुहा–६ गुुलराले पाएको छ । भवन रु दुई करोड २७ लाख २१ हजारमा निर्माण हुुन लागेको हो ।  बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको भवनको लागत रु १४ करोड अनुमान गरिएको अस्पतालका सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिनुभयो ।

काठमाडौं:    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मङ्गलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि उहाँ भारत प्रस्थान गर्नुभएको हो ।  सो सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलको औपचारिक निमन्त्रणमा मन्त्री भण्डारी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । सो शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भूटान, इजराइल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।  सो सम्मेलन नयाँदिल्लीस्थित सुस्मा स्वराज भवनमा सम्पन्न हुने जनाइएको छ ।