काठमाडौं: स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू एकले बढाएको छ । बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ पैयाँ र तेस्रो वर्गमा एक सय ६० रूपैयाँ तोकिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललगायतका स्थान छन् । निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रू दुईका दरले वृद्धि गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १४ रूपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
काठमाडौं: भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ । निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ । मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई यसअघि नै अनुरोध गरिसकेको छ । मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो । आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ । आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो। यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले एक किलो, एकसय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताउनुभयो । शुक्रबार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।
काठमाडौं: चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीनबीच सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको छ । चीन भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुबीच छलफल भएको छ । आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुसँँग पनि विमर्श भएको छ । त्यस क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । “हाम्रो चीन भ्रमण सफल हुनेछ । हामी त्यसकै निम्ति भगीरथ प्रयास गर्छौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।” परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र उक्त मन्त्रालयका प्रवक्ता एवं उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले क्रमशः दुई पक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बिआरआई फ्रेमवर्क’ बारे जानकारी दिनुभएको थियो । प्रवक्ता ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग घनीभूत छलफल हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण र त्यसमा सम्मिलित प्रमण्डल स्वीकृत गरेको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छभने आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि भेटर्वाता गर्ने कार्यक्रम छ । उहाँले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम छभने बेइजिङस्थित नेपाली राजदूतावास चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय संसद्का सदस्यलगायत रहनुहुनेछ ।
काठमाडौं: कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् । आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वर बस्ने २५ वर्षका जयन श्रेष्ठ, धादिङ खनियावास घर भर्ई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका सङ्घीय संसद् सुरक्षा बेश बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा काम गर्ने प्रहरी दानबहादुर राउत घाइते भएका छन् । यस्तै गुल्मीको कालिगण्डकी घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई हाल काठमाडौँको सितापाइला ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेँगी र रुकुम मुसिकोट घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय प्रेम खड्गी पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँको अहिले बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं: स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले राससलाई जानकारी दिनुभयो । गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । आयोगका प्रवक्तासमेत रहनुभएकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ । काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम ९पश्चिम भाग०को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । सो निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो । मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमै मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइट धधध।चभकगति।भभिअतष्यल।नयख।लउ मा हेर्न सकिने आयोगले जनाएको छ । आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ । मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ ।
कैलाली: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उहाँले वन र जैविक विविधता संरक्षणसम्बन्धी मन्त्रालयले योजना बनाउर ती योजनाहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । मन्त्री शाहीले मन्त्रालयले वन्यजन्तु संरक्षण, मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलगायत विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । “केही समयअघि मन्त्रालयले यी विषयका बारेमा आवश्यक जानकारी सङ्कलन गर्न कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा कार्यक्रम गरेको थियो । सो क्रममा उक्त क्षेत्रमा बढी समस्या देखिएका थिए”, उहाँले भन्नुभयो, “ती समस्या समाधान गर्न, क्षति न्यूनीकरण गर्न तथा आरक्षबाट पीडित, विस्तापित भएका मानिसलाई पुनःस्थापना गर्न अधिकार सम्पन्न आयोग बनाएका छौँ ।” वनलाई जनतासँग जोड्न, वन र जनताबीचको सम्बन्ध सुमधुर बनाउन तथा वनका माध्यमबाट जनतालाई समृद्धितर्फ लैजान मन्त्रालयले वन विकास कार्यक्रम अगाडि बढाएको वनमन्त्री शाहीले उल्लेख गनुभयो । वन र पर्यटन, राष्ट्रिय निकुञ्ज र पर्यटनलाई एकापसमा जोड्ने प्रयास निरन्तर जारी रहने उहाँले बताउनुभयो । मन्त्री शाहीले भन्नुभयो, “जहाँजहाँ हाम्रा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र छन्, ती सबै पर्यटनका अत्यन्तै आकर्षण केन्द्र हुन् । पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधार र पर्यटकलाई बस्न तथा अन्य विभिन्न सुविधा नहुँदा बढी पर्यटक भित्र्याउन सकिरहेका छैनौँ । मन्त्रालयले योजनाबद्ध रूपमा समस्या समाधान गर्दै राष्ट्रिय निकुञ्जसँग पर्यटनलाई जोड्ने प्रयास गरिरहेका छौँ ।” बाजुराको बडिमालिलाई संरक्षित क्षेत्रका रूपमा अघि बढाउने योजना सरकारको रहेको मन्त्री शाहीले जानकारी दिनुभयो ।
 
                    
