काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:    नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आग्रह बमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको थियो ।  परिषद्ले फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र पोशाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ ।  कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आगामी पुस ४ गतेदेखि लागू हुँदैछ ।       यस निर्णयले औषधि बिक्रीवितरणमा आधिकारिक व्यक्तिमात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिस्टार सञ्जिवकुमार पाण्डेले बताउनुभयो ।  मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । औषधि बिक्रीवितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराउनुभएको छ ।       मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले पत्राचार गर्ने बताउनुभयो ।  यसका अलावा औषधि बिक्रीवितरणमा बेथिति देखिए नदेखिएको अनुगमन गर्ने र दोषी देखिएमा एकैसाथ कारबाही गरिने उहाँले बताउनुभयो ।  औषधिको मूल्य समायोजन गर्न गठित समितिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधिमा नागरिकलाई कम भार पर्नेगरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ । 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा.शैल रूपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिनुभएको हो । उक्त अवसरमा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।  

मकवानपुर:    स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उहाँ सहभागी हुनुभएको हो ।  उहाँले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।   बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ ।  निर्वाचन कार्यालयले २ वटा मतदानस्थलको व्यवस्था गरेको छ । कूल ८ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा ४ हजार २ सय २३ मतदाताले मतदान गरेका छन् । मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् ।  विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा १ हजार ८ सय ४३ मत खसेको छभने वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार तीन सय ८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिनुभयो ।  

दाङ:    रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ ।  लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा  सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।      निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका  थिए ।  मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो ।  पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ । 

कञ्चनपुर:    बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ ।  तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताउनुभयो । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ ।        काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ ।  “स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भन्नुभयो, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पु¥याएर बिक्री गरिँदै आएको छ ।” अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।       गत वर्ष उहाँले दुई रु लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गर्नुभएको थियो । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहनुभएको छ । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउनुहुन्छ ।         भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताउनुभयो । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्नुहुन्छ ।       काँक्राखेतीबाट रु तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उहाँले रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आउनुभएको छ । उहाँले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आउनुभएको छ ।       “तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भन्नुभयो, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ ।  चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आउनुभएको छ । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गर्नुभयो ।

सिरहा:    सिरहामा स्कोरपियोको ठक्करबाट  सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।  नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो ।  भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते हुनुभएको थियो ।  घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत हुनुहुन्थ्यो ।  जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले  नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिनुभयो ।  सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाउनुभयो । उहाँले अहिलेसम्म स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाउनुभयो । 

तनहुं:    जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ ।  व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ ।  पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब १ सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताउनुभयो ।  हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट ९पाइप राखेर बनाइएको अस्थायी संरचना० सवारीसाधान आवतजावत हुँदै आएको थियो । वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो । आगामी भदौ २२ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो । कम्पनीले गत वैशाखदेखि निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल भएको उहाँको भनाइ छ ।  “सम्झौता अवधि भन्दा अगावै सम्पन्न गर्ने अपेक्षा गरिएको छ”, शाखा अधिकृत तिवारीले भन्नुभयो, “निर्माण कम्पनीले फागुनभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।” सम्झौता अगावै निर्माण सम्पन्न गरेमा नगरपालिकाले पुरस्कृत गर्ने योजना बनाएको उहाँले बताउनुभयो । 

झापा:    जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ । दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।    गए राति नै झापा गाउँपालिका–७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटीले बनेको तीनकोठे घर र सामान जलेर पूर्ण रूपमा क्षति पुगेको छ ।   उक्त घर नजिकै रहेको ग्वाली कोठामा क्षति पुग्दा रु दुई लाख ५० हजार बढीको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुनिउमा आगलागी भएको छ ।  यसरी अचानक आगलागी हुँदा धान र कुनिउ जल्दा रु दुई लाख १० हजार बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।  प्रनाउ चन्दका अनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

नवलपरासी:     बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु २ करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो ।  हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले ब्याट्री चार्ज भई बिजुली उत्पादन हुँदै आएकामा टर्वाइनमा समस्या भएपछि बन्द भएको तथा अन्य उपकरणका पुर्जा पनि  काम नलाग्ने भएका हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो ।    केन्द्रबाट दैंनिक १० किलोवाट उत्पादन हुँदै आएको थियो । “केही वर्ष पूर्ण क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”, वडाध्यक्ष मगरले भन्नुभयो ।     हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले केन्द्रका उपकरण तत्काल मर्मत गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसमक्ष पटकपटक अनुरोध गरेको तर  सुनुवाइ नभएको गुनासो गर्नुभयो ।   उहाँले भन्नुभयो, “प्राविधिक टोली पठाउँछौँ भन्छन् तर आजसम्म कोही आएका छैनन् ।” स्थानीय सरकारको बजेटले मात्र मर्मत गर्न नसकिने भएकाले नसक्ने हुँदा केन्द्र सरकारलाई पनि गुहारिएको तर परिणाम प्राप्त नभएको उहाँले बताउनुभयो । वायु ऊर्जा परियोजना सञ्चालनपछि केही वर्ष स्थानीयले चौबीसै घण्टा विद्युत् प्रयोग गर्न पाएका थिए ।  धौवादी क्षेत्रमा गत वर्षदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि बिजुलीको समस्या नभए पनि नमूनाका रूपमा स्थापित वायु ऊर्जा केन्द्र सञ्चालन हुनुपर्नेमा अध्यक्ष पाण्डेको जोड छ ।