तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

काठमाडौं:    यही भदौ २० गते काठमाडौ महानगरपालिका–१४ कुलेश्वर स्थित एक घरबाट कानून विपरीत बालश्रम गराइराखेको साथै घरधनीबाट यौन दुव्र्यवहार समेत भएको भन्ने गुनासोका आधारमा सरोकारवालाको उपस्थितिमा बालिकालाई उद्धार गरियो ।  राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौं महानगरपालिका, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन १०९८, स्थानीय जनप्रतिनिधि र प्रहरी समेतको सहयोगमा बालिकालाई उद्धार गरी मनोविमर्श र स्वास्थ्योपचारसहित अस्थायी संरक्षणको प्रवन्ध गरियो ।        ऐन विपरीत बालबालिकाको श्रम शोषण गर्ने र यौन दुव्र्यवहार गर्ने यो एउटा उदाहरण मात्रै हो । काठमाडौँ बालाजुस्थित एक होटलमा १२ वर्षीय मुकेश लामाले दुई वर्षदेखि भाडा माझ्ने काम गर्दै आएका छन् । उनलाई साहुले खान र बस्नका लागि मात्रै व्यवस्था गरेको छ ।  तर काम गरेबापत कति पनि पारिश्रमिक दिँदैनन् । सुरज र मुकेश जस्तै लाखौँ बालबालिका अहिले पनि यातायात, होटलमा, इँटाभट्टी वा घरायसी कामलगायत विभिन्न क्षेत्रमा लगाएर बालश्रमको शोषणको शिकार भइरहेका छन् ।  कानुनी व्यवस्थाअनुसार १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई रोजगारमा संलग्न गराउनु र १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रम तथा व्यवसायमा संलग्न गराउनु बालश्रम हो ।  राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले परिषद् आफूले बालश्रमका बारेमा अनुगमन गर्ने र परिषद्सम्म आएका मुद्दालाई समाधान गरी बालश्रम अन्त्यका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिनुभयो ।        श्रममा संलग्न बालबालिकाको सङ्ख्या ११ लाख (बालबालिकाको कूल जनसङ्ख्याको १५ प्रतिशत) रहेको छ जसमा जोखिमपूर्ण श्रममा संलग्न बालबालिकाको सङ्ख्या दुई लाख रहेको छ ।  अनौपचारिक श्रम क्षेत्र (कृषि, घरेलु, साना होटेल, सार्वजनिक यातायात, निर्माण, माटो, बालुवा तथा गिट्टी खानी)मा बालश्रम प्रभावित मुख्य श्रम क्षेत्रहरू हुन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बालश्रम भएको पाइन्छ ।  मधेस, कर्णाली र सुदूरपश्चिमबाट हरेक वर्ष हजारौँ बालबालिका श्रमका लागि भारत जाने गरेका छन् । नेपालको संविधानको धारा ५१ मा राज्यका नीतिअन्तर्गत झ (३) बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ ।  संवैधानिक रूपमा निषेधित र दण्डनीय, (संविधानको धारा ३९), विशेष कानुन बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६, सान्दर्भिक कानुनहरू अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी ऐन, २०७५, देवानी अपराध संहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४ बालश्रम शोषणसँग सम्बन्धित छन् । यी ऐन–कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बाल संरक्षण तथा विकास शाखाका शाखा प्रमुख दीपक ढकालले मन्त्रालयले बालबालिका श्रम शोषणमा परेको कहीँकतैबाट सूचना आएको खण्डमा मन्त्रालयले तत्कालै उद्दार गरी त्यसको उचित व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो । पूर्णरूपमा बालश्रम अन्त्यका लागि भएका, ऐन–कानुन, संविधान, नियमावलीलगायत नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सबै मिलेर सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने देखिन्छ ।  कानुन विपरीत, जबरजस्ती, इच्छा विपरीत कुनै पनि बालबालिकालाई रोजगारीमा लगाउनु वा आयआर्जन गर्ने काममा संलग्न गराउनु बालश्रम हो । कमजोर आर्थिक अवस्था, आमाबुबा इँटा उद्योगमा काम गर्न बसाइँ सर्ने हुँदासँगै आउने गरेको, अभिभावकविहीन, संरक्षकको अभाव, आमाबुबाले वास्ता नगर्नु आदि कारण बालबालिकाले श्रम गर्नुपर्ने बाध्यता रहेको पाइन्छ ।       साथीको लहलहैमा लागेर, बाल श्रमिकको समस्यालाई सरकारले प्राथमिकतामा राखी आवश्यक कार्य कार्यान्वयन नगर्नु, पारिवारिक कलह, जन्म दर्ता र नागरिकता नभएको र समावेशी तथा गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच नहुँदा पनि कतिपय बालबालिका बालश्रममा लाग्न बाध्य भएका छन् ।  मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक बालबालिकाले समयमा खानाको व्यवस्था नहुने, धेरै कम तलब, समयमा तलब नदिने, मालिकले रातिमा सवारीसाधनको व्यवस्था नगर्ने, ग्राहकबाट पैसा नपाउने, यौन शोषणको शिकार हुने, मादकपदार्थ सेवन गरेका ग्राहकले दुव्र्यवहार गर्दा पनि सहनुपर्ने समस्या भोग्दै आएका छन् ।      त्यसैगरी इँटाभट्टा, उद्योग कलकारखाना, घरेलु कामदार, यातायात क्षेत्रलगायत विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक बालबालिकाले मालिकले नराम्रा गालीगलौज गर्दा सहनुपर्ने, विद्यालय जानबाट बञ्चित, शरीरमा घाउ चोट लाग्ने, बिहानै उठ्नुपर्ने, आराम नपुग्ने, राति ढिलासम्म काम गर्नुपर्ने, अत्यधिक धुवाँ धुलोमा काम गर्नुपर्ने, गरुङ्गो सामग्री उचाल्न, बोक्न पर्नेलगायत समस्या भोग्दै आएका छन् ।  बालश्रम अन्त्यका लागि स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारसँग कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा उदासीनता देखिन्छ । बालश्रम अन्त्यका लागि स्थानीय तह नै जिम्मेवार हुनुपर्छ, स्थानीय तहले नै सचेतना फैलाउनुपर्छ ।      शारीरिक, मानसिक, स्वास्थ्य, अभिभावकविहीन, पारिवारिक मायाबाट वञ्चित, कुलतको शिकार, नागरिकता पाउने योग्य उमेरका श्रमिक बालबालिका नागरिकताविहीन र सरकारका विभिन्न कार्यक्रममा श्रमिक बालबालिकालाई सहभागिता नगराउनेलगायतका समस्या भोग्दै आएका छन् ।  अन्य साथी विद्यालय गएको देख्दा र आफू जान नपाउँदा, खाना समयमा खान नपाउँदा, राति अबेरसम्म सुत्न नपाउँदा, बिरामी भएको समयमा औषधि उपचार गर्न नसक्दा र घरको आर्थिक अवस्थालाई सम्झँदा, श्रमिक बालबालिकालाई नराम्रो अनुभूति हुने गर्छ ।       आसमान नेपालले पछिल्लो समय गरेको एक अध्ययनअनुसार प्रायः सबै श्रमिक बालबालिकाले आफ्नो परिवारको आयआर्जनमा सहयोग गर्न र रोजगारीको अवसर प्रदान गर्न सरोकारवालासँग अनुरोध गरेको पाइएको छ । अध्ययनअनुसार श्रमिक बालबालिकाले आफ्नो शिक्षा–पढाइको निरन्तरता राख्न चाहेको र उक्त कार्यका लागि स्थानीय सरकार र अन्य सङ्घ÷संस्थाले छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोगको अपेक्षा राखेका थिए ।        राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार परिषद्का अनुसार पाँच वर्षअघि बालश्रममा लाग्ने बालपालिको संस्था १६ लाख थियो भने अहिले घटेर ११ लाख मात्रै भएको तथ्य छ ।  नेपाल बाल श्रम प्रतिवेदन सन् २०२१ अनुसार १० लाख ८० हजार बालबालिका श्रममा रहेका छन् । समग्र बालबालिकाको जनसङ्ख्यामा बालश्रममा रहेका बालबालिकाको १६ प्रतिशत हुन आउँछ ।    त्यसमा दुई लाख बालबालिकालाई अत्यन्त जोखिमपूर्ण श्रम शोषण भएको देखिन्छ । कर्णाली प्रदेशमा २५ प्रतिशत, सुदूरपश्चिममा लगभग २१ प्रतिशत र कोशी प्रदेशमा करिब १८ प्रतिशत बालबालिका श्रम शोषणमा रहेका छन् । समग्रमा दलित समुदायको बालबालिका २० प्रतिशत श्रम शोषणमा परेका छन् ।       राष्ट्रिय श्रम शक्ति सर्वेक्षण प्रतिवेदनअनुसार करिब २१ लाख ४० हजार बालबालिका आर्थिक रूपमा सक्रिय रहेका छन् । प्रतिवेदनअनुसार १६ लाख बालबालिका श्रमिककै रूपमा कार्यरत थिए भने तीमध्ये छ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न रहेका थिए । बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो ।  बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी काममा लगाउनु बालश्रम हो ।  हालसम्म बाल सहभागिताको बाल क्लब र यसमा आबद्ध बालबालिकाका बारेमा छलफल र विचार विमर्श हुने गरेका छन् तर श्रमिक बालबालिकाको सहभागिताको विषय हालसम्म छलफल र विमर्शमा आउन सकेको छैन ।       विशेषगरी बालश्रम न्यूनीकरण या निर्मूलनका लागि तीनै सहरका सरकार तथा सबै क्षेत्रमा अवधारणागत समान बुझाइ र निरन्तर सहकार्य गर्न आवश्यक छ । बालश्रम मानव विकासका लागि एक प्रमुख अवरोध हो भने नेपालको निम्ति समृद्धिका लागि प्रमुख चुनौती हो भन्ने बुझ्दाबुझ्दै पनि अहिले हरेक क्षेत्रमा अत्यधिक बालश्रम शोषण भइरहेको छ ।  सरकार र सरोकारवाला सङ्घ/संस्थाले अनुगमनलाई अझै सक्रिय बनाउँदै दोषीमाथि कारबाही गर्नुपर्ने र बालश्रममा लाग्ने बालबालिकाको व्यवस्थापन गर्नुपर्ने देअिन्छ । यस बर्ष “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित ६०औँ राष्ट्रिय बाल दिवस–२०८१ मनाइँदै छ ।  हरेक वर्ष नारा तय गर्दै दिवसलाई औपचारिक कार्यक्रममा मात्रै सिमित गर्नेभन्दा पनि सरकारले बालश्रम शोषणलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने देखिन्छ । बालश्रम निर्मूलका लागि मुलुकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यक्त गरेको प्रतिबद्धता, तर्जुमा भएका कानुन, नीति, योजना तथ्य कार्यक्रमहरू तदनुरूप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ । 

बाँके:   दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ ।       नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै आउनुभएको छ । घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मुर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उहाँले बताउनुभयो ।  “चौध–पन्ध्र जति मुर्ति तयारी अवस्थामा छन्, रङ्रोङ्गन गर्नमात्रै बाँकी छ, अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ”, छोटुले भन्नुभयो, “आजभोली मुर्ति किन्न भारत जानु पर्दैन नेपालगञ्जमै ठाउँ–ठाउँमा बन्ने गरेका छन् ।”      उहाँका अनुसार सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । मुर्तिको सजावटका सामाग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैंको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्री गर्ने गरिएको छ ।      दसैँको नवदुर्गामा नेपालगञ्जका टोल–टोलमा स्थापना गरिने दुर्गा भवानीका मुर्ति स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् ।  कुनैबेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मुर्ति अहिले यहीँका कालीगढले प्रशस्त बनाउने गरेका छन् । दुर्गाभवानीका आकर्षक मुर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छोटुले बताउनुभयो ।       नेपालगञ्जमै तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । यसबाहेक जानकी गाउँपालिकामा पनि मूर्ति बनाउने गरिएको छ ।  दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा दसैको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवानका मूृर्तिमा पूजा गर्ने चलन छ ।      बाँकेको जानकी–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिन रात उहाँ माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ ।  सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका राजकुमारको यो पुख्र्यौली पेसा हो ।        “पहिला घरमा सानो–सानो मूर्ति बनाउथ्यौँ पछि ठूलो बनाउन लागे, दुर्गा मातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु”, राजकुमारले भन्नुभयो, “नवरात्रको बेला ‘सिजन’ हो, पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ, मेहनत धेरै छ ।”      उहाँका अनुसार रु २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । राजकुमारले आफु जस्तै अन्य छ जनालाई रोजगारीसमेत दिनुभएको छ ।  उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । “सबैले आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्ने गरेका छौंँ, चिनेजानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, मूर्तिकार राजकुमारले भन्नुभयो, “धेरैजसो ‘रेगुलर’ ग्राहक छन्, तर चिनेको आधारमा एक जनालाई छुट गर्दा धेरै जनासँग घाटा खानुपरेको छ ।”      बाँकेमा माटोबाट भगवानको मूर्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् । त्यसका कारण मूर्तिको दरमा पनि एकरुपता छैन । बाँकेको सदरमुकाम नेपालगञ्जसहित कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ ।  दसैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रुपमा विकास हुँदै गएको नेपालगञ्जका अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो ।

कञ्चनपुर:     कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् ।  महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिनुभयो ।       उहाँका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् । तीमध्ये सौरभको शव फेला परेको छ ।  दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।       महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ ।       एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गर्नुभयो ।       राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोबर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बनाउनुभएको बताउनुभयो ।      नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।  उहाँले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सरहाना गर्नुभयो ।

झापा:     शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।      अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।      उहाँका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ ।       लोहारलाई पटक/पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो ।       यसैगरी, शिवसताक्षी नगरपालिका-८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।      दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाई रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ । उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । 

बलेवा:    मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ ।       शुक्रबार बिहान गलकोट नगरपालिका(२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो ।       मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।       घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो ।       घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

काठमाडौं:   आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।       विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।       कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

गलकोट:   रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट माग्नुभएको थियो ।        तर, उहाँको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो ।  आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गर्नुभएका बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाउनुभयो ।  आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौं बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो ।            उनीहरुसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जिप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भिरमा खसेको थियो ।      “गाउँपालिका उपाध्यक्ष बुढा आमालाई खुट्टाको उपचार गराएर घर फर्कंदै गर्दा दुर्घटना भएको हो,” सूचना अधिकारी पौडेलले भन्नुभयो, “उहाँ शी लिड्स आइकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो,  शी लिड्स आइकनको टप २७ मा छनौट भएपछि उहाँले सामाजिक सञ्चालमा भोट माग्दै काठमाडौँबाट घरतर्फ लाग्नुभएको रहेछ ।”      प्रतिस्पर्धामा देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो । ‘अनलाइन’ मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा पर्नुभएको थियो । तर, उक्त सूचीबाट एकजनाको सङ्ख्या शुक्रबारबाट घटेको छ ।      सो दुर्घटनामा जीपचालक रुकुम पूर्व भूमि गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।  शुक्रबार रा१ज २०० नंको पिकअप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो ।      उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राख्नुभएको थियो । उहाँले बुबा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौँसमेत घुमाउनुभएको थियो । सात वर्षअघि उपाध्यक्ष बुढाले बुबालाई गुमाउनुभएको थियो ।  उहाँले आमाको हेरचाह आफै गर्दै आउनुभएको थियो । आमालाई उपचार गरी सहर घुमाएर घर फर्कनुभएकी उपाध्यक्षको जिप दुर्घटनामा आमासँगै र वडाअध्यक्षको समेत मृत्यु भएपछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । 

काठमाडौं:   नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य  बढेको छ ।       त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ ।  शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएकामा आज भने एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ ।       त्यसैगरी, शुक्रबार युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ३८ पैसा कायम भएकामा आज बढेर एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम भएको छ ।      राष्ट्र बैङ्कका अनुसार शुक्रबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा तोकिएकामा आज एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।       आज स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा कायम भएको छ ।       जापानी येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ ।  राष्ट्र बैङ्कका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।  थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ ।       मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा छ ।       हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।       राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।