काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।        राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।       केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडीस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  र बिक्रीदर २० रुपैयाँ ०९ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।       राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सुनसरी:    सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज  बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।  यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।  सप्तकोशी नदी जलसतह खतरा तहभन्दा  माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।  लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो । नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड चार लाख १८ हजार दुई सय ८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड पाँच लाख सात हजार ६ सय ९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

काठमाडौं:    बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।  बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।

धादिङ:    काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ ।       प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् ।  “कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।”        पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले राससलाई जानकारी दिनुभयो ।

काठमाडौं:   पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ ।   यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो ।  सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको राससलाई जानकारी दिनुभयो । अरु ३६ जना घाइते भएका छन् । उहाँका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो ।  बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक , काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् ।  उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ ।  यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् । 

मकवानपुर:    मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना विद्यार्थीको शव फेला परेको छ ।  पहिरोमा बेपत्ता भएका सबैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।      इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार ४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिने र स्थानीय बत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए ।  आज बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधको दुईवटा ढोका खोलेर पानी बाहिर पठाएको थियो ।       कुलेखानीको बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आएका कारण बत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।       चौतीस जना विद्यार्थी पनि हेलिकप्टरमै काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।  सिस्नेरी खोलामा जलसतह बढेसँगै विद्यार्थीलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरोमा परी एन्फा एकेडेमीका ६ जना विद्यार्थी बेपत्ता भएका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भने प्रेस विज्ञप्तिमार्फ बेपत्ता विद्यार्थी भन्दै नाम सार्वजनिक गरेको छ ।      एन्फाको विज्ञप्तिअनुसार मकवानपुरका हेटौँडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका बिकल रेग्मी, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी रहेका छन् ।  अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललितकुमार घलानका छोरा हुन् । जिल्ला संयोजक घलानले सामाजिक सञ्जालमा छोरालाई बचाउन नसकेको बताएका छन् ।      सिस्नेरीखोलामा आएको बाढीले स्थानीयको ३० वटा घर बगाएको सिस्नेरी प्रहरीले जानकारी दिएको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र अहिले आफन्तकामा शरण लिएर बसिरहेको सिस्नेरी प्रहरीले जनाएको छ ।       जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार मकवानपुरको बागमती गाउँपालिका–३ फापरबारीस्थित रहरसिंह थिङको छोरी २० वर्षीया फूलमाया थिङलाई आफ्नै घर भत्किँदा घरले चेपिएर निधन भएको छ ।      हेटौँडाबाट बागमती हुँदै सिन्धुली जाने धरानचतरा मार्गको बागमती पुलमा बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ । बागमती पुलको छेउमा करिब सय मिटर सडक खोलाले बगाएको बताइएको छ ।  हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पहिरोका कारण अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक सापकोटाका अनुसार त्रिभुवन राजपथ, कान्तिराजपथमा पनि पहिरो आएपछि यातायात अवरुद्ध बनेको छ । 

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ ।    त्रिविले आज सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय  विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बिएड, बिबिएस र बि।एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ ।       “उक्त परीक्षाहरू यही भदौ २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेगरी तोकिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, त्रिविले भनेको छ ।  साथै त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही भदौ २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ ।  

काठमाडौं:    सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ ।       शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी गराउनुभयो ।  उहाँले बाढी पहिरोमा परेकालाई विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपरेकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको बताउनुभयो ।  देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएकाले विद्यालय बन्द गर्नुपरेको प्रवक्ता भट्टराईले बताउनुभयो ।  मन्त्रालयले  भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरिएको छ । 

काठमाडौं:    अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका लागि तयार रहन निर्देशन दिनुभएको छ । मन्त्री पौडेलले भनेका छन्, “देशभरका सबै अस्पतालका आपत्कालीन कक्षलाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धिगरी सहयोग गर्नका लागि चौबिसै घण्टा तयार रहन अनुरोध गर्दछु ।” मन्त्री पौडेलले औषधोपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपत्कालीन औषधोपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गर्नुभएको छ ।  उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ ।