काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहनुुभएकी मन्त्री डा राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरुका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । सो बैठकमा उहाँले भन्नुभयो, “हामीहरु अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ । एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिनप्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरु पग्लिनेक्रम तीव्र बन्दैछ । हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदैछ ।” यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरु, भूपरिवेष्टित राष्ट्रहरु तथा विश्वका अतिकम विकसित राष्ट्रहरु बढी मारमा परिरहेका मन्त्री डा राणाको भनाइ थियो । त्यसैले यी देशहरुलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’ आवश्यक रहेको उहाँले बताउनुभयो । यस्तो समस्यामा परेका देशहरुलाई दिगो विकासका लागि सहयोग बढाउन मन्त्री डा राणाले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एकातर्फ प्राकृतिक बिपत्तिमा छौँ भने अर्कातर्फ अहिले पनि विश्वका विभिन्न ठाउँमा मानवसिर्जित हिंसा र द्वन्द्वको सिकार बनिरहेका छौँ । विभिन्न नाम र बहानामा बढ्दो हिंसा तथा द्वन्द्वले सिङ्गो मानवतालाई नै क्षति गरिरहेको छ । जसको परिणामस्वरुप देशहरु र मानिसबीचमै आर्थिक, प्राविधिक असमानता तथा ‘डिजिटल डिभाइड’ को अवस्था सिर्जना भइरहेको छ ।” यस्तो अवस्थामा एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली देश र जनताबीचको सहकार्यको खाँचो अझ बढी महसुस भइरहेको उहाँले बताउनुभयो । मन्त्री डा राणाले एशियाली देशहरुले यस्ता समस्यासँग जुध्न कस्तो रणनीति बनाएर कसरी अगाडि बढ्ने र सबै किसिमका समस्याको सामना गर्ने भन्नेबारेमा सोच्नुपर्नेमा पनि जोड दिनुभयो । “हामी एशियालीहरुको दृष्टिकोण, प्रयास र प्रतिबद्धता एशिया र विश्वका चुनौतीहरुको सामना गर्ने माध्यम बन्न सकोस् । हामी जसरी प्राचीन सभ्यताका धनी छौँ, त्यसैगरी समग्र वैश्विक समस्याको समाधानमा पनि हाम्रो अग्रसरता अर्थपूर्ण बन्न सकोस् ।” उहाँले एशिया बहुसंस्कृति, ज्ञान तथा प्राचीन सभ्यताको सम्पन्न भूमि रहेकाले हाल विश्वमा देखापरिरहेको मानवताको सङ्कटको निकासका लागि पनि एशियाले भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो । त्यसैगरी बिहीबार नै परराष्ट्रमन्त्री डा राणाले राष्ट्रसङ्घीय शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुभयो । त्यस क्रममा उहाँले नेपालले द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको कामलाई निष्कर्षमा पु¥याउने अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो । नेपालको संसद्ले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेको र सो कानुन पीडितमैत्री रहेको जानकारी दिँदै उहाँले अब नेपालले शान्ति स्थापनाका बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने बताउनुभयो । मन्त्री डा राणाले भन्नुभयो, “हुन त वर्तमान विश्वमा शान्ति स्थापनाको काम जटिल बन्दै गएको छ, तर पनि हामीले आन्तरिक रुपमा गरेको शान्ति स्थापनाको काम विश्वका लागि उदाहरण बन्न सक्दछ । किनभने हामीले समयमै यो जटिल कामलाई सम्पन्न गर्न सकेका छौँ ।” मन्त्री डा राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोसजस्ता निकायसँग साझेदारी गरेर अगाडि बढ्नुपर्ने सुझाव बैठकमा दिनुभयो । नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री डा राणाले सकारात्मक सोच र व्यवहार तथा सांस्कृतिक मूल्यमान्यताहरुको सम्मान र पालनाबाट नै शान्तिपूर्ण र हिंसारहित समाज निर्माण गर्न सकिन्छ भनेर सबै लाग्नुपर्ने बताउनुभयो । बिहीबार नै परराष्ट्रमन्त्री डा राणाले अतिकम विकसित देश (एलडिसी) का विदेशमन्त्रीहरूको वार्षिक बैठकको अध्यक्षता गर्नुभयो । नेपाल हाल एलडिसीको अध्यक्ष छ । न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गर्दै उहाँले एलडिसी देशहरूलाई दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयोजनार्थ थप र अतिरिक्त सहयोगको खाँचो औँल्याउनुभयो । विश्वका यी देशहरुले पछिल्लो समय धेरै समस्या झेलिरहेका दृष्टान्त मन्त्री डा राणाले पेस गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालसहितका यी देशहरुले महामारी, भू–राजनीतिक तनाव, द्वन्द्व र जलवायु परिवर्तनका कारण बहुआयामिक चुनौतीको सामना गर्नु परिरहेको छ । साथै दिगो विकासको एजेण्डा २०३० का लक्ष्य हासिल गर्न विविध अवरोधको सामना गर्नु परिरहेको छ ।” बैठकमा मन्त्री डा राणाले ग्लोबल समन्वय ब्युरोको नेतृत्व नेपाललाई दिएकामा विश्व समुदायलाई धन्यवाद दिँदै यी अल्पविकसित देशहरूको उत्पादन र उत्पादकत्व क्षमताको वृद्धि गरी क्षेत्रीय र विश्वबजारमा पहुँचका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
काभ्रेपलाञ्चोक: बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ललितपुर: पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुैन समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले राससलाई बताउनुभयो । तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उहाँले जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले रु २४ लाख प्रदान गरेको जानकारी दिनुभयो । उक्त रकम पर्याप्त नभएको उहाँले बताउनुभयो । केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ । पिण्ड विसजर्नका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताउनुभएको छ । राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानून बनाएको उल्लेख गर्नुभयो । फोरमले यस वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनःमूल्याङ्कनः समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो । मन्त्री राणाले भन्नुभयो, “अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्दछ ।” आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणालाई पुनःमूल्याङ्कन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउन जरुरी रहेको उहाँको भनाइ थियो । मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनुपर्नेमा सुझाव दिनुभयो । नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार र संस्कृतिको मूल्य मान्यताका आधारमा शान्ति पूर्ण र हिंसारहित समाज निर्माण ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पोखरा: गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने सुनाएका छन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा गरेका कामको समीक्षा गोष्ठीको समापनमा बोल्दै बिहीबार मन्त्री पाठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने बताए । उनले आवधिक योजना बनाउँदा प्रदेशको बजेट हेरेर तयार गर्ने र ठूलो सपना नदेख्ने बताए । ‘म मन्त्री भएको २३ दिन भयो । अबको एक हप्ताभित्र कार्ययोजना तयार हुन्छ,’ मन्त्री पाठकले भने, ‘ठूलो सपना नदेखी जे प्रदेश सरकारसँग बजेट छ, जहाँ बजेट विनियोजन भएको छ त्यसलाई पूर्णत खर्च गर्ने गरेर, सदुपयोग गर्ने गरेर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ काम गर्ने सोचाइ बनाएको छु ।’ स्वास्थ्य मन्त्रालयले छुट्टै अस्तित्व पाएकाले आत्मबल, इच्छाशक्तिसहित काममा लाग्न उनले स्वास्थ्यकर्मीलाई आग्रह गरे । अस्पताल, स्वास्थ्य कार्यालय, प्राकृतिक चिकित्सालय, आयुर्वेदसहित स्वास्थ्य क्षेत्रमा समस्याको फेहरिस्त लामो रहेकाले त्यसलाई सम्बोधन गर्न सामूहिक सहकार्य आवश्यक रहेको मन्त्री पाठकले बताए । जनतासँग जोडिएर काम गर्ने स्वास्थ्यकर्मीको मनोबलमा गिरावट आउने कुनै काम नगर्ने मन्त्री पाठकले प्रतिबद्धता जनाए । ‘स्वास्थ्य स्वयंसेविका जसले जनताको स्वास्थ्यको पहिलो सूचना लिएर स्वास्थ्य केन्द्रमा जान अभिप्रेरित गर्छ त्यस तहलाई हामीले विशेष ध्यान दिनुपर्ने छ भन्ने मलाई लाग्छ,’ उनले भने । आयुर्वेद चिकित्सा, आयुर्वेद उपचार पद्धतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री पाठकको भनाइ थियो । भौतिक सेवासुविधा पाउन नसके त्यसले परिणाम पनि दिन नसक्ने मन्त्री पाठकले बताए । ‘हाम्रा कति कार्यालयमा पुराना गाडी चढ्नुभएको छ । थोत्रा मोटरसाइकल चढ्नुभएको छ । आयुर्वेद संस्था हेरेँ । त्यहाँ एउटा पनि गाडी छैन । २०–३० वर्ष पुरानो भएपनि हुनुपर्ने त्यो छैन,’ उनले थपे, ‘एक–दुई ठाउँमा अत्यन्तै थोत्रा मोटरसाइकल छन् । आज मर्मत गरेर चलायो भोलि फेरि मर्मत गर्नुपर्ने खालको साधनको अवस्था छ । जनताको घर पुग्न, औषधि ठाउँमा पु¥याउन, जनशक्ति ठाउँमा पु¥याउन गाडीको व्यवस्था हुन आवश्यक छ ।’ मन्त्री पाठकले स्वास्थ्यकर्मी आफ्ना सिपाही भएको र उनीहरूको सक्रियता नभई लडाइँ स्वास्थ्य क्षेत्रका समस्यालाई नजितिने जिकिर गरे । जनतासँग जोडिने भएकाले स्वास्थ्य कार्यालयको नाम फेरेर जनस्वास्थ्य कार्यालय राख्ने योजना रहेको उनले सुनाए । तीन दिनसम्म चलेको गोष्ठीमा मन्त्रालयअन्तर्गतका कार्यालय, अस्पताल, आयुर्वेद केन्द्रलगायतका प्रगति, आगामी कार्यदिशा, समस्याबारे छलफल, स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा प्यानल बहस, विभिन्न रोगको अवस्था र नियन्त्रणका उपायलगायत विषयमा छलफल भएको थियो । गोष्ठीको अन्तिम दिन बिहीबार गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय, आयुर्वेद केन्द्र, पालिका, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ । यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ । मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन ती भेगका सर्वसाधारणमा विभागले अनुरोध गरेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४० पैसा र चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा छ । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा कायम छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३ रुपैयाँ २४ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २० रुपैयाँ ०६ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा कायम छ । आजका लागि कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५९ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ८६ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गर्नुभएको हो । उहाँले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गर्नुभयो । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराउनुभयो । “दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।” इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताउनुभयो । उहाँले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गर्नुभयो । महासभामा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ । यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ । यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ । विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिनुभयो ।

