तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिएको ठाउँ मर्मतपछि सञ्चालनमा आएको छ । आज बिहान ७ बजे सडक भासिएपछि दमौली–चापाघाट अवरुद्ध भएकामा दश घण्टापछि साँझ ५ बजे सडक पुन: सञ्चालनमा आएको हो । भासिएको सडकमा ह्युमपाइप राखेपछि उक्त खण्ड सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । मुग्लिन पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको थियो । सडक सञ्चालन भएपछि लामो समयदेखि अलपत्र परेका सर्वसाधारण गन्तव्यमा लागेका छन् ।
धादिङ: धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ । आज बिहान बुटवलबाट काठमाडाँैतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो । बसमा चालकसहित १२ जना रहेको बताइएको छ । “बस मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिनुभएको छ । अहिलेसम्म यात्रुहरु कोहि पनि सम्पर्कमा छैनन्”, उहाँले भन्नुभयो । देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।
काठमाडौं: बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ । मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी छ । बाढी पहिरोमा परी काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ । उनीहरुको घरमा बसिरहेको अवस्थामा पहिरोमा परेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिनुभयो । यस्तै नागार्जुन नगरपालिका–६ इचङ्गुनारायण बस्ने सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपलिका–२ का अन्दाजी ४५÷४५ वर्षका सचिन साह, चन्द्रागिरी नगरपालिका–२ मसिनेका ३८ वर्षीय गर्व तामाङ र निजकी श्रीमती ३६ वर्षीया सबिनाको पनि मृत्यु भएको छ । दुवै जना घरमा बसिरहेका थिए । अर्घाखाँची घरभई कीर्तिपुर बस्ने २४ वर्षीय अजय पाण्डेको वर्षाका कारण ढलेको रुखमा मोटरसाइकल ठोक्किदा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । हालसम्म नामथर वतन नखुलेको अन्दाजी ४०÷४५ वर्षका पुरुष व्यक्तिको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेस्थित सूर्यमोडमा पहिरोले टहरो बगाउँदा कालीकोट सानी त्रिवेणी नगरपालिका–५ की २४ वर्षीया बमिला शाही, निजकी १४ वर्षकी बहिनी मनिशा शाही र निजको चार वर्षको छोरी श्रीया बमको मृत्यु भएको छ । बमिला नौ महिना पुगेको गर्भवती भन्ने बुझिएको प्रहरीले जनाएको छ । सूर्यविनायक–८ आशापुरी नैचाल बस्ने ५० वर्षीय मसली तामाङ र निजकी ३७ वर्षीया बहिनी मनु तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ । ललितपुरको गोदवरी नगरपालिका–१० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी–९ चुनिखेल घर भइ हाल सोही ठाउँ बस्ने वर्ष ४८ की सुशीला लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै महाङ्काल गाउँपालिका–३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङतानको घर पुरिँदा निजको दुई वर्षीय छोरा सम्यमको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ छम्पीस्थित भैसेपाटी–टीकाभैरव सडक खण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भइ हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको छ । गोदावरी–३ स्थित ३५ को पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र निजको २० वर्षीया छोरी मेन्सिलाको पनि मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२५ तालिम केन्द्र नजिकका ६६ की ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रिना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ कार्नतिपुर कलौनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरा तथा डुबानमा परेका एक हजार तीन सय १५ जनालाई उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ । काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ ।
सुनसरी: बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन् । आज बिहानैदेखि उनीहरुको उद्धारका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको उहाँले बताउनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निरन्तर वर्षा भइरहेका कारण उनीहरुको उद्धार तत्काल सम्भव नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ, हेलिकप्टरबाट उद्धार गर्नका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।”
काठमाडौं: अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।
पाँचथर: पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् । पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
काठमाडौं: सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै मुलुकको सङ्घीय राजधानी काठमाडौँसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ । सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् । सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद ९सरोज० सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको बताउनुभयो । उहाँले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेको बताउनुभयो । उहाँले आज पनि राजमार्ग हुँदै सार्वजनिक यातायात आवतजावत गर्ने परिस्थिति नहरेको उल्लेख गर्नुभयो । वरिष्ठ उपाध्यक्ष सिटौलाले यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुभयो । “राजमार्ग बिग्रिएका कारण काठमाडौँ आवतजावत गर्न सार्वजनिक सवारीसाधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँ भन्नुहुन्छ । हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।
काठमाडौं: निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ । आज विहान जजिरा एयरको विमान काठमाडौं विमानस्थलमा अवतरण ग¥यो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान भर्खरै अवतरण भएको छ । वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो । हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनका साथै धेरै उडान डिले भएका थिए । ‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो । शुक्रबार थाइ एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इण्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो । विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी तीनसय १६ उडान तालिका रहेकामा दुईसय ३८ हाराहारी उडान रद्द भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आन्तरिक उडान अहिलेसम्म कतैपनि नभएको बताउनुभयो । “काठमाडौँ विमानस्थल खुलेपनि आन्तरिकतर्फ अहिलेसम्म कतैपनि उडान भएको छैन, मौसम र गन्तव्य हेरेर उडानको थप निर्णय हुन्छ”, उहाँले भन्नुभयो ।
सुनसरी: निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।

