काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं:    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ ।  निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो ।  निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो ।      निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगञ्ज कार्यालयबाट टिकट वितरण गर्नेगरी व्यवस्था मिलाउनेछ । उक्त व्यवस्थापनका लागि निगमका  कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।      ‘आगामी बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट बिक्री गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।      साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको ‘वेब–साइट’बाट  ‘अनलाइन टिकट’लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढङ्गले टिकेटिङको सेवा लिने निगमको विश्वास छ ।

काठमाडौं:     नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस ९आइएपिबी०को ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित हुनुभएको छ ।       ‘अनलाइन’ मार्फत सम्पन्न मतदानको नतिजा मङ्गलबार सार्वजनिक गरिएको हो । आइएपिबीका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागी भएका थिए ।  विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरुको छाता सङ्गठनका रुपमा रहेको आइएपिबीले अन्तर्राष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।       आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक सङ्घहरू र कर्पोरेट संस्थाहरू समेत आइएपिबीका सदस्य रहेका छन् ।      नेपाल नेत्रज्योति सङ्घ विगत एक दशकभन्दा लामो समयदेखि आइएपिबीको सदस्य रहँदै आएको छ । सङ्घ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाका रुपमा २०३५ साल चैत १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।      सङ्घले नेपालका ७७ जिल्लामध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छभने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।       हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् । 

बाजुरा:    चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् ।       जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।  चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् ।  उनको जिल्ला  अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।    

काठमाडौं:     गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।  अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।       त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।  विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्र्न उहाँले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।      “अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो”, गृहमन्त्री लेखकले भन्नुभयो । अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उहाँको भनाइ थियो ।        सो अवसरमा त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै  कर्मचारीलाई समयक्रमअनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए । गृहमन्त्री लेखकका साथमा गृहसचिव गोकर्णमणि दुवाडीसमेत रहनुभएको थियो ।

कञ्चनपुर:    कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ ।       जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो ।       चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् ।  रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ ।  उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।      राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।     

दाङ:     दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।      चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।      चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते हुनुभएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जलेश्वर:    आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनु भएको छ ।  महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ ।   पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्नमा व्यस्त हुनुहुन्छ ।  भूईमै कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेञ्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएकी विभिन्न सङ्केत र इशाराको भरमा पढ्ने गर्दछन् ।        बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठनपाठनका साथै १० जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनीयरिङसम्मको पठनपाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ ।  करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठनपाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनु परेको प्रधानाध्यापक विनोद महतो बताउनुहुन्छ । कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि १० बजेदेखि सुरु हुने माध्यमिक स्तरसम्मको पठनपाठन हुने गर्दछ ।       विद्यालयको एउटा कक्षा कोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको हेर्न सकिन्छ । उहाँले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गर्नुभएको थियो ।  कक्षा ११÷१२ को पढाइ पोखराबाट पूरा गर्नुभएकी उहाँले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बटिएड।सम्मको अध्ययन गर्नुभएको हो । त्यसपछि उहाँले त्रिभुवन विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने जागिर करारमा पाउनु भएको हो ।  कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि राम्ररी बोल्न नसक्ने भएकाले उहाँ र उहाँका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन । सायद त्यसैले होला सबै विद्यार्थीहरु पठनपाठनमा निक्कै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउनुहुन्छ ।  बालबालिकाहरुले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उहाँसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्नसक्छ । बालबालिकाहरुले कुराकानी मात्रै नभएर उहाँको सङ्केत र इशाराकैभरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरु शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् ।      ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् ।  प्रत्येक वर्ष अन्य छात्रछात्राहरु सरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बताउनुहुन्छ ।  कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ । विद्यार्थीहरुले ती चित्र र सङ्केतहरु र आ–आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् ।  आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको बताउँदै शिक्षिका गौतमले शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको त्यहाँ पुगेका सञ्चारकर्मीलाई लेखेर देखाउनुभयो ।      उहाँले बहिरा बालबालिकालाई पठनपाठन गराउँदा देखिएका चुनौतीको बारेमा सोध्दा उहाँ भन्नुहुन्छ, ‘‘सुस्त श्रवण (फरक क्षमता) भएका छात्रछात्राहरु सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् ।’’ त्यस्ता क्षमता भएका बालबालिकाहरु सामान्य विद्यार्थीभन्दा बढी जिद्धी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृतिको हुने गरेकोले उनीहरुलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।      अन्य कक्षा जस्तो वैकल्पिक शिक्षिक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्दा आफू र विद्यार्थीहरु पनि थकित हुने गरेको उहाँको गुनासो छ । शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिका सरह सामान्य परिस्थितिमा बिदा पनि पाउनुहुन्न । बिरामी वा अन्य कारणले उहाँ विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रुपमा अरु शिक्षक ल्याउनुपर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । शिक्षिका गौतमले विद्यार्थीहरु त आफूजस्तै भएकाले उनीहरुसँग बस्न, पठनपाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिहरुसँगको संवादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो ।  शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरु देशभर नै रहेकाले उनीहरुलाई पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारहरुले गम्भीरता देखाउनुपर्ने बताउनुहुन्छ । प्रत्येक गाउँबस्तीमा रहेका सुस्त श्रवण भएक बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तो बोल्न र सुन्न नसके पनि शिक्षाको माध्यमले ज्ञानको ज्योतिको साहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकुन् भने उहाँको धारणा रहेको छ ।  उहाँ फरक क्षमता भएकाहरुका लागि जिल्ला, प्रदेश र सङ्घमा रहेका विभिन्न सङ् सस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ । हाल उहाँ महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष हुनुहुन्छ भने राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेशको सचिव हुनुहुन्छ ।  त्यसैगरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेश प्रदेश सदस्यको रुपमा समेत शिक्षिका गौतम कार्यरत रहनुभएको छ । फरक क्षमताका सवालहरुमा देश विदेशमा आयोजना हुने सभासमारोहमा पनि उहाँको प्रतिनिधित्व रहने गर्दछ ।  प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ । उहाँले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताउनुभयो । यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिरहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् ।  शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको संवादका लागि दोभासे र उनीहरुको समूचित व्यवस्थापनका लागि आफूले पटक–पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा माग गर्दै पत्राचार गर्दै आएको प्रधानाध्यापक महतोले बताउनुभयो ।  विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी रु चार हजारका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरुको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन हुँदै आएको छ । 

पर्वत:    आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा  महाशिला गाउँपालिकाले रु। एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।  गाउँलेहरू बसाइँ सर्न थालेपछि  पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो ।  गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उहाँले बताउनुभयो । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ ।  चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उहाँले बताउनुभयो ।  अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।