काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ ।       नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको समारोहमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।  “हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान, परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”, उहाँले भन्नुभयो ।  राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताउनुभयो । “भाषा मानिसका चाहना, भावना, विचारको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवं कलात्मक अभिव्यक्ति हो, यसले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै, भाषालाई युगौँ युगसम्म जीवित राख्ने काम पनि गर्छ”, उहाँको भनाइ थियो ।       मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चारमा साहित्यको अहम् भूमिका रहेकाले यो महत्वलाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्वपूर्ण प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।        नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्समा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।  “मलाई आशा छ, आगामी वर्षमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुङ्गा सावित हुनेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  त्यस अवसरमा उहाँले विजयी कविलाई पुरस्कार प्रदान गर्नुभयो ।

महोत्तरी:     पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ ।       जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि छ दिन विद्यालय बिदा दिने सूचना गरेको हो । महोत्तरीमा असोज सङ्क्रान्तियता ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ ।       घामको प्रचण्ड राप बढेर कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै छ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिनुभयो ।  यसअघि गत जेठमा पनि मनराशिशवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिन बिदा दिएका थिए ।      मनराशिशवा नगर कार्यालयले गर्मी छल्न बिदा दिएपछि जिल्लाका अन्य स्थानीय तहले पनि बिदा दिने तयारी गरेका छन् । जिल्लामा असोज लागेपछि बढेको प्रचण्ड रापले सरकारी कार्यालयमा काम विशेषले पुग्ने सेवाग्राही निकै घटेका छन् । यसैगरी हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ ।

बाजुरा:    यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको छ ।       मार्तडी शाखामा चार हजार र  पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार ३०० क्वीन्टल चामल मौज्दात रहेकाले दसैँ  तिहारमा खाद्यान्नको कमी नहुने शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले जानकारी दिनुभयो ।   उहाँले विगतमा जस्तो खाद्य अभावका कारण कतिपय नागरिकले महँगो चामल किन्न बाध्य हुने अवस्था यसपटक नआउने बताउनुभयो । “वर्षायाममा सडकबाटो बन्द हुने हुँदा ढुवानी समस्याले यहाँ हरेक चाडपर्वमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो । यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएकाले चामल अभाव हुने सम्भावना न्यून छ”, भण्डारीले भन्नुभयो ।        शाखा कार्यालय मार्तडीमा चार हजार क्वीन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६, अरुवा सोना चामल एक हजार ६८५ र जिरा मसिनो चामल दुई सय २५ क्वीन्टल मौज्दात रहेको जनाइएको छ ।        यस्तै, कोल्टी डिपो कार्यालयमा दुई हजार ३००  क्वीन्टल चामलमध्ये अरुवा मोटो एक हजार ९६९, सोना मन्सुली २०२ क्वीन्टल र जिरा मसिनो १५१ क्वीन्टल चामल मौज्दात रहेको छ ।  मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन      खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दसैँ तिहारलगायत चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।        सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको उहाँले बताउनुभयो । सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो रु ५ छुट दिएर बिक्री वितरण गर्न थालिएको छ ।       जिल्लाभरी चार हजार क्वीन्टल चालम बिक्री गर्ने अनुमति दिएकाले आगामी चार महिना अर्थात आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ ।  यहाँ प्रतिव्यक्ति एक बोरा मात्रै चामल खरिद गर्न सकिने र सम्बन्धित व्यक्तिले नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नियम लगाइएको छ । हाल सोना मोटा चामलको प्रतिकिलो रु ६०, अरुवा मोटा रु ५९ र जिरा मसिनो रु ८७ मा बिक्री वितरण भइरहेको छ ।  मुक्तिकोट, कवाडीका नागरिकलाई समस्या जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा कम्पनीको अस्थायी बिक्री केन्द्र छ । यहाँ समयमा खाद्यान्न ढुवानी नहुँदा नागरिकले    सहुलियत दरमा खाद्यान्न लिनका लागि एक दिन पैदलयात्रा हिँडेर कोल्टी डिपोमा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।  कवाडी बिक्री केन्द्रमा करिब सात महिना र मुक्तिकोटमा तीन महिनादेखि खाद्यान्न आपूर्ति हुन सकेको छैन । 

बाँके:     प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिका कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् ।      चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन् । विगतमा भौतिक उपस्थितिमै ललाईफकाई महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पु¥याउने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला बताउनुहुन्छ ।       दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिला मात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले ‘फेसबुक’भन्दा इमो बढी चलाउने गरेका छन् ।  “फेसबुक र म्यासेन्जरभन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्”, कोइरालाले भन्नुभयो, “दलालले इमोमार्फत महिलालाई ललाईफकाई गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।”      मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमेलगायत कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ ।  चाँडो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रुपमा प्रयोग भएको  बताउनुहुन्छ ।      सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखन विरुद्धको अभियानमा चुनौती थपिएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमोमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिमहरु देखापर्न थालेका छन् ।  बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ । “कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरुलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ, शैली फेरिएको छ, जोखिम बढेको छ”, कोइरालाले भन्नुभयो, “मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । मानव बेचबिखन हुने सङ्ख्या मात्रै नभई शैली पनि बढ्न थालेका छन् ।”      केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिलाहरु पनि बेचबिखनको जोखिममा पर्न थालेको कोइरालाको भनाइ छ ।  मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्र रुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् ।       सामाजिक सञ्जालबाट सम्बन्ध विस्तार      पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट सम्बन्ध विस्तार गरी महिलाहरु बेचबिखनको जोखिममा पर्ने गरेका छन् । टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले बताउनुभयो ।  माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धार गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो ।      गत आर्थिक वर्षमा मात्रै २० भन्दा बढी महिला सामाजिक सञ्जालमै चिनजानको भरमा भारत जान लागेका महिलालाई सीमा नाकाबाट फर्काइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ । “सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखा पर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ”, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भन्नुभयो, “सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्र रुपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिला मात्रै होइन शिक्षित र सहरिया महिलाहरु पनि जोखिममा छन् ।”      राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उहाँको भनाइ छ ।  माइती नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा भारत जान लागेका पाँच सय २६ महिलालाई नेपालगञ्जस्थिच नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकाबाट उद्धार गरेको छ । पश्चिम नेपालका पहाडी जिल्लाबाट मानव बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धार गरी आवधिक गृहमा परामर्श गरी घर फिर्ता पठाइएको संस्थाका संयोजक कोइरालाले बताउनुभयो ।      उद्धार गरिएकामध्ये ५११ जनालाई माइती नेपालले वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्न सक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराएको छ । हराएको भनी माइती नेपालमा ५८७ जनाको खोजतलासको निवेदन परेकोमा २९५ जना फेला परेको बताइएको छ ।       नयाँ शैलीले बढ्दो जोखिम      मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँशैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ ।  मानव दलालहरुले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदी बताउनुहुन्छ ।  “वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रम शोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटनाहरु छन्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिमहरु देखापर्न थालेको छन् ।”      उहाँका अनुसार विगतमा अशिक्षित र गाउँका महिला बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र सहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरु बढेका छन् । आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरुलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ ।      ग्रामीण नाका प्रयोग गर्दै मानव दलाल       बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध संस्थाहरुको निगरानी बढेपछि दलालले ग्रामीण क्षेत्रका नाका प्रयोग गर्ने गरेको पाइएको छ ।  नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखनविरुद्ध सङ्घसंस्था र सुरक्षा निकायको सक्रियता बढेपछि मानव दलालले नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा रहेका ग्रामीण नाका प्रयोग गर्न थालेको मानव बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिले जनाएका छन् ।       मानव बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहले मात्रै ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका महिलालाई उद्धार गरेको छ ।  जानकी गाउँपालिकाको शिवपुरी नाका, डडुवाको खडैंचा नाका, नरैनापुरको सुइया नाका र कोहलपुर बसपार्कबाट समेत उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो ।  “हरेक दिनजसो मानव तस्करले समय परिस्थितिअनुसार प्रविधिको प्रयोगदेखि विभिन्न उपाय अपनाउने गरेको पाइएको छ”, सुवेदीले भन्नुभयो । पछिल्लो पटक जमुना नाकामा सङ्घसंस्थाको निगरानी बढेपछि ग्रामीण नाका प्रयोग गर्न थालेको पाइएको छ ।      नेपालगञ्जस्थित जमुनाह नाकामा विभिन्न माइती नेपाल, साथी संस्थालगायतका विभिन्न आठ संस्थाले मानव बेचबिखनविरुद्ध परामर्श केन्द्र सञ्चालन गरिरहेका छन् । तर ग्रामीण क्षेत्रमा रहेका नाकामा मानव बेचबिखनविरुद्धको अभियान र रोकथामका गतिविधि न्यून छन् ।  “सबैभन्दा बढी मानव बेचबिखनको जोखिममा रहेका उमेर समूह १८ देखि २५ वर्षको रहेको तथ्यले देखाएको छ”, शान्ति पुनःस्थापना गृह, बाँकेकी संयोजक सुवेदीले भन्नुभयो, “नयाँ नयाँ ढङ्गले मानव बेचबिखनको प्रयास हुने गरेको छ ।”      नक्कली प्रेम, झुटो विवाह र रोजगारीको प्रलोभनमा महिलाहरुलाई दलालले फसाउने गरेको पाइएको उहाँको अनुभव छ । बाँकेमा मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले ग्रामीण क्षेत्रका नाका प्रयोग गर्ने पाइएको सुवेदीले बताउनुभयो ।        मानव बेचबिखनका घटना बढ्दो      मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो विलाशिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ ।  राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा एक संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।       मानव बेचबिखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवम् बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले मानव बेचबिखनलाई रोक्न समाजमा जनचेतना बढाउनाका साथै रोजगारका अवसरहरू प्रदान गर्नुपर्नेमा जोड दिंँदै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । 

भक्तपुर:    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको छ ।        सभापति थापासहित समितिका सदस्य एवं सांसद देवेन्द्र पौडेल, उर्मिला थेबे, रामप्रकाश चौधरी, लीलादेवी बोखिम, विनिताकुमारी सिंह, ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको टोलीले त्यहाँस्थित ट्रष्टको जग्गासहित हनुमन्ते करिडोर, भक्तपुर पालिकाद्वारा सञ्चालित कलेज र ख्वप अस्पतालको निरीक्षण गरेको हो ।           त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई नेपाल ट्रष्टको जग्गाबारे जानकारी गराउनुहुँदै उक्त जग्गा ख्वप विश्व विद्यालयका लागि दिन माग गर्नुभयो । निरीक्षणपछि भक्तपुर नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्न र नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित जग्गा विश्व विद्यालय सञ्चालनका लागि प्रदान गर्न माग गर्नुभयो ।       छलफलमा पूर्वशिक्षामन्त्री एवं सांसद देवेन्द्र पौडेलले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य अनुकरणीय रहेको र यसबाट देशका ७५३ वटै स्थानीय तहले सिक्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।  टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन गर्नुभयो ।  उहाँहरूले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय, वडा नं १ स्थित शिशुस्याहार केन्द्र, भाज्या पुखु र सिद्धपोखरीको समेत अवलोकन गर्नुभएको थियो ।

काठमाडौं:    नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ ।  एथेन्समा आयोजना हुने ३८औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज त्यसतर्फ प्रस्थान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीले जानकारी दिनुभयो ।      उहाँका अनुसार यही असोज ८ गतेदेखि १० गतेसम्म उक्त सञ्चालन हुने र उक्त सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी हुनुहुनेछ ।       प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विदाइ गर्नुभएको थियो ।      प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मोरङ:    सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिनुभयो ।      विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताउनुभयो ।       त्यसअवसरमा उहाँले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको पनि बताउनुभयो । सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यावन्यनमा देखिएका समस्या समाधान हुने धारणा राख्नुभयो ।      उहाँले हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुङ्गो लगाउने विधेयक पास गरेको, बजेट समयमै पास गरेको र सहकारीको रकम अपचलनका सम्बन्धमा गठित संसदीय विशेष छानबिन समिति गठन गरी प्रतिवेदन समेत सरकारलाई बुझाएकाले संसद्ले  प्रतिकुलताका बीच समयमा काम सम्पन्न गरेको बताउनु भयो ।

म्याग्दी:    धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ ।       मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।       डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्शाङ्कन) भएको छ ।       धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नति हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।      चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।  कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताउनुभयो । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ ।         यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।       म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिनुभयो ।       हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप रु छ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताउनुभयो । प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो । 

गण्डकी:    कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् ।  पुस्तकालयमा दुई सय दुई जना सदस्य रहे पनि अहिलेसम्म जम्मा आठ जनाले पुस्तक लेनदेन गरेको सचिवालयका कम्प्युटर अधिकृत चन्द्रकला बस्नेतले जानकारी दिनुभयो ।  उहाँका अनुसार पुस्तक घरमा लगेर पढ्नेमा दुई जना प्रदेशसभा सदस्य र केही मन्त्रीको सचिवालयका कर्मचारी छन् । पुस्तकालयका सदस्यले एक महिनासम्म घरमा लगेर पुस्तक पढ्न पाउने व्यवस्था छ ।  “एकपटकमा एउटा मात्र पुस्तक लैजान पाइन्छ, एक महिना पूरा भएपछि पुस्तकालयमा फिर्ता गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कर्मचारी अभावका कारण पुस्तकालय सेवा प्रभावकारी बन्न सकेको छैन ।” उहाँले पुस्तकालय व्यवस्थापन र सञ्चालनका लागि पुस्तकाध्यक्षको प्रबन्ध गर्नुपर्ने बताउनुभयो । पुस्तकालय नियमित खोलेर बस्ने कर्मचारी नभएका कारण पुस्तकालय सधैँजसो बन्द रहने गरेको उहाँको भनाइ छ ।  पुस्तकालयमा कानुनलगायत विभिन्न विधाका गरी एक हजार छ सय ९८ पुस्तक छन् । महत्त्वपूर्ण स्रोत पुस्तक पनि पुस्तकालयमा सङ्ग्रहित छन् । कानुन निर्माणको जिम्मेवारी लिएका प्रदेशसभा सदस्यलाई लक्षित गरी स्थापना गरिएको उक्त पुस्तकालयबारे कतिपय प्रदेशसभा सदस्य नै अनविज्ञ रहेको पाइएको छ ।  पठन संस्कृतिको कमीका कारण पनि पुस्तकालयप्रति अरुचि बढेको हुनसक्ने प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बताउनुभयो । उहाँले प्रदेशसभा सचिवालयले पुस्तकालयलाई आवश्यक पर्ने कर्मचारीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।  “व्यवस्थित पुस्तकालय त बनेको छ, तर सदुपयोग हुनसकेको छैन”, उहाँले भन्नुभयो, “प्रदेशसभा सदस्यले पनि पुस्तक अध्ययन गर्ने बानी बसाल्नु आवश्यक छ, यसमा हाम्रो पनि जिम्मेवारी रहन्छ ।” विषयगत पुस्तक अध्ययनले प्रदेशसभा सदस्यको बौद्धिक क्षमता वृद्धि हुने र प्रदेशसभामा खेल्ने भूमिका पनि सशक्त बन्ने उहाँको बुझाइ छ ।   प्रदेशसभा सदस्य सुवेदीले आफूले विषयगत समितिको बैठकमा पुस्तकालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने विषय उठाउँदै आए पनि सचिवालयबाट सो कुरा कार्यान्वयन हुन नसकेको बताउनुभयो । करिब रु २० लाख खर्चेर बनाइएको उक्त पुस्तकालयमा विद्युतीय पुस्तकालय पनि रहेको छ ।  विद्युतीय पुस्तकालयप्रति पनि कसैले चासो नदिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विसं २०७९ माघमा तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उक्त पुस्तकालयको उद्घाटन गर्नुभएको थियो । प्रदेश स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसर पारेर प्रदेशसभा भवन परिसरमा पुस्तकालय स्थापना गरिएको थियो ।