काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।   मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो ।   नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गिकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।   उहाँका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो ।   फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।   दिगो रुपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उहाँले उल्लेख गर्नुभयो ।   “हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हेर्‍यौँ”, अधिकारीले भन्नुभयो, “मध्यविन्दु नगरपालिकाभित्र हामीले सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।”   गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम सुरु गरेको हो । फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपाएको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।   “एक ठाउँको फोहर अर्को ठाउँमा सारेर व्यवस्थापन ग¥यौँ भन्ने होइन, यसको दीर्घकालीन व्यवस्थापनसहित आर्यआर्जनसँग जोड्ने गरी हामीले सुरुवात गरेका छौँ”, उहाँले भन्नुभयो ।   फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ ।   मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु गरेको फोहर सङ्कलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो ।   “जैविक मल उत्पादनका लागि आवश्यक मिश्रणका लागि स्थानीय सामुदायिक वनबाट हरियो घाँस, सुकेका पात सङ्कलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको स्रोतसमेत वृद्धि भएको छ”, उपप्रमुख चौधरीले भन्नुभयो ।   सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।   क्रमश: सहरीकरणको सुरुको चरणमा रहेको मध्यविन्दुमा अहिलेदेखि फोहरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।   “कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्न आवश्यक गोबर सङ्कलनका लागि छाडाचौपाया व्यवस्थापन समेतसँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ”, घर्तीले भन्नुभयो, “यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक संरचना निर्माणको चरणमा छ ।”

काठमाडौँ:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ ।   कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छभने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।   विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।   कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौं:     संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । आज साँझ ४ बजेदेखि सुरु कन्सर्ट करिब चार घण्टा चलेको थियो ।       कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, उहाँकी पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत सहभागी हुनुभयो ।       त्यसअवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर कन्सर्टमा सहभागीसँग संविधान दिवसको खुसी साट्नुभएको थियो । उहाँले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिनुभयो ।       कन्सर्टको सुरक्षार्थ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।       एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा भएको कन्सर्ट सञ्चालनका लागि सरकारले समन्वय र सहजीकरण गरेको थियो ।       कन्सर्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अर्केस्ट्रा प्रस्तुत गरेका थिए भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका थिए ।       कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतले प्रस्तुति दिनुभएको थियो ।

काठमाडौं:   संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित  राजदूतको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले बहुमतका आधारमा प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको हो ।       समिति सदस्य महेश बर्तौलाले आवश्यक कागजात नपुगेका कारण श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको जानकारी दिनुभयो । “उहाँले आवश्यक कागजात बुझाएपछि मात्रै नाम अनुमोदन गर्नेछौ”, उहाँले भन्नुभयो ।       बर्तौलाका अनुसार समिति सदस्यद्वय डोलप्रसाद अर्याल र प्रकाश अधिकारीले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिना, भारतका लागि प्रस्तावित डा शङ्कर शर्माको नाम अनुमोदनमा असहमति जनाउनुभएको थियो ।      सरकारले अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, रुसका लागि जङ्गबहादुर चौहान, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिनालाई राजदूतमा सिफारिस गरेको थियो ।        यसैगरी सरकारले चीनका लागि कृष्णप्रसाद ओली, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शैल रुपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, भारतका लागि शङ्कर शर्मा, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई र  स्पेनका लागि सनिल नेपाललाई राजदूतमा प्रस्ताव गरेको थियो ।  

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको हो । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् । कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु प्रस्तुत हुने जनाइएको छ । यस्तै समारोहमा आतिसबाजी गरेर संविधान दिवसको उल्लास छरिने छ ।  समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा हुने उक्त कार्यक्रमका चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ ।  कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकारहरु आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।  सो कन्सर्टमा आज साँझ प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुनुहुनेछ । कार्यक्रममा राष्ट्रिय भावनाले प्रेरित १६ वटा गीत प्रस्तुत गरिने थियो ।  ‘नेसनल डे कन्सर्ट’ को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र  प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । सो क्षेत्र भएर आवतजावत हुने सवारीसाधनलाई आज राति आठ बजेसम्मका लागि डाइभर्ट गरिएको छ भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ तोकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वारा संविधान दिवसका अवसरमा आज पोखरामा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्तिक गणतन्त्रका आधारभूत मान्यता र मूल्य प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउनुपर्ने बताउनुभयो ।  “हाम्रो संविधानले सामाजिक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ”, प्रदेश प्रमुख भट्टले भन्नुभयो, “उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक श्रोत तथा उर्जाशील युवाशक्तिसहित मानवीय संशाधनका दिगो सदुपयोग गर्दै कृषि, वन, जलश्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकासमार्फत स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो ।” नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको उहाँले बताउनुभयो । संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरुको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरुमा सबै नागरिकको समान पहुँच स्थापित हुनुपर्ने उहाँले बताउनुभयो ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।  समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकङ्कक्षा पूरा गर्ने सङ्कल्प लिएको बताउनुभयो ।  “निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभिद र उत्पीडिनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।  मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व राजनीतिक नेतृत्वसामु रहेको उहाँको भनाइ छ । संविधानमा व्यवस्था भएअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाडफाँट गर्दै सङघीय प्रणालीलाई संस्थागत गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।  ग्ण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो । उहाँले संविधानले निदृष्ट गरेअनुसार धेरै ऐन, कानुन बनाउनुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।  “सङ्घ सरकारले ऐन नबनाएका कारण कतिपय प्रदेश कानुन अगाडि बढाउन सकिएको छैन”, सभामुख धितालले भन्नुभयो, “नागरिकलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउन राजनीतिक दलहरु एकता र समन्वयका साथ अगाडि बढ्नु आवश्यक छ ।” गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान निर्माण राष्ट्रिय एकतासाथ गरिएको भन्दै संशोधन र परिमार्जन गर्दा पनि राष्ट्रिय सहमतिका आधारमा मात्र गरिने बताउनुभयो ।  उहाँले संविधानले व्यवस्था गरेका गणतन्त्र, सङ्घीयता, धर्मनिरेपक्षता, समानुपातिक र समोवशी सिद्धान्तप्रति कसैसँग सम्झौता नुहने बताउनुभयो । “नागरिकका अधिकारलाई थप सुदृढ र अधिकारसम्पन्न गराउन संविधान संशोधन हुनसक्छ, तर यो विष्या राजनीतिक दलहरुबीचको एकता र सहमतिका आधारमा मात्र अगाडि बढ्छ”, पूर्वमुख्यमन्त्री अधिकारीले भन्नुभयो । गण्डकी प्रदेशसभाका विपक्षी दलका नेता हरिबहादुर चुमानले संविधानको पूर्ण कार्यान्वयन नहुँदा सङ्घीयताप्रति टिकाटिप्पणी भइरहेको बताउनुभयो । उहाँले संविधानका उपलब्धीलाई रक्षा गर्न परिवर्तनका पक्षधर शक्तिहरु एकठाउँ उभिनुपर्ने बताउनुभयो । 

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज हो भन्नुभएको छ ।      क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्थामार्फत संविधान तयार गर्न नेपाली जनताले निकै लामो सङ्घर्ष गर्नुपरेको धारणा राख्नुभयो ।         क्यानाडाली विदेशमन्त्री मेलानी जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा क्यानाडामा हुनुहुन्छ ।      मन्त्री डा राणाले भन्नुभयो, “नेपालको संविधान २०७२ को घोषणा नेपाली इतिहासको एक महत्वपूर्ण क्षण हो । यो लोकतान्त्रिक संविधान नेपाली जनताको बृहत् सहभागितामा बनेको समावेशी र प्रतिनिधिमूलक संविधानसभाले निर्माण गरेको हो । त्यसैले यो नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण भएको संविधान हो ।”      “यसकारण पनि यो संविधानले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक भावनाको प्रतिनिधित्व गर्दछ र जसले समावेशी र लोकतान्त्रिक समाज निर्माणमा सहयोग पु¥याउँदछ”, परराष्ट्रमन्त्री डा राणाले बताउनु भयो ।       विश्वव्यापी रुपमा स्वीकार गरिएका मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यताहरूलाई सम्मान गर्नु यो संविधानको एक महत्वपूर्ण पक्ष हो भन्दै मन्त्री डा राणाले यो संविधान शान्ति र समावेशिताको प्रतीक रहेको उल्लेख गर्नुभयो ।       नेपालको यो संविधानले नागरिक अधिकारको संरक्षण गर्दै कानुनी राज्यको मूल्यमान्यताअनुसार हरेक क्षेत्र र तहका नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार प्रदान गरेको मन्त्री डा राणाले स्पष्ट गर्नुभयो ।      परराष्ट्रमन्त्री डा राणाले यो संविधानले मुलुकमा पछिपरेका तथा उपेक्षित अवस्थामा रहेका हरेक समुदायका नागरिक तथा महिलालाई राज्यका सबै निकायमा प्रतिनिधित्व गराई उनीहरूको कानुनी अधिकार सुनिश्चितताको व्यवस्था गरेकाले विश्वकै लोकतान्त्रिक संविधानको एक दस्तावेज भएको उदाहरण पनि पेस गर्नुभयो ।            उहाँले भन्नुभयो, “मलाई लाग्छ हाम्रो संविधान विश्वकै एक समावेशी संविधान मध्येको एक हो, जसले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ ।”      यो संविधान कार्यान्वयनमा आएको करिब एक दशकमा नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता राज्यका उच्च निकायमा महिला पुग्न सफल भएको दृष्टान्त पेस गर्दै मन्त्री डा राणाले देशका निजामती कर्मचारी, सुरक्षा निकाय एवं अन्य क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्नुभयो ।       त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालको प्रजातान्त्रिक प्रक्रिया र संविधान लेखनको अभियानमा क्यानाडा सरकारले गरेको सहयोगको पनि सराहना गर्नुभयो । प्रजातन्त्र, मानवधिकार र कानुनी शासनजस्ता आधारभूत विषयहरूमा दुवै देशको समान धारणा रहँदै आएको पनि उहाँले बताउनुभयो ।           सो राष्ट्रिय दिवस समारोहमा क्यानाडाली र नेपाली समुदायका नागरिकहरू सहभागी हुनुहुन्थ्यो । क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेलले मन्त्री डा राणासहित समारोहमा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।      

काठमाडौं:    आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ ।  शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो ।        विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुन:निर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।       सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन छ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनकोे मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिनुभयो ।       “अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “लाइन लामो छ, दैनिक जम्मा छ सयका लागि खुलाउने भनेका थियौँ । भीड बाक्लो भयो । तसर्थ तोकिए भन्दा बढीले धरहरा चढिसकेका छन् । अब ३ः३० बजेसम्म भित्र छिर्न दिइन्छ, ४ः३० बजे बन्द हुन्छ ।”      उहाँले तत्कालका लागि धरहरा चढ्न निःशुल्क व्यवस्था मिलाइएको र यो अस्थायी व्यवस्था मात्रै रहेको बताउनुभयो । शुल्कको विषय टुङ्गो लाग्न बाँकी रहेको र छिट्टै टुङ्गो लाग्ने उहाँको भनाइ छ ।      सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा “मेरो धरहरा, मै बनाउछु” भन्ने अभियान सुरु गरिएको थियो ।  विसं २०७५ असोज १४ गते राष्ट्रिय पुन:निर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो । विसं २०७८ वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको थियो ।       धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओभी डट एनपी’ नामक वेबसाइट सञ्चालन गरेको छ । इकाइका अनुसार वेबसाइटमार्फत पनि बुकिङ गर्न सकिनेछ ।  धरहराको इतिहास      विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ्ग परी भत्कियो । विसं १९२३ मा धरहराको जिर्णोद्वार गरिएको थियो ।  विसं १९९० माघ २ मा महाभुकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ मा तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तल्लाबाट नौ तल्लामा सीमित भएको थियो ।       फेरि विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । हाल पुनःनिर्माण गरी धरहरा सञ्चालनमा ल्याइएको हो ।