काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काभ्रेपलाञ्चोक:      दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा १३ स्थानीय तह छन् । पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी गाउँपालिकामा एक÷एक जनामा डेङ्गी सङ्क्रमण देखिएको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार सोमबार चार पुरुषमा र आइतबार एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ । करिब दुई हप्तादेखि दैनिकजसो डेङ्गी सङ्क्रमण देखिएको हो ।       हालसम्म एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब दुई महिनाको अवधिमा ६२ पुरुष र ७२ महिलामा डेङ्गी सङ्क्रमण देखिएको छ । अझै डेङ्गी सङ्क्रमणदर बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।       कार्यालयका अनुसार सबैभन्दा बढी बनेपा नगरमा १८ पुरुष र १६ महिला गरी ३४ जनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ । यस्तै पनौतीमा २६, भुम्लुमा २०, धुलिखेलमा १८, मण्डनदेउपुरमा १२, पाँचखालमा सात, नमोबुद्धमा छ, रोशीमा पाँच तथा तेमाल, बेथानचोक र महाभारतमा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा चार सय ८७ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।       हाल सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।       डेङ्गीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने ब्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुनेगर्दछ । 

बैतडी:     सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।  आज दिउँसो खसेको पहिराले राजमार्ग अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारीसाधन र यात्री बीचबाटोमा अलपत्र परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।  सडकमाथिबाट ठूलो पहिरो खसेकाले परिो पन्छाएर राजमार्ग नियमित सञ्चालन गर्न केही समय लाग्ने उहाँले बताउनुभयो । सडक खुलाउन पहल भइरहेको भन्दै प्रवक्ता पाण्डेयले राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीको सडक सम्बन्ध विच्छेद भएको उल्लेख गर्नुभयो ।

सङ्खुवासभा:     सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।       खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।  मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।       टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएको छ ।      राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको स्पष्ट गर्नुभयो । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।      “एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ । हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँगाउँमा स्वतःस्फूर्त रुपमा शिक्षा विकासको लहर चलेको थियो तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ । राणा र राजाहरु आफ्ना ऐस आराम र शासनमा मात्रै बढी रमाएका थिए । अहिले गणतन्त्र आइसकेको छ । यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो ।”       उहाँले विश्वस्तरमा प्रातस्पर्धा गर्नसक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गर्नुभयो ।      कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गर्नुभयो ।  ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ ।  प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।

बझाङ:    बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।  आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।  ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एक जना बेपत्ता भएका उहाँले जानकारी दिनुभयो ।       ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताउनुभयो ।  अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:    निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ ।  उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।      साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।  बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ ।  यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ ।      काठमाडौँबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा रु ११ हजार ३६० रहेको छ । काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ ।  बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ १६ गरी कुल १८ विमान छन् । 

काठमाडौं:    चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।  जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।       देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरेको जनविश्वास अनुसार हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास अनुसार आज बिहानैदेखि स्नान र दर्शनका लागि भक्तजन आउने क्रम रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।      दशनार्थीलाई सहज रुपमा स्नान र दर्शन गर्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले आज साँझसम्म करिब २० हजारले मेला भर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । आज मेला भर्न काठमाडौँसहित ललितपुर, भक्तपुर र उपत्यकाका आसपास क्षेत्रबाट धार्मिक पर्यटकको आगमन भइरहेको नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।      मेलामा कुनै पनि सङ्कट आइनपरोस् भनेर मङ्गलबार साँझ दह तथा त्यस परिसरमा दिप प्रज्वलन गरिएको थियो । इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत कलात्मक रूपले राखिएको छ ।      कलङ्कीबाट करिब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह धार्मिक तथा ऐतिहासिक महत्व रहेकाले मेला लोकप्रिय बन्दै गएको नगरप्रमुख गिरीले बताउनुभयो । मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करिब एक सय स्वयंसेवक परिचालन गरिएको छ ।      इन्द्रदहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नाश हुने जनविश्वास रहेको छ । चन्द्रागिरि–१ का पूर्ववडाध्यक्ष राजेन्द्र केसीका अनुसार इन्द्रदहको परिसर करिब दुई सय रोपनीेमा छ ।  भ्यूटावर, सडक स्तरोन्नति, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण सुरु भइरहेकाले आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

काठमाडौं:    संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।       भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।         कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजे सम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको छ ।  बिहीबार साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले धमाधम मञ्च निर्माण, सरसफाइलगाय काम भइरहेका छन् ।

काठमाडौं:    बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।      यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो ।  नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।