नुवाकोट: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ । मन्दिर परिसरमा रहेको सूर्यमती ९तादी० खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो । ७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो । मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौँबाट दुप्चेश्वर आउनुभएका अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको थियो ।
तनहुँ: मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्ति¥याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्ति¥याली दमौली बजार परिक्रमा गरी पुनः मस्जिदमा आएर टुङ्गियो । मुस्लिम समुदायको सन्देष्टाका रुपमा पैगम्बर मोहम्मदलाई मान्ने गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिनुभयो । जन्मोत्सवको अवसरमा सोमबारदेखि विविध कार्यक्रम गरिएको उहाँले बताउनुभयो । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिना गएको इतिहास छ । पैगम्बर जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो ९हिजरी संवत० सुरु भएको हो । जगतको सृष्टिदेखि पवित्रस्थलमा रहेको मक्का मदिना पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थियो । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अन्य धर्मावलम्बी कम गएको विश्वास छ । त्यसपछि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालिएको हो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बीले जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले पैगम्बर मोहम्मदको उपदेशलाई मुस्लिम समुदायले हरेक वर्ष सम्झने गर्छन् ।
काठमाडौं: उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गर्नुभएको छ । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ । रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं: यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ । सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो । मुख्यगरी सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्विक र संरक्षितस्थल, बाल गृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत ती हतियार लैजान नपाउने गरी निषेध गरेको गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ । सूचनामा नेपाल सरकारले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिँड्न इजाजतपत्र प्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र प्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने जनाएको छ । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘यात्रा इजाजतपत्र प्राप्त गरेका हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजन बाहेक सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्त्विक र संरक्षितस्थल, बालगृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत लैजान नपाउने गरी निषेध गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।’ मेडिकल व्यवसायी दुर्गा प्रसाईको अङ्गरक्षकले अदालत परिसरमा हतियार लगेको भेटिएपछि सर्वोच्चले त्यस विषयमा आवश्यक कानुन बनाउन आदेश दिए अनुसार सरकारले उक्त निर्णय गरी राजपत्रमा सूचना जारी गरेको हो ।
नवलपुर: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताउनुभएको हो । “आम जनताको सहभागिताबिना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ”, उहाँले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।” उहाँले समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो । जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भएरगरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उहाँको भनाइ छ । “देशमा काम नभएको होइन, धेरै भएको छ । त्यसलाई जनतासमक्ष पुर्याउँदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूरभविष्यलाई असर पार्दछ”, उहाँले भन्नुभयो, “केही भएन होइन कि भएका के छन् र गर्नुपर्ने के हो, यसमा मेरो सहभागिता के हो भन्ने सोच जनतामा हुनु आवश्यक छ ।” गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्तन कार्यक्रममार्फत प्रदेशभित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम् कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्नेगरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनोट भएको उहाँले जानकारी दिनुभयो । “अहिले हरेक कुरा सरकारले गरिदिनुपर्छ भन्ने सोच विकास भएको छ तर सरकारले मात्र होइन सरकारले ल्याएको कार्यक्रममा जनताको पनि अहम् भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “सफल नभएका काम किन भएन त्यसलाई कसरी सफल बनाउने, हाम्रो जिम्मेवारी के छ रु कसरी गर्न सकिन्छ भनेर नागरिकले सोचिदिनुस् ।”
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिनुएको छ । “पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आपूmमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो । समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौँ”, सन्देशमा भनिएको छ, “बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शैक्षिक प्रणाली र मौलिक परम्परामा समेटिएका थिए । खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौँ । अब फेरि हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनःजागृत गर्नुपर्नेछ ।” प्रधानमन्त्रीले विकास–निर्मााणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको जनाउनुभयो । “सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ”, सन्देशमा भनिएको छ । सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन गर्न आविष्कार कोष, ‘स्टार्टअप फण्ड’जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवा केन्द्रित कार्यक्रमका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै सन्देशमा विज्ञानको प्रयोग गरी तथ्यमा आधारित नीति, कार्यक्रम निर्माणमा केन्द्रित हुन आवश्यक रहेको बताउनुुभएको छ ।
भोजपुर: विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् । अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन् । श्रमदान अभियान सञ्चालन गरेर विद्युत् लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा–७ का वडाध्यक्ष कुमार थापाले बताउनुभयो । वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युत्को तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ । “श्रमदानमार्फत वडाभित्रका विभिन्न काममा जुटिरहेका छौँ,” उहाँले भन्नुभयो, “खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ । त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ ।”
मनाङ: हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा एकअर्कामा सञ्चार गर्न पनि मुस्किल छ । यस पालिकाका विभिन्न वडाबाट ‘मोबाइल’मार्फत सञ्चारसँग जोडिन समस्या हुने गरेको हो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामा मोबाइलबाट सञ्चारसँग जोडिन झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । स्मार्ट फोनको समयमा उहाँसँग स्मार्ट फोन नभएर होइन । उहाँ भन्नुहुन्छ, “स्मार्ट फोनको युग छ । फोन स्मार्ट भएर नहुने । मोबाइलको टावर नै टिप्दैन । अग्लो र कता टिप्छ भन्दै हिँड्न बाध्य छौँ । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । न त यो विकटमा यही टुकटुके नै उपयोगी छ ।” मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई सास्ती भोग्नुपरेको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै भौँतारिनुपर्ने बाध्यता रहेको छ । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँचवटै वडाका स्थानीयलाई यस्तो समस्या भोग्न बाध्य छन् । वडा नं. १ का वडाध्यक्ष फुर्वाठेले लामाले गाउँपालिकाको केन्द्र च्याँखुमा नै सबैभन्दा बढी समस्या भोग्नुपर्ने बताउनुभयो । नेपाल टेलिकमको नमस्ते मोबाइलको ‘टुजी’ मात्र चल्ने भएकाले यसलाई स्तरोन्नति गरी ‘फोरजी’ बनाए स्थानीयलाई सुविधा पुग्ने उहाँको भनाइ छ । क्याङमा पनि ‘टेलिफोन’ सुविधा राम्रो नहुँदा सास्ती बेहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यहाँ ‘मोबाइल नेटवर्क’ मात्र होइन बिजुलीको पनि समस्या रहेको छ । ‘सोलार’मा समस्या नभए मोबाइल नेटवर्क पनि चल्ने र ‘चार्ज’ नहुँदा समस्या हुने गरेको छ । यसको स्थायी समाधानका लागि बिजुली नै अन्तिम विकल्प रहेको वडाध्यक्ष लामाको जोड छ । राम्रोसँग मोबाइल नचल्दा स्थानीय मात्रै होइनन्, कर्मचारीलाई पनि हैरानी व्यहोर्नुपर्ने अवस्था छ । नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले राम्रोसँग फोनको टावर नटिप्दा काम गर्न धेरै सकस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय लघु जलविद्युत् भएका स्थानमा टावर चार्ज हुँदा काम गर्छ । टावरमा चार्ज नहुँदा काम नगर्ने यहाँको प्रमुख समस्या नै हो ।” उहाँले सम्पर्क गर्ने माध्यम टेलिफोन नै राम्रोसँग नचल्दा बिरामीलाई अझ बढी समस्या हुने गरेको बताउनुभयो । गण्डकी प्रदेशको सबैभन्दा विकट र अहिलेसम्म सडक सञ्जालले छुन नसकेको एउटै मात्र पालिका नार्पाभूमि हो । उहाँले भन्नुभयो, “प्रदेश तथा सङ्घीय सरकारको नजरमा नपरेर पनि होला नार्पाभूमिमा दुःखैदुःख भोग्न बाध्यता छ । यहाँ हत्तपत्त कर्मचारी आउनै मान्दैनन् । काम गर्न पनि धेरै समस्या छ ।” नार्पाभूमि – ४ कावडाध्यक्ष कर्मग्यान्जे लामाले मोबाइलको टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वडा कार्यालयमा पटक्कै टावर लाग्दैन जसले गर्दा आफूले पनि कार्यालयको काम परेमा गाउँमा टावर टिप्ने ठाउँमा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको उहाँको दुखेसो छ । उहाँले भन्नुभयो, “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक काम पर्दा आफन्तलाई फोन सम्पर्क गर्न सकिँदैन । वडामा मोबाइलको टावर छैन । वडा कार्यालयभित्र मोबाइल फोन नचलेपछि कसरी काम गर्ने ?” नेपाल टेलिकम मनाङ शाखा कार्यालयमा समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष लामाले बताउनुभयो । यहाँका स्थानीयले फोन गर्नुपर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता छ । कुनै आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नुपरेमा निकै समस्या हुने गर्दछ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जोतेन्जिङ लामा झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्न बाध्य हुनुहुन्छ । उहाँसँग स्मार्ट फोन नभएको होइन तर मोबाइलको टावर नभेटिँदा समस्या हुने गरेको छ । उहाँले भन्नुभयो, “फोन मात्र स्मार्ट भएर नहुने रहेछ । मोबाइलको टावर नै आउँदैन । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । त्यसैले दुर्गममा यही फोन प्रयोग गर्ने गरेको छु ।” मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या हुँदै आएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातर्फ भौँतारिनु परेको छ । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँचवटै वडाका स्थानीयलाई यस्तो समस्या छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एककोे खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २९ पैसा कायम गरिएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम रहेको थियो । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४४ पैसा कायम गरिएको थियो । त्यसैगरी आइतबार पनि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको थियो । त्यसैगरी आइतबार युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा कायम गरिएको थियो । आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

