कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् । तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोबर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बनाउनुभएको बताउनुभयो । नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सरहाना गर्नुभयो ।
झापा: शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ । लोहारलाई पटक/पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो । यसैगरी, शिवसताक्षी नगरपालिका-८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ । दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाई रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ । उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
बलेवा: मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका(२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो । मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो । घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो । घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
काठमाडौं: आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
गलकोट: रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट माग्नुभएको थियो । तर, उहाँको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो । आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गर्नुभएका बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाउनुभयो । आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौं बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो । उनीहरुसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जिप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भिरमा खसेको थियो । “गाउँपालिका उपाध्यक्ष बुढा आमालाई खुट्टाको उपचार गराएर घर फर्कंदै गर्दा दुर्घटना भएको हो,” सूचना अधिकारी पौडेलले भन्नुभयो, “उहाँ शी लिड्स आइकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो, शी लिड्स आइकनको टप २७ मा छनौट भएपछि उहाँले सामाजिक सञ्चालमा भोट माग्दै काठमाडौँबाट घरतर्फ लाग्नुभएको रहेछ ।” प्रतिस्पर्धामा देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो । ‘अनलाइन’ मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा पर्नुभएको थियो । तर, उक्त सूचीबाट एकजनाको सङ्ख्या शुक्रबारबाट घटेको छ । सो दुर्घटनामा जीपचालक रुकुम पूर्व भूमि गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । शुक्रबार रा१ज २०० नंको पिकअप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राख्नुभएको थियो । उहाँले बुबा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौँसमेत घुमाउनुभएको थियो । सात वर्षअघि उपाध्यक्ष बुढाले बुबालाई गुमाउनुभएको थियो । उहाँले आमाको हेरचाह आफै गर्दै आउनुभएको थियो । आमालाई उपचार गरी सहर घुमाएर घर फर्कनुभएकी उपाध्यक्षको जिप दुर्घटनामा आमासँगै र वडाअध्यक्षको समेत मृत्यु भएपछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएकामा आज भने एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ । त्यसैगरी, शुक्रबार युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ३८ पैसा कायम भएकामा आज बढेर एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम भएको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा तोकिएकामा आज एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ । आज स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा कायम भएको छ । जापानी येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ । राष्ट्र बैङ्कका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा छ । हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९३ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
पोखरा: प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनुभएको हो । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।” प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ । “बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज हामी ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रुपमा मनाइरहेका छौ, यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बालबालिका तथा बालबालिका अभिभावकहरुलाई हार्दिक बधाई तथा शुभकामना”, उहाँले भन्नुभयो, “हामी ६०औँ बाल दिवस मनाइरहँदा बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन पाउन सकिरहेका छैनन् ।” उहाँले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिनुभएको छ । “पोषणयुक्त खाना, न्यानो नाना, विद्यालय जाने र गुणस्तरीय शिक्षा पाउने अवसर, स्वस्थ्य रहन पाउने अधिकार उपलब्ध गराउनैपर्छ । बालविकास विभिन्न कार्यक्रम सञ्चालन भए पनि ती प्रभावकारी हुन सकेका छैनन्,” उहाँले भन्नुभयो । गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उहाँको भनाइ छ । “बालबालिका मानव जातिका भविष्य हुन् । हाम्रा तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो, “आमा बालबालिका लागि पहिलो गुरु हुन् । बालमैत्री वातावरण बनाइयोस् । बालबालिकालाई माया गरौं । सही आचारण सिकाउँदै जानुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गर्नुपर्छ, उनिहरुलाई भविष्यको योग्य नागरिक बनाउन सक्छौँ ।”
पोखरा: बागलुङको गल्कोट नगरपालिका वडा नं २ नरेठाँटीको भुङ्खानी भन्ने स्थानमा आज बिहान भएको जीप दुर्घटनाप्रति गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शोक व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री पाठकले तीन जनाको दुःखद निधन भएको र एक जना घाइते भएको खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् । उनले भनेका छन् – ‘उक्त दुर्घटनाबाट ज्यान गुमाउनुभएका गाउँपालिका उपाध्यक्षसहित ३ जना मृतकप्रति भावपूर्ण श्रदान्जली व्यक्त गर्दछु । यस दुःखद घटनामा परी परिवारका सदस्यको निधनबाट शोकमा पर्नुभएका आफन्तजनहरुप्रति हार्दिक समावेदना प्रकट गर्दछु । साथै, यस दुर्घटनावाट घाइते हुनुहुने वर्ष २९ का सवारी चालक प्रेमवहादुर पुनको हाल धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेकोमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ उनले यस दुःखद घटनामा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको तर्फवाट आवस्यक सहयोग र सहकार्यको लागी प्रतिवद्दतासहित सम्पूर्ण सरोकारवाला निकायमा आवश्यक सहयोगको लागि अपिल पनि गरेका छन् ।

