रुकुम पश्चिम: रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ । गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । आज बिहान रा१झ २०० नम्बरको गाडी सडकदेखि तीन सय मिटर तल खेसेको थियो । दुई महिलाको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो भने एक पुरुषको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो । उक्त गाडी काठमाडौँबाट रुकुमपूर्व आउने क्रममा बागलुङको गलकोट–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण गाउँपालिकाले नसोचको क्षति बेहोर्नुपरेको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो । “सुरुमा घटना भएको खबर मात्र थाहा भएको थियो, त्यसपश्चात् पालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना प¥र्यो भन्ने खबर पायौँ सामान्य दुर्घटना होला घाइते हुनुभएको होला भन्ने लागेको थियो, केहीबेरमा मृत्युको खबर प्राप्त गर्यौं, हामी स्तब्ध भएका छौँ, पालिकालाई अतुलनीय क्षति पुगेको छ”, उहाँले भन्नुभयो । अहिले अध्यक्ष घर्तीसहित गाउँपालिको टोली घटनास्थल गएको छ । बागलुङको बुर्तिवाङ पुगेको र दुई÷तीन घण्टामा घटनास्थल पुगिने गाउँपालिका अध्यक्ष घर्र्तीले जानकारी दिनुभयो । घटनास्थल पुगेपश्चात् शव रुकुमपूर्व नै ल्याइने उहाँले बताउनुभयो ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराउनुभयो । मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ, यसका लागि नेपाल सरकार तत्पर छ ।” जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उहाँले बताउनुभयो । राजदूत चन्दाले जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि नेपाली रु ६० हजार करोड बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पनि खानी र खनिजको सम्भावना अत्यन्त राम्रो छ, छिट्टै जाम्बिया र नेपालका दुवै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर सहयोग आदानप्रदान गर्नुपर्छ ।” सो क्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । साथै उक्त अवसरमा मन्त्रालयका द्विपक्षीय व्यापार महाशाखा प्रमुख एवं प्रवक्ता बाबुराम अधिकारी र बहुपक्षीय व्यापार महाशाखा प्रमुख देवराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । यो पनि पढ्नुहोस बागलुङ जीप दुर्घटना अपडेट: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी निधन भएको खबरले स्तब्ध भएको बताउनुभएको छ । अध्यक्ष दाहालले मृतक तीनैजनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो । पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो । यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।
सुर्खेत: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो । सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च मागलाई ध्यान दिएर यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ । सल्ल्यानमा कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो । अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताउनुभयो । उहाँले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताउनुभयो । कार्यक्रममा युवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी हुनुहुुन्थ्यो । मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताउनुभयो ।
भोजपुर: भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ । नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन । “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भन्नुभयो । टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ । रु पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ । विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ । जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ । भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भन्नुभयो ।
पोखरा: बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा आज बिहान जीप दुर्घटना हुँदा रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका भुपेन्द्रा बुढा मगर रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भएको जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टि गरेको हो । गलकोट नगपालिका–२ भुङखानी मध्यपहाडी लोकमार्गमा रा १ झ २०० नम्बरको सरकारी जीप दुर्घटना हुँदा मृत्यु भएका ३ जना मध्ये एकजनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो । दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ । हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी आज राति सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हुरीबताससहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीसहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

