पोखरा: बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा आज बिहान जीप दुर्घटना हुँदा रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका भुपेन्द्रा बुढा मगर रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भएको जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टि गरेको हो । गलकोट नगपालिका–२ भुङखानी मध्यपहाडी लोकमार्गमा रा १ झ २०० नम्बरको सरकारी जीप दुर्घटना हुँदा मृत्यु भएका ३ जना मध्ये एकजनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो । दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ । हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी आज राति सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हुरीबताससहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीसहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
गोरखा: धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । “पहिरोमा ज्यान गुमाएकामध्ये एकै परिवारका तीनजनाको परिवारलाई एकमुष्ट रु पाँच लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “रेशम गुरुङ र रमेश परियारको परिवारलाई रु दुई लाख ५० हजारका दरले राहत दिने निर्णय भएको छ ।” त्यसैगरी घाइते भएका दुई जनाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ । गत साउन १३ गते बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ । अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो । त्यसैगरी युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो । केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७० र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा कायम भएको छ । जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ४१ र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा छ । हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
पोखरा: नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । वीपी चिन्तन प्रतिष्ठानद्धारा आज (विहीबार) पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय नेपालमा कृषि क्रान्ति:सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले भन्नुभयो– सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ । युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताउँदै उहाँले आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको भनाइ उहाँको छ । वीपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाइ पनि उहाँले राख्नुभयो । नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने भनाइ उहाँको छ । कृषिमा आत्म निर्भर हुन सक्यौ भने नेपालको खरबौ रुपैयाँ नेपालमा नै रहने उहाँले बताउनुभयो । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीको विचारलाई आत्मसाथ गर्दै कृषि क्रान्ति ल्याउन सकयौ भने नेपालीको भविष्य यसैमा हुने बताउनुभयो । प्रजातन्त्रमा नेपाली जनतामा मालिक हुने भएकाले उनीहरुकै सेवामा दलका नेताहरु लाग्नुपर्ने भनाइ उहाँको छ । कृषिलाई केन्द्र बिन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आवद्ध भएको नेपालमा कृषिलाई बैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी हुने बताउनुभयो । दिगो विकास र अर्थतन्त्र सुधारको लागि सरकारले कृषिलाई नै पहिलो प्राथामिकाता दिनुपर्ने बताउँदै रेमिट्यान्सको भर पर्दा देशको अर्थतन्त्र कुनै पनि बेला ढल्न सक्ने भनाई उहाँको छ । नेकपा (माओवादी ) केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्म निर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बभताउनुभयो । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको बताउनुभयो । कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्ने भनाइ उहाँको छ । उक्त कार्यक्रम वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवम् नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुुङ्गानाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सह अध्यक्ष पुष्पराज पराजुली, केन्द्रीय सदस्य नवराज गुुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछाने, डा. लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेशनका गण्डकी प्रदेश संयोजक दुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुङ अध्यक्ष गोविन्द कंडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्ले लगायतले बोल्नुभएको थियो ।
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र लगानी बोर्डको संयुक्त आयोजनामा आजदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनको पाँचाँै संस्करणमा उहाँले पूर्वाधार विकासका लागि विनियोजित बजेटको आधार बढाउने प्रतिबद्धता जनाउनुभएको हो । “सरकारले पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजनलाई बढाउँदै जाने नीति लिएको छ, पुँजीगत खर्च बढाउन विभिन्न कानुनी तथा प्रक्रियागत सुधारलाई अगाडि बढाउने र वैदेशिक सहायतालाई भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्ने नीति छ”, उहाँले भन्नुभयो, “समस्त नेपालीको आकाङ्क्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो । सरकार यही आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ । समृद्ध नेपाल निर्माणको मूल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो ।” एक्काइसौँ शताब्दी अनुकूल एवं नागरिकको चाहनाबमोजिम पूर्वाधार विकास एवं निर्माणमा सरकार केन्द्रित हुने उहाँको भनाइ छ । मन्त्री पौडेलले आर्थिक तथा वित्तीय अनुशासन एवं वित्तीय उत्तरदायित्व कायम गर्दै सार्वजनिक वित्त परिचालन एवं उपयोग गर्न चाहेको जानकारी दिनुभयो । “सरकारको एक्लो प्रयासबाट पूर्वाधार विकासको कमी पूरा गर्न सम्भव छैन । यसमा निजी क्षेत्र, बाह्य लगानीकर्ता, अन्तर्राष्ट्रिय समुदाय एवं विकास साझेदारसमेतको उत्तिकै भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले वित्तीय नीति, मौद्रिक नीति एवं नियामकीय नीतिहरुमा समयानुकूल परिवर्तन एवं परिमार्जन गर्दै आएको छ । आगामी दिनमा यसलाई अझ अनुकूल बनाउँदै लैजाने प्रतिबद्धता यस अवसरमा व्यक्त गर्न चाहान्छु ।” पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार आवश्यक रहेको मन्त्री पौडेलले बताउनुभयो । सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको उहाँको भनाइ छ । “हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौँ । भू–परिवेष्ठित अवस्थिति र जटिल भू–बनोटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीका रुपमा लिने गरिएको छ”, उहाँले भन्नुभयो, “सरकारले गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधार र त्यसका विविध पक्षबीचको अन्तर आबद्धतालाई महत्वपूर्ण रुपमा लिएको छ । सरकारले यातायात, ऊर्जा, जलस्रोत, सूचना प्रविधिजस्ता प्रमुख पूर्वाधार क्षेत्रलाई केन्द्रित गर्दै बजेट विनियोजन तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ ।” उहाँका अनुसार एकीकृत एवं समन्वयात्मक पूर्वाधार विकासका लागि तहगत सरकारबीच आपसी समन्वय, सहकार्य एवं सहयोगको उत्तिकै भूमिका रहन्छ । यसका लागि विकास नीति, योजना र कार्यक्रमबीच उपयुक्त सामञ्जस्यता कायम गर्न वर्तमान सरकार प्रतिबद्ध र क्रियाशील रहेको उहाँको भनाइ छ । “सीमित स्रोतसाधन र पूर्वाधार विकासका आकाङ्क्षाबीचको सन्तुलन कायम गर्न आन्तरिक स्रोतबाट मात्र सम्भव छैन । पछिल्लो समय आन्तरिक राजस्व परिचालनको अवस्था दबाबमा रहेको र सार्वजनिक ऋणको भार बढ्दै गएकाले पूर्वाधार विकासका लागि स्रोतको जोहो गर्नु सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यसैले हामीले निजी क्षेत्रको लगानी आकर्षित गर्न सम्मिश्रित वित्त, सार्वजनिक निजी साझेदारीलगायत अन्य सम्भाव्य विधिहरुको उपयोगका लागि आवश्यक प्रबन्ध गर्न प्राथमिकता दिएका छौँ ।” उहाँले विकास सहायतालाई छनोटपूर्ण बनाउँदै यसलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्न जोड दिइएको बताउनुभएको छ । “सहायता परिचालनका नवीन उपकरणको प्रयोग र परिचालनमा विशेष ध्यान दिइएको छ, सहायता परिचालनलाई थप प्रतिफलयुक्त बनाउन नयाँ विकास सहायता परिचालन नीति तर्जुमा गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो । सम्मेलन भोलिसम्म चल्नेछ ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताउनुभएको छ । कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिनुभयो । “साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो, “उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन यस संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्छ ।” सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्नेतर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वयादी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । “साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस्, कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्राण्ड बनोस्”, उहाँले भन्नुभयो । मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । “सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउँदै उच्च गुणस्तरको उपभोग्य वस्तुको आपूर्तिमा व्यवस्थापनले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “कर्पोरेसनलाई नेपालको भरपर्दो र विश्वासिलो तथा कृत्रिम अभाव अन्त्य गरी सहज आपूर्ति गर्नसक्ने संस्था बनाउनुपर्छ ।” मन्त्री भण्डारीले आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिका अपरिहार्य रहेको र अप्ठ्यारो अवस्थामा अत्यावश्यक वस्तुको उपलब्धता सहज बनाउन संस्थाले उल्लेख्य काम गरेको स्मरण गर्नुभयो । “अब बजार सङ्कुचन होइन, विस्तार र व्यावसायिकीकरणमा लाग्नुपर्छ, साल्ट्र ट्रेडिङसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल र व्यावसायिकरुपमा उभ्याउनुपर्छ, व्यावसायिकता र सेवा प्रवाहलाई थप परिस्कृत गरेर लैजानुपर्छ ।” अत्यावश्यक वस्तुको अभाव हुन नदिनेतर्फ संस्था सदैव सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले रासायनिक मलको आपूर्ति व्यवस्था थप सहज बनाउन क्रियाशील बन्नुपर्छ भन्नुभयो । “कर्पोरेसनले भरपर्दो आपूर्ति शृङ्खला बजारमा गतिलो हस्तक्षेप, बजार मूल्यमा समायोजन र गुणस्तरीय वस्तुको सहज उपलब्धतामा ध्यान दिनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो । कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ रुपमा जनताको घरदैलोमा पु¥याउन क्रियाशील रहेको बताउनुभयो । उहाँले आगामी दिनमा कर्पोरेसनको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कर्पोरेसनका प्रमुख कार्यकारी अधिृकत उर्मिला श्रेष्ठले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । कार्यक्रममा रु एक लाख राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यसवर्षका लागि मानव कल्याण समाज काभ्रेपलाञ्चोक तथा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने कर्मचारीका सन्तति दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । यस्तै कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृतका साथै २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो ।
काठमाडौं: गृहसचिव गोकर्णमणि दुवाडीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिबिधिका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायत देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनको समस्या तथा चुनौतीका बारेमा जानकारी लिनुभएको थियो । सोही अवसरमा गृहसचिव दुवाडीले सशस्त्र प्रहरील स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको बताउनुभयो । उहाँले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूित दिलाउन सकेमा मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालमा श्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरुको सेवा, सुविधा र वृत्तिविकासमा मन्त्रालयको सदैव साथ रहने जनाउँदै उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिता र जवाफदेहितासहित थप प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दुवाडीबाट भएको निर्देशन लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू परिचालित कार्यक्षेत्रमा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका सम्पुूर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निरीक्षण भ्रमणकाक्रममा गृहसचिव दुवाडीले प्रधान कार्यालयमा रहेको बोर्डर रिसोर्स एण्ड रिसर्च सेन्टर, केन्द्रीय परिचालन कक्ष, एपिएफ म्युजियम र सशस्त्र प्रहरी बल नेपालद्धारा हाल प्रयोगमा ल्याइरहेका विपद् उद्धार सामाग्रीहरुको अवलोकन गर्नुभएको थियो ।कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम र वंशिराज दाहाल, गृह मन्त्रालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
काठमाडौं: नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।” यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारीखेती गरिएको थियो । त्यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ । तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो । कतारमा नेपाली ताजा तरकारी निर्यात समारोहमा चीनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालको कृषि विकासमा महत्वपूर्ण पहल भएको बताइएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको कृषि प्रवद्र्धन कार्यक्रमद्वारा समर्थित किसानले खेती गरेका विभिन्न बाली समावेश भएका जनाइएको छ । आज कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन् । दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गर्दै कतारको बजारमा मनपर्ने नेपालका लागि कतारी राजदूत अन्सारीले बताउनुभयो । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडि) नेपालको कार्यालय चीनबाट सफल ग्रामीण विकास अभ्यासलाई नेपाली समुदायमा हस्तान्तरण गर्न अग्रपङ्क्तिमा रहेको छ । नेपाली समुदायभित्र जीवनस्तर उकास्ने मुख्य लक्ष्यका साथ सिएफआरडिले सुरुमा प्लम्बिङ र इलेक्ट्रीशियनको व्यावसायिक तालिममार्फत सीप विकासमा ध्यान केन्द्रित गरेको जनाइएको थियो । यसैगरी २०२३ मा उक्त फाउन्डेसनले काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम प्रदान गरेर दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग गरेको आजको कार्यक्रममा जानकारी दिइएको थियो ।

