म्याग्दी: धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्शाङ्कन) भएको छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नति हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताउनुभयो । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ । यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् । म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिनुभयो । हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप रु छ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताउनुभयो । प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो ।
गण्डकी: कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् । पुस्तकालयमा दुई सय दुई जना सदस्य रहे पनि अहिलेसम्म जम्मा आठ जनाले पुस्तक लेनदेन गरेको सचिवालयका कम्प्युटर अधिकृत चन्द्रकला बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तक घरमा लगेर पढ्नेमा दुई जना प्रदेशसभा सदस्य र केही मन्त्रीको सचिवालयका कर्मचारी छन् । पुस्तकालयका सदस्यले एक महिनासम्म घरमा लगेर पुस्तक पढ्न पाउने व्यवस्था छ । “एकपटकमा एउटा मात्र पुस्तक लैजान पाइन्छ, एक महिना पूरा भएपछि पुस्तकालयमा फिर्ता गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कर्मचारी अभावका कारण पुस्तकालय सेवा प्रभावकारी बन्न सकेको छैन ।” उहाँले पुस्तकालय व्यवस्थापन र सञ्चालनका लागि पुस्तकाध्यक्षको प्रबन्ध गर्नुपर्ने बताउनुभयो । पुस्तकालय नियमित खोलेर बस्ने कर्मचारी नभएका कारण पुस्तकालय सधैँजसो बन्द रहने गरेको उहाँको भनाइ छ । पुस्तकालयमा कानुनलगायत विभिन्न विधाका गरी एक हजार छ सय ९८ पुस्तक छन् । महत्त्वपूर्ण स्रोत पुस्तक पनि पुस्तकालयमा सङ्ग्रहित छन् । कानुन निर्माणको जिम्मेवारी लिएका प्रदेशसभा सदस्यलाई लक्षित गरी स्थापना गरिएको उक्त पुस्तकालयबारे कतिपय प्रदेशसभा सदस्य नै अनविज्ञ रहेको पाइएको छ । पठन संस्कृतिको कमीका कारण पनि पुस्तकालयप्रति अरुचि बढेको हुनसक्ने प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बताउनुभयो । उहाँले प्रदेशसभा सचिवालयले पुस्तकालयलाई आवश्यक पर्ने कर्मचारीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “व्यवस्थित पुस्तकालय त बनेको छ, तर सदुपयोग हुनसकेको छैन”, उहाँले भन्नुभयो, “प्रदेशसभा सदस्यले पनि पुस्तक अध्ययन गर्ने बानी बसाल्नु आवश्यक छ, यसमा हाम्रो पनि जिम्मेवारी रहन्छ ।” विषयगत पुस्तक अध्ययनले प्रदेशसभा सदस्यको बौद्धिक क्षमता वृद्धि हुने र प्रदेशसभामा खेल्ने भूमिका पनि सशक्त बन्ने उहाँको बुझाइ छ । प्रदेशसभा सदस्य सुवेदीले आफूले विषयगत समितिको बैठकमा पुस्तकालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने विषय उठाउँदै आए पनि सचिवालयबाट सो कुरा कार्यान्वयन हुन नसकेको बताउनुभयो । करिब रु २० लाख खर्चेर बनाइएको उक्त पुस्तकालयमा विद्युतीय पुस्तकालय पनि रहेको छ । विद्युतीय पुस्तकालयप्रति पनि कसैले चासो नदिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विसं २०७९ माघमा तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उक्त पुस्तकालयको उद्घाटन गर्नुभएको थियो । प्रदेश स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसर पारेर प्रदेशसभा भवन परिसरमा पुस्तकालय स्थापना गरिएको थियो ।
धनुषा: जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् । फरार मध्ये एक जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । फरार सबै थुनुवा लागुऔषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ । थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेशन काटेर फरार भएका र ह्याक्सो ब्लेड उनीहरुको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताउनुभयो । यसैबीच,प्रहरीले फरार अभियुक्तको नाम सार्वजनिक गरेको छ । प्रवक्ता अवालेका अनुसार फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् भने सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।
म्याग्दी: नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताउनुभयो । “दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा जङ्गलको लोक्ता जम्मा गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।” यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनःसञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो । उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ । पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ । माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताउनुभयो । कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उहाँले बताउनुभयो । जङ्गलमा गाईवस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् । बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताउनुभयो । “एकजनाबाट अधिकतम रु ३० हजारसम्मको लोक्ता खरिद भएको छ”, उहाँले भन्नुभयो, “एक जनाले सरदर रु १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।” समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ । सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकतानुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ । नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ । अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् । समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ । म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ । सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ ।
रामेछाप: मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज दिउँसो १ बजे आसपासमा सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् । सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास गरिएको छ । घान्द्रुकको घ्युरीक्युला खोलानजिक अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरिया, अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले डम्पिङ साइडको एक कार्यक्रमका बिच शिलन्यास गरे । शिलन्यास कार्यक्रममा बोल्दै अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई प्लाष्टिक र फोहोर मुक्त बनाउने योजना रहेको बताए । ‘अन्नपूर्ण संरक्षण क्षेत्रभित्र गण्डकीका १५ वटा स्थानीय तह रहेका छन्, एक्यापको क्षेत्रभित्र रहेका पदमार्गमा पर्यटकहरुले लैजाने प्लाष्टिक र पानी तथा अन्य बोतलहरु जथाभावी फाल्दा प्रदुषण बढेको गुनासो आएको छ’, प्रमुख कडरियाले भने, ‘एक्यापसँग जोडिएका गाउँ तथा पर्यटकीय स्थलहरुलाई चाँडै नै प्लाष्टिक मुक्त बनाउने योजना अनुसार घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास गरिएको हो, अभियान अन्य स्थानमा पनि सुचारु गछौं ।’ एक्याप प्रमुख कडरियाले पर्यटकीय गाउँ घान्द्रुकमा कुहिने फोहोरको व्यवस्थापन भएपनि नकुहिने प्लाष्टिक तथा बोतलहरुको व्यवस्थापन गर्न डम्पिङ साइडको आवश्यक रहेको बताए । ‘फोहोरलाई मोहरमा परिवर्तन गर्न नसक्दा फोहोर व्यवस्थापन हाम्रो मुख्य चुनौती बन्दै गएको छ, उनले भने, ‘घान्द्रुकको डम्पिङ साइडमा नकुहिने फोहोरलाई संकलन गरेर पोखरा लैजाछौं जसको ढुवानी खर्च एक्यापले नै व्यहोर्छ , एक्यापले पोखराको ग्रिन भेन्चर संस्थासँग विभिन्न स्थानमा संकलन भएको फोहोरलाई पुनः प्रयोग गर्न सम्झौता गरिसकेको छ ।’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ गुरुङले घान्द्रुक पर्यटकहरुको आर्कषक केन्द्रमा रुपमा रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी रहेको बताए । ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य हो, घान्द्रुकलाई सफा सुग्घरसँग थप विकास गर्न सके पर्यटकहरुको आगमन अझै बढ्न सक्छ’ अध्यक्ष गुरुङले भने, ‘घान्द्रुकलाई सफा तथा फोहोर व्यवस्थापनका लागि एक्यापसँगको सहकार्यमा डम्पिङ साइड निर्माण गर्दै छौं, डम्पिङ साइड निर्माण भएसँगै नकुहिने फोहोर व्यवस्थापन गर्न सहज हुनेछ ।’ उनले अन्नपूर्ण क्षेत्रमा भित्र रहेको पदमार्गहरुमा पर्यटकहरुको आगमनसँग फोहोर व्यवस्थापनमा चुनौती थपिएकाले नकुहिने फोहोर व्यवस्थापनका लागि नै डम्पिङ साइडमो निर्माण थालेको बताए । ‘डम्पिङ साइड निर्माण गर्न एक्यापले सहयोग गर्ने आश्वासन दिएको छ, हामीले नै डम्पिङ साइड बनाउने योजना अगाडि बढाएर आज शिलन्यास गर्न सफल भएका छौं’, उनले भने, ‘घान्द्रुक हाम्रो पहिचान हो, यसलाई संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी पनि हाम्रो नै त्यसैले घान्द्रुकलाई सफा राख्न डम्पिङ साइड निर्माण गर्न लागेका हौं ।’ उनले यस अगाडि निर्माण गरेको डम्पिङ साइडमा समस्या रहेकाले नयाँ स्थानमा डम्पिङ साइड निर्माण गर्न लागेको बताए । अध्यक्ष गुरुङले पोखराको एक संस्थासँग समन्वय गरेर घान्द्रुकमा फोहोरको वर्गिकरण तथा व्यवस्थापनका लागि असोज ९ र १० गते २ दिने तालिमको समेत आयोजना गरिएको बताए । घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग (एबिसी), मुल्डे,हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा जाने आन्तरिकक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । घान्द्रुकमा पर्यटकहरुको संख्या तथा बसाई लम्बाउन चक्रिय पदमार्ग, पार्कहरु समेत निर्माण गरिएको छ ।
काठमाडौं: बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो ।
गण्डकी: गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ । अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको शिकारमा मानिसहरु लालयित हुन्छन् । पछिल्लो समय होटल र रेष्टुराँमासमेत अरिङ्गालका परिकार पाइन थालेका छन् । कतिपयलाई अरिङ्गाल अर्थोपार्जनको माध्यम बनेको छ । किराँत समुदायमा त कुलपितृलाई अरिङ्गाल चढाउने चलन नै छ । विषालु भइकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्याइरहेको अरिङ्गालको अप्राकृतिक ढङ्गले शिकार भइरहेकामा जानकारहरुले भने चासो व्यक्त गरेका छन् । प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रकसमेत मानिने अरिङ्गाललाई संरक्षण गरिनुपर्ने उनीहरुको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका उप(प्राध्यापक डा इन्द्रप्रसाद सुवेदीले मौरी प्रजातिमा पर्ने अरिङ्गाल, बारुलालगायत किराको परागसेचनमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “पर्यावरणीय चक्रमा पनि किराफट्याङ्ग्राको महत्वपूर्ण भूमिका हुन्छ, बारुला र अरिङ्गालले बोटबिरुवामा लाग्ने कीटजन्य रोग नियन्त्रणमा पनि सहयोग गर्छन्”, उहाँले भन्नुभयो, “प्रकृतिलाई सन्तुलित बनाउने किरा(फट्याङ्ग्राको संरक्षणमा समुदायमा सचेतना जगाउनु आवश्यक छ ।” व्यवस्थित शिकार गर्दैमा लोप नै हुने खतरा नरहेपनि घातक ढङ्गले शिकार गरेमा भने अरिङ्गाल हराउँदै जानसक्ने उहाँको भनाइ छ । डा सुवेदीले बासस्थानमा बाधा पुगेको र जिस्काएको अवस्थामा मात्र अरिङ्गालले मानिसलाई चिल्ने गरेको बताउनुभयो । “अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले यसप्रति मानिसहरुमा भयसँगै नकारात्मक धारणा व्याप्त छ”, उहाँले भन्नुभयो, “असुरक्षाको महसुस भयो भने अरिङ्गालले पनि आफ्नो प्रतिरक्षा गर्छ, यो तरिका हरेक जीवजन्तुमा रहेको हुन्छ ।” डा सुवेदीले नेपालमा मौरीमा जति अध्ययन÷अनुसन्धान बारुला, अरिङ्गालगायत किरामा हुन नसकेको बताउनुभयो । प्राकृतिक या मानवीय कारणबाट किराफट्याङ्ग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने उहाँको भनाइ छ । डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले वनजङ्गलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतङ्ग नष्ट गर्नु कानुन विपरीत हुने बताउनुभयो । त्यस्ता कृयाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार दण्डनीय मानिने उहाँको भनाइ छ । “झट्ट सुन्दा किराफट्याङ्ग्राको विषय सामान्य जस्तो पनि लाग्न सक्छ, तर समुदायमा यसबारे सचेतनाको खाँचो छ, रुखमा आगो लगाएर अरिङ्गालको गोलो निकाल्नु पर्यावरणीय दृृष्टिले पनि उपयुक्त छैन ।” त्यस्तो कार्य गर्दा कतिपय ठाउँमा रुखका ठूल्ठूला हाँगा र बोटसमेत काट्ने गरिएको उहाँको भनाइ छ । प्रमख काफ्लेले गोरखा, म्याग्दीलगायत ठाउँका होटलहरुले अरिङ्गालका परिकार बेच्न थालेपछि सम्बन्धित जिल्लाका सरोकार भएका पक्षबीच छलफल चलाएको बताउनुभयो । “तत्काललाई कानुनी कारबाहीभन्दा पनि व्यवसायी र स्थानीयवासीहरुमा सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो “अप्राकृतिक र घातक तरिका अपनाएर अरिङ्गालको शिकार गर्नुहुँदैन ।” कार्यालयले विभिन्न स्थलमा उक्त विषयमा सचेतनामूलक सूचनापाटी पनि राखेको प्रमुख काफ्लेले बताउनुभयो । उहाँले मौरी अग्लो स्थानमा पुग्न नसक्ने हुँदा अग्ला रुख र भीरमा बस्ने अरिङ्गाले बोटबिरुवामा परागसेचन गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “अरिङ्गाल गर्मी ठाउँमा पनि बाँच्न सक्ने ज्याद्रो स्वभावको हुन्छ, जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढीरहेका बेला यस्ता कीटपतङ्गले पर्यावरण सन्तुलनमा सहयोग गर्छन् ।” प्रायः अग्ला रुख, पाखा र भीरपहरामा गोलो लगाएर बस्ने अरिङ्गालले आँप, नास्पती आदिका रुखमा बस्न बढी रुचाउने प्रमुख काफ्लेले बताउनुभयो । चीनलगायत कतिपय देशमा घरघरमै अरिङ्गालको खेती गर्ने गरिएको उहाँले सुनाउनुभयो । विश्वभर किटपतङको घट्दो अवस्थाका कारण वनस्पतीजन्य उत्पादनमा ह्रास हुँदै आएको उहाँको भनाइ छ । अग्ला रुख, वनस्पती तथा स्थानहरुमा अरिङ्गाल, बारुलालगायत परागसेचनको मुख्य माध्यमका रुपमा रहेको प्रमुख काफ्लेले बताउनुभयो । पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा किराफट्याङ्ग्राले महत्तवपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । “सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरु खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ”, उहाँले भन्नुभयो, “किराफट्याङ्गा भएनन् भने परावसेचन हुन नपाइ रोगबिरुवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन ।” अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले वनजङ्गलमा रमाइरहेको किरालाई जभाभावी नजिस्काउन र शिकार नगर्न उहाँले सुझाउनुभयो । शिक्षण अस्पतालका चिकित्सक मिलेर गरेको एक अनुसन्धानले अरिङ्गालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको देखाएको प्रमुख काफ्लेले बताउनुभयो । अरिङ्गालको खिलमा हुने ‘मेलेटिन’ र ‘एपामिन’ नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसञ्चारमा अवरोध गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले पछिल्लो समय वनजङ्गलमा अरिङ्गालका गोला कम देखिन थालेको सुनाउनुभयो । “अरिङ्गाल पोलेर खाने चलन पहिलेदेखिकै हो, अहिले पनि फाट्टफुट्ट रुपमा शिकार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “आगो लगाएर बोटबिरुवामै हानी पुग्ने गरी अरिङ्गालको शिकार गर्नु उपयुक्त छैन, यसतर्फ समुदाय नै सजग रहनुपर्छ ।” वन क्षेत्रका महत्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उहाँले पर्यावरणसँग जोडिएका स–साना विषय नियामक निकायहरुको पनि प्राथमिकता नपरेको उल्लेख गर्नुभयो । नेपालमा अरिङ्गालरबारुलाका ११ प्रजाति रहेको बताइन्छ । यी दुई प्रजाति साउनदेखि मङ्सिरसम्म बढी सक्रिय हुने गरेका छन् । अरिङ्गालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार बासस्थान फेर्ने गरेको जानकारहरु बताउँछन् । फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट बयस्क हुनु अरिङ्गालको जीवनचक्र हो । अरिङ्गालले मौरी, झिङ्गा आदि किरालाई आहार बनाउने गरेको छ । पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिङ्गाल पाइने गरेका छन् ।

