पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले नेपाल पत्रकार महासंघ गण्डकीलाई सात दिने अल्टिमेटम र स्मरणपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन भन्दै मागसहित मंगलबार फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ नेतृत्वको टिमले नेपाल पत्रकार महासंघ गण्डकीमार्फत केन्द्रलाई पत्र बुझाएको हो । महासंघ गण्डकीका तर्फबाट महासचिव गोविन्द सुवेदी र सदस्य राधिका कँडेलले उक्त पत्र बुझेका हुन् । फोनिज लामो समयदेखि नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन संघर्षरत रहेको छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासङ्घका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिज गण्डकीले पुनः स्मरणपत्र बुझाएको हो । २००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ । त्यसपछि, २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेको पनि पत्रमा छ । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको स्मरणपत्रमा उल्लेख छ । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो । अल्टिमेटममा ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए नेपाल पत्रकार महासङ्घका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी पनि गराएको छ । नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोनिजको माग सहितको अल्टिमेटम र स्मरणपत्र तत्काल केन्द्रमा पठाउने बताए । सत्य लुकाएर लुक्न नसक्ने उनको भनाई थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसका बारेमा निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए । फोनिजले देशव्यापीरुपमा नेपाल पत्रकार महासंघलाई पत्र बुझाएको हो । मंगलबार जिल्ला शाखा र प्रदेश शाखाहरुले स्मरणपत्र बुझाएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागी कफि खेती बारे तालिम सम्पन्न गरेको छ । भावना सहकारीको आयोजनामा शेयर सदस्यहरुका लागी आयोजना गरिएको १ दिने कफि खेती तालिम सोमबार सम्पन्न भएको हो । तालिमको समापन गर्दै वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीहरुले आफ्ना कार्यक्रमहरुमा आफै कफि बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै कृषिबाट आर्थिक रुपान्तरणका लागी वडा लागीपरेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत तालिमहरू पनि सञ्चालन गर्ने बताएका थिए ।पर्यटकिय वडा भएकाले थोरै लगानिमा धेरै उत्पादन लिन सकिने खेति कफि भएकाले सराङकोटको कफिको ब्राण्ड बनाउन पर्ने बताए । भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरेका थिए । उनले सबैभन्दा धेरै कृषि क्रममा लागि पर्ने भावना सहकारी भएको दाबी गरें ।सराङकोटमा बाँदर लाग्ने हुदा कफि खेतिलाई बाँदरले नखाने हुदा उप्रयुक्त खेती भएको बताए । यस्तै तालिमका संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खडकाले तालिमबाट किसान स्वयम सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै अर्जुन थापाले तालिम उपयोगी भएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यलय कास्कीका निर्देशक प्रवित्रा अधिकारी, दिपक थापा लगायतले मन्तव्य राखेको कार्यक्रम सञ्चालन सहकारीका सचिव मिनबहादुर थापाले गरेका थिए। तालिममा ४० जना सेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो भने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द सुबेदीले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
बारा: निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । घटनामा गम्भीर घाइते भएकामध्ये वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत र भारतको मोतिहारी जिल्ला ढाकाथाना गवाई गाउँ बस्ने ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको छ । वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा रजतको सोमबार राति पौने १० बजे र जयसवालको मङ्गलबार बिहान ७ः३० बजे मृत्यु भएको हो । निजगढ नगरपालिका–७ मा रहेका रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम मगरको सोही अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । यस्तै गम्भीर घाइते भारतको रामगढवा बस्ने २० वर्षीय अरविन साहको आईसियू कक्षमा उपचार भइरहेको छ भने वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोज देवान र निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । आईसियूमा उपचाररत साहको अवस्था गम्भीर छ भने देवान र थापाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताए । दुई जना पक्राउ सो घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे (हाई एक्सफ्लोसिप) शङ्कास्पद वस्तु ग्यासले काट्ने क्रममा विस्फोट हुँदा भएको घटनाको अनुसन्धानका क्रममा कवाडी खरिद गर्ने भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी ४० वर्षीय राज भनिने रमेश जैसवाल र कवाडी बिक्री गर्ने निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरिएको हो । डिएसपी न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं: वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ । प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताउनुभयो । साथै केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिनुभयो । उहाँका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो । प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो । आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ । उहाँको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्त्वपूर्ण योगदान छ ।
सर्लाही: सर्लाहीमा गएराति भएको दुर्घटना रौतहट घर भएका दुई जना युवाको मृत्यु भएको छ । हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका–३, मा भारतीय नम्बर प्लेटको एचआर ५९ ए ०१३१ नम्बरको जीप र भारतीय नम्बर प्लेटकै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा रहेका रौतहट माधवनारायण नगरपालिका–६, घर भएका २३ वर्षीय शियानन्दन महतो र त्यहीँ ठाउँ घर भएका अर्का १९ वर्षीय अजय महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्र पन्जियारले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ठक्कर दिने जीपलाई नियन्त्रणमा लिएको छ । जीपका चालक फरार छन् । चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
पोखरा: रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेललाई मातृशोक परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२:४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) हुनुहुन्छ । स्वर्गीय आमा इन्द्रकला पौडेलको आज (मंगलबार) विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आउँदो चैत १७ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २२ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । सोमबार बसेको बैठकले राजाराम पौडेललाई संयोजक र कञ्चन थापालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । आरजु बिष्ट सल्यानीलाई प्रचारप्रसार र संघसस्था परिचालनको जिम्मेवारी दिइएको हो । त्यस्तै बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ । प्रमाणपत्र वितरण तथा रेकर्डमा सुरज थापा ,स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, र प्राविधिकमा अरबिन बिक्रम राणालाई जिम्मेवारी दिइएको हो । रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ ।
काठमाडौं: सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बालकुमारी घटनाका सम्बन्धमा जुन प्रतिवेदन प्राप्त भएको छ, समितिले यसको अध्ययन गर्ने छ र कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्नेछ ।’ बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । साथै सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्त थप गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
बारा: निजगढ नगरपालिका –७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोहित वर्कसप लेथका सञ्चालक सोही ठाउँ बस्ने वडा –५ का ४५ बर्षे रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेसप्रसाद काफ्लेले बताए । फलाम काट्नेक्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएको मगरको वीरगञ्जस्थित नेपाल मेडिसिटी व्योधा अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । सोही अस्पतालमा उपचार गराइरहेका अन्य घाइतेहरु वीरगञ्ज महानगरपालिका –९ बस्ने ३४ वर्षीय फिरोज देवान, सोही ठाउँका २० वर्षीय रितु रजत, भारतको गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल, सोही ठाउँ रामगढवा बस्ने २० वर्षीय अरविन साहको उपचार भइरहेको उनले जानकारी दिए । यसैगरी निजगढ नगरपालिका –५ बस्ने ४५ वर्षीय सुर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । सोमबार दिउँसो १२ बजेतिर ग्याँस सिलिण्डरको सहयोगले फलाम काट्नेक्रममा सो सिलिण्डर विस्फोट हुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

