काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं:     प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह ठगुन्ना लगायतका छन् । हेर्नुहोस् गैरहाजिर भएकाहरुको नामावली:  

बारा:    बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा  दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।  प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१(०२६ च १३३४ नंको बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३३५२ नं को ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।  घाइतेहरूको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनको भनाइ रहेको छ । मृतक तथा घाइतेको पहिचान खुल्न सकेको छैन ।

हुम्ला:    हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध बनेको छ । बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेका कारण हवाई सेवा सुचारु हुन नसकेको हो ।  सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निशान झाले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको बताए । मङ्गलबार लगातार हिमपात भइरहेको र बुधबार आकाश खुल्ने, बन्द हुने र बेलाबेला हिमपात भइरहने भएको कारण हवाई सेवा सुचारु हुन नसक्ने उनले बताए ।  हवाई सेवा सुचारु गर्न बेलाबेला आकाश खुल्ने गरेको भएपनि अन्य कुनैपनि मापदण्ड पूरा नभएको कारण उडान हुन नसक्ने भएको छ । नेपालगञ्जबाट सीता, समिट र तारा एयरको जहाजबाट उडान भर्ने तालिका थियो । हवाई सेवा अवरुद्ध भएपछि दुवैतिरका हवाई यात्रु मर्कामा परेका छन् । विद्यालयहरु सञ्चालनमा आइसकेको कारण विशेषगरी हिउँदे बिदामा निस्किएका शिक्षकहरु नेपालगञ्जमा रोकिनुपरेको छ ।

 ढोरपाटन:   बागलुङ नगरपालिका-१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए । कालीगण्डकीले धार परिवर्तन गर्दा केही वर्षयता कटान तीव्र हुँदै आएको छ । अघिल्लो वर्ष पनि ६५ लाख लागतमा केही क्षेत्रमा तटबन्ध गरिएको थियो । लक्ष्मीनारायण मन्दिरसँगै मालढुङ्गाबाट खुदुर्के घाटसम्मको बस्ती संरक्षण गर्न थालिएको इञ्जिनियर पौडेलले बताए । गत पुस महिनादेखि निर्माण समिति गठन गरी तटबन्धको काम धमाधम भइरहेको छ । कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो । तटबन्ध निर्माणपछि मालढुङ्गाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने इञ्जिनियर पौडेलले बताए । इन्जिनियर पौडेलले भने, ‘बर्खामा कालीगण्डकी उर्लेर आउँदा बस्तीमा बस्ने जोखिम बढेको थियो, अघिल्लो वर्ष केही भागमा काम भयो भने अहिले पनि करिब ४५ मिटर लामो तटबन्ध निर्माण हुन्छ, जसका लागि निर्माण समिति गठन भएर काम सुरु भएको छ, हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असार मसान्तसम्म सम्पूर्ण काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।’ तटबन्ध निर्माण समितिका अध्यक्ष भुवन खड्काले पानीमुनि दुई मिटर पक्की पर्खाल उठाउने काम भइसकेको भन्दै अहिले त्यसमाथि ग्याविनसहितको ‘पर्खाल’ उठाइरहेको बताए । बागलुङ प्रवेशद्वार नजिकै ऐतिहासिक लक्ष्मीनारायणको मन्दिर बन्दै गएको र तटबन्ध बनेपछि यहाँका धेरै घर सुरक्षित हुने उनले दाबी गरे । ‘तटबन्धको कामलाई तीव्र बनाएका छौँ, पर्खाल उठाएर ढलान गर्ने काम भइरहेको छ, सम्झौताऋनुसार आठ मिटर उचाइ, ४५ मिटर लम्बाइ हुनेछ, सोअनुसार काम गरिरहेका छौं’, अध्यक्ष खड्काले भने ।    

काठमाडौं:     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् । अर्धठोस बनाएर ल्याइएको आठ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थलबाट पक्राउ गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार राति फ्लाई दुबई उडानद्वारा दुबईबाट काठमाडौं आएका गफुरलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा सुन फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइएको  नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चितवन:     चितवनको खैरहनी नगरपालिकामा(२ चैनपुरमा एक जना युवको हत्या भएको छ । आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उहाँले भन्नुभयो, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’’ पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गर्नुभयो । आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उहाँले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताउनुभयो । “लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ”, उहाँले भन्नुभयो । सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री प्रचण्डले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगत्बाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

बाजुरा:    वर्षासँगै बाजुराको माथिल्लो भेगमा  हिमपात भएको छ ।  छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ । बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् ।  चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा  वर्षा र हिमपात हुँदा  किसान खुसी भएका हुन् । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताउनुभयो । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए । हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ ।